इश्वर बास्तोला । तनहुँ, माघ ८
व्यास नगरपालिका–१०, खहरेस्थित मादी नदीको किनारमा अवस्थित छाङ्ग बाराही मन्दिर पछिल्लो समय धार्मिक आस्था र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । प्रसिद्ध छाब्दी बाराही मन्दिरको ‘बहिनी’ का रूपमा परिचित यो मन्दिरमा भाकल गरे अनुसार मनोकांक्षा पूरा हुने जनविश्वासका कारण भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।



ऐतिहासिक पृष्ठभूमि र जनविश्वासः
मन्दिरको उत्पत्तिबारे रोचक लोककथा जोडिएको छ । स्थानीय बुढापाकाका अनुसार, कुनै समय एक व्यक्तिले सिमलको रुख काटेर डुँड बनाउन खोज्दा अचानक उनको हातमा कडा दुखाइ सुरु भएको थियो । पछि दुम्सिचौरका ज्योतिषीकहाँ आखर हेराउँदा उक्त रुखमा देवीको वास रहेको र त्यहाँ पानीका धारा र माछाहरू खेलिरहेको रहस्य खुलेको थियो । वैशाख १ गतेका दिन गाउँलेहरू मिलेर पूजा गरेपछि ती व्यक्ति निको भएको विश्वासका आधारमा यो मन्दिरको धार्मिक महिमा स्थापित भएको पुजारी धनराज दरै बताउँछन् ।

राजनीतिक र सामाजिक सम्बन्धः
मन्दिरको विकासक्रम राजनीतिक उतारचढावसँग पनि जोडिएको छ । तत्कालीन समयमा पुरुषोत्तम काफ्ले र नेत्र बहादुर दरैले चुनाव जित्ने भाकल गरी मन्दिरको कच्ची संरचना निर्माण सुरु गरेका थिए । मन्दिरको शक्तिको चर्चा गर्दै पुजारी दरैले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले समेत यसै मन्दिरमा टीका र आशीर्वाद ग्रहण गरी चुनाव जितेको र उहाँको मनोकांक्षा पूर्ण भएको उल्लेख गर्नुभयो ।
पर्यटकीय आकर्षण र सुविधाः
मादी नदीको मनोरम किनारमा अवस्थित यस मन्दिर परिसरमा अहिले बृहत पिकनिक स्पट (बनभोज स्थल) निर्माण गरिएको छ । १५ सय रुपैयाँ शुल्क तिरेपछि पिकनिक सुविधा प्रयोग गर्न सकिन्छ । स्थानीय आमा समूहमार्फत भाँडाकुँडा र अन्य व्यवस्थापनको सहयोग लिन सकिने व्यवस्थाले आन्तरिक पर्यटकहरूलाई थप सहज बनाएको छ । एकादशी र औंसी बाहेक सबै दिन मन्दिर खुला रहने र विशेषगरी दशैंमा यहाँ चार दिनसम्म भव्य मेला लाग्ने गर्दछ ।
सुरक्षा र व्यवस्थापनमा चुनौतीः
मन्दिरको लोकप्रियता बढ्दै गए पनि सुरक्षा र व्यवस्थापनमा भने केही चुनौतीहरू देखिएका छन् । मन्दिरको दानपेटिकामा संकलन भएको रकम चोरी हुने गरेकाले पुजारीहरू चिन्तित छन् । मन्दिरका पुजारी दरै र ईश्वर बास्तोलाका अनुसार चोरीको उजुरी प्रहरीमा गर्दा पनि चोर पत्ता नलागेपछि अहिले मन्दिरको रेखदेख स्वयं पुजारीहरूले नै गर्दै आएका छन् । मन्दिरको स्तरउन्नति र सुरक्षाका लागि चौकिदारको तत्काल आवश्यकता रहेको पुजारी दरैको भनाइ छ ।
हाल मन्दिर परिसरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्ने कार्य जारी रहेको छ । प्राकृतिक सुन्दरता र धार्मिक शक्तिको संगम रहेको यो क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्न सके तनहुँको धार्मिक पर्यटनमा यसले ठूलो टेवा पु¥याउने देखिन्छ ।












