तनहुँ । माघ ९
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मंगलबार देशैभर उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । तनहुँको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.स्वर्णिम वाग्ले र नेपाली कम्युनिष्ट पार्टीबाट विद्यानाथ ढकाल चुनावी मैदानमा छन् ।



यसैगरि उक्त क्षेत्रमा राप्रपाका रामदत्त जोशी, उज्यालो नेपाल पार्टीका मन्जिल राना, मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ती पार्टीका यामबहादुर आले, नेशनल रिपब्लिक नेपालका सुमन थापा मगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का ओमविक्रम पन्त, श्रम संस्कृती पार्टीका काशिराम गुरुङ र नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल सहित स्वतन्त्र उम्मेदवार दिपकराज जोशी, सन्देश रानाभाट लौडारी र लेखनाथ खनालले उम्मेदवारी दिएका छन् ।
यसैगरि क्षेत्र नम्बर २ नेपाली काँग्रेसका शंकर भण्डारी, नेकपा एमालेका केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका यमबहादुर ठकुरी, उज्यालो नेपाल पार्टीका मनराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का गणेशबहादुर गोतामे, नेपाल जनमुक्ती पार्टीका पुर्णबहादुर राना, राष्ट्रिय जनमुक्ती पार्टीका लालबहादुर सार्की (गोतामे), नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनका सुष्मा आले र नेशनल रिपब्लिक नेपालका नमबहादुर रानाले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता सम्पन्न भएपछि तनहुँका दुबै निर्वाचनमा क्षेत्रमा कसले चुनाव जित्ला भन्ने आंकलन सुरु भएको छ । २०७९ को निर्वाचनमा तनहुँका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनको बलमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका थिए । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपती भएपछि उक्त निर्वाचन क्षेत्रमा २०८० मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बिजयी भएको थियो ।
२०७९ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा गठबन्धनको उम्मेदवारको रुपमा नेपाली काँग्रेसका रामचन्द्र पौडेल २५ हजार ३६१ मत पाई बिजयी भएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए भने तेश्रो स्थानमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका बिनोद घर्तीले २ हजार ४८४ मत पाएका थिए । अन्य उम्मेदवारले एक हजार मत कटाउन सकेका थिएनन् । उक्त निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीका उम्मेदवारहरु थिएनन् । उनीहरुले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गरेका थिए ।

तर तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएपछि २०८० मा भएको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले निर्वाचित भएका थिए । उक्त निर्वाचनमा वाग्लेले ३४ हजार ९१९ मत पाएका थिए । नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका थिए । उक्त निर्वाचनमा रास्वपाले उल्लेख्य मत बढाएको थियो भने एमालेको मत उल्लेख्य संख्यामा घटेको थियो ।
यसैगरि २०७९ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ मा माओवादी केन्द्र र नेकपा एस सहितको गठबन्धनबाट नेपाली काँग्रेसका शंकर भण्डारी बिजयी भएका थिए । भण्डारीले ३० हजार ६०४ मत पाएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका किरण गुरुङले २५ हजार १३०, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ र राप्रपाका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत पाएका थिए । सो क्षेत्रमा पनि नेकपा माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार थिएनन् भने अन्य उम्मेदवारले एक हजार मत कटाउन सकेनन् ।
समानुपातिक तर्फ भने तनहुँ जिल्लाभरबाट नेपाली काँग्रेसले ४२ हजार४२१, नेकपा एमाले ३९ हजार ४७८, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ९०२, नेकपा माओवादी केन्द्रले १२ हजार ५७३, राप्रपाले ५ हजार ३११ र नेकपा एसले १ हजार ३४९ मत पाएका थिए । अहिले नेकपा माओवादी केन्द्र र नेकपा एस बिच पार्टी एकता भएको छ ।
विगतको निर्वाचनको परिणाम जे भएपनि अव हुने निर्वाचनमा भने आफ्नो पार्टीले जित्ने दलहरुले दावी गरेका छन् । तनहुँका दुबै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जित्ने दावी गरेका छन् ।
यसपटक तत्कालिन माओवादी हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नै उम्मेदवार उठाएको कारण नेकपा एमालेलाई अलि सहज भने भएको छ । सबै पार्टीको आ आफ्नै उम्मेदवार हुँदा आफ्नो पार्टीको जित हुने एमालेका नेताहरुले दावी गरेका छन् । (लोकवाणी दैनिकबाट)












