तनहुँ । माघ ११
नेकपा एमाले व्यास नगर कमिटिले आसन्न प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेलाई बिजयी गराउन ५५१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।




आइतबार बसेको नेकपा एमाले व्यास नगर कमिटिको बैठकले पार्टीको उम्मेदवार न्यौपानेलाई बिजयी गराउन नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेको संयोजकत्वमा ५५१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरेको हो । सो अवसरमा व्यास नगर पालिका स्तरीय निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरिएको छ । बैठकले नगरका १४ वटै वडामा निर्वाचन परिचालन कार्यालय स्थापना गर्ने र धेरै भन्दा धेरै मतदाता समक्ष पुग्ने निर्णय गरेको नगर कमिटिका अध्यक्ष पाण्डेले बताए ।

कमिटिका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको उक्त बैठकमा एमाले केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेले चुनावमा बिजयी हाँसिल गर्न पार्टीका सम्पुर्ण कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताइन् । उनले पछिल्लो समयको बैदेशिक हस्तक्षेप र संकटमा परेको राष्ट्रिय स्वाधिनताको विषयलाई मतदाता समक्ष बुझाउनुपर्ने बताइन् ।
उक्त बैठकमा पुर्व केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, प्रदेश कमिटि सदस्य मनुमाया श्रेष्ठ, नगर कमिटिका पुर्व अध्यक्ष बिरेन्द्रबहादुर अधिकारी लगायतले एमालेको जित सुनिश्चित गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

एमालेले सबै स्थानीय तहमा निर्वाचन परिचालन कमिटि गठन गर्ने र निर्वाचन परिचालन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । शनिबार पार्टी कार्यालय दमौलीमा भएको क्षेत्रीय समन्वय कमिटिको बैठकले जिल्ला सचिव तथा क्षेत्रीय संयोजक प्रदिपराज अधिकारीको संयोजकत्वमा १ हजार १ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरिएको थियो । भानु नगर कमिटिमा विहिबार नगर कमिटिका अध्यक्ष शंकर रानाभाटको संयोजकत्वमा १ हजार १ सदस्यिय विनर्वाचन परिचालन कमिटि गठन गरिसकिएको छ ।
अन्य पालिकामा पनि अव एक साता भित्रैमा निर्वाचन परिचालन कमिटि गठन भईसक्ने एमाले जिल्ला कमिटिका सचिव तथा क्षेत्र नम्बर १ का संयोजक प्रदिपराज अधिकारीले बताए ।












