देवघाटधाम जेसिजले देवघाटका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने

Devghat Online

शेयर गरौ

देवघाट । माघ ११

देवघाटधाम जेसीजले देवघाट गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने भएको छ । यसैगरि देवघाट गाउँपालिका भित्र स्थायी बसोबास भई विद्यालय शिक्षा (कक्षा १–९) अध्ययनको लागि पालिका भन्दा बाहिर गएका विद्यार्थीहरू शैक्षिक सत्र २०८३ मा पालिका भित्रका सामुदायिक विद्यालयमा आई भर्ना भई अध्ययन गरेमा विद्यालयमा लाग्ने सम्पूर्ण नियमित खर्चमा सहजिकरण गर्ने भएको छ ।

देवघाट–५ स्थित कालिका माविको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देवघाटधाम जेसीजको पूर्व अध्यक्ष तथा देवघाटधाम जेसीज प्रतिष्ठानका अध्यक्ष रघु मल्लले देवघाट गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा शैक्षिक स्तर राम्रो हुँदै गईरहेको र थप प्रोत्साहनको लागि छात्रवृत्ती योजना सार्वजनिक गरेको बताए ।

आफ्नै स्थानिय तहमा जिल्ला कै उत्कृष्ट बिद्यालय रहेकोले शैक्षिक गुणस्तर खोज्दै अन्त धाईरहनु नपर्ने, विद्यालय शिक्षाको लागि अब देवघाटका बालबालिकाहरू बिहान सबेरै जाने र साँझ अबेर आउने साथै अभिभावहरूलाई पर्ने आर्थिक भार न्यूनिकरण गर्न र जेसीजले सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षामा लगानी गर्ने योजना बनाएको संस्थाको निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकालले बताए । देवघाटधाम जेसिजले हालैमात्र देवघाट गाउँपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई ट्रया्क सुट (पोषाक) वितरण गरेको स्मरण गर्दै जेहेन्दार विद्यार्थीहरूलाई निरन्तर सहयोग गरिरहने ढकालले बताए ।

देवघाटधाम जेसीजले स्थानिय स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको, सामुदायिक बिद्यालयहरूमा व्यक्तित्व बिकास सम्बन्धी कार्यक्रमहरू निरन्तर गर्दै आईरहेकोमा आगामी दिनहरूमा शैक्षिक गुणस्तर वृद्धि गर्दै देवघाट गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या बढाउदै लैजान सहयोग गर्ने हेतुले छात्रवृत्ती स्वरूप अभिभावकत्व देवघाटधाम जेसीजले ग्रहण गर्ने योजना रहेको देवघाटधाम जेसिजका अध्यक्ष अर्जुन सुवेदीले बताए ।

साथै छात्रवृत्ती स्वरूप प्रदान गरिने खर्च व्यवस्थापनको लागि सम्बन्धित विद्यालयहरूसँग सहकार्य र सहजीकरण गर्दै आवश्यक रकम देवघाटधाम जेसीज र देवघाटधाम जेसीज प्रतिष्ठानबाट उपलब्ध गराउने योजना रहेको देवघाटधाम जेसीजकी कोषाध्यक्ष रक्षा कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू