मतदाता माझ उज्यालो सन्देश छर्दै उज्यालो नेपालका मन्जिल

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २०

तनहुँ क्षेत्र नम्बर १ मा चुनावी चहलपहल ह्वात्तै बढेको छ । राष्ट्रिय स्तरका नेताहरु उम्मेदवार बनेको कारण पनि यहाँको चुनावलाई सबैले चासोका साथ हेरेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डा.स्वर्णिम वाग्ले सहित नेकपा एमालेबाट पुर्व मन्त्री तथा केन्द्रीय सदस्य भगवती न्यौपाने र नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई मात्रै उम्मेदवार बनेका छैनन्, उनीको मनमा ढ्याङग्रो बज्ने गरि हिन्दु धर्मका अभियन्ता समेत रहेका राप्रपाका उम्मेदवार अभिषेक जोशी, लामो समय शिक्षण पेशामा बिताएका शालीन र भद्र नेता नेपाली कम्युनिष्ट पार्टीका विद्या ढकालले वाग्ले, न्यौपाने र भट्टराईलाई चुनौती दिएका छन् ।

ठुला दलका उम्मेदवारलाई राप्रपा र नेकपाले भन्दा बढि चुनौती उज्यालो नेपालका मन्जिल रानाले दिएका छन् । अहिले गाउँ गाउँमा हरियो टोपी लगाएका केही युवा युवती हातमा घोषणापत्र जस्तै पर्चा लिएर मतदातालाई भेट्दै हिडेको भेटिन्छ । उनीहरु ठुला पार्टीका झैं ताम झामले हिड्दैनन्, तर धेरै भन्दा धेरै मतदातालाई भेटिरहेका छन् । ति हरियो टोपी लगाएका युवा युवती अरु कोही नभएर उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाका समर्थक हुन् । जो वर्तमान जेनजी आन्दोलनको उपलब्धी जेन जी समुहकै उम्मेदवार मन्जिलले मात्र सम्बोधन गर्न सक्ने भन्दै बत्ति ((बिजुलीको चिम) चुनाव चिन्हमा मत मागरिहेका भेटिन्छन् ।

उम्मदेवार मन्जिललाई भने अहिले काठमाडौंमा ‘ठुला मिडिया’ मा अन्तर्वार्ता दिन भ्याई नभ्याई छ । उनले काठमाडौंमा आधा दर्जन भन्दा बढि मिडियाको कार्यालयमा पुगेर अन्तवार्ता दिईसकेका छन् । ठुला मिडिया मार्फत आफु पुग्न नसक्ने स्थानका मतदाता समक्ष पुग्ने मन्जिलको योजना स्वभाविक नै हो । मन्जिल काठमाडौंमा व्यस्त भएपनि उनका समर्थक युवा युवती भने हरियो टोपी लगाएर हरियै रङको पर्चा हातमा लिएर मतदातालाई भेटेर आफ्नो योजना र प्रतिबद्धताहरु सुनाईरहेका छन् । चाँडै नै निर्वाचन क्षेत्रमा आएर आफु पनि मतदाता समक्ष पुग्ने उनको योजना रहेको छ ।

उनीहरु उज्यालो नेपाल पार्टीलाई भन्दा पार्टीका सभापती कुलमान घिसिङको नाम नै बढि प्राथमिकताका साथ प्रचार गरिरहेका छन् । लोडसेडिङबाट ग्रस्त नेपालमा कुलमानले लोडसेडिङ मुक्त गरि उज्यालो नेपाल बनाएको भन्दै मन्जिलले आफुले पनि तनहुँको अध्याँरो हटाएर उज्यालो तनहुँ बनाउने प्रतिबद्धता जनाएका छन् । आम जनतामा कुलमान घिसिङको सकारात्मक छवि रहेको हुँदा आफुहरुलाई चुनावी अभियानमा मतदाताले राम्रो रेस्पोन्स दिने गरेको उज्यालो नेपालका कार्यकर्ताहरुले बताउँछन् ।

चुनावी अभियानमा उज्यालो नेपाल पार्टीको विचार र कुलमान घिसिङको ‘बत्ती’ प्रतीकलाई प्रेरणाको रूपमा लिएर नयाँ ऊर्जा, इमानदारी र समाधानमुखी नेतृत्वको सन्देश फैलाउन चाहेको मन्जिलले बताए । ‘मैले अवसर नपाएर थलिएका सपना, विदेशिन बाध्य युवा र आफ्नै पसिनाको मूल्य नपाएका किसानहरूको पीडा नजिकबाट देखेको छु । यही अनुभूतिको आधारमा मैले झण्डै १५ वर्षदेखि माया स्कूल सञ्चालन गर्दै आएको छु–जहाँ शिक्षा हरेक नेपालीको अधिकार हो भन्ने विश्वासलाई व्यवहारमा उतार्दै आएको छु । म गुणस्तरीय शिक्षा सबैका लागि सुलभ बनाउने पक्षमा छु’ उनले भने ‘हाम्रो गाउँ र संस्कृतिलाई संसारसामु नयाँ रूपमा चिनाउने समय आएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा पुनःब्रान्ड गर्दै, आइतबारलाई पनि सार्वजनिक बिदा बनाएर नेपालीहरूलाई आफ्नै देश घुम्न प्रेरित गर्न चाहन्छु ।’

काठमाडौं, चितवन, गोरखा र पोखराको बीचमा रहेको तनहुँ अपार सम्भावनाको केन्द्र भएको भन्दै उनले भनेका छन् ‘विकास भनेको केवल संरचना होइन, दायित्व पनि हो । स्थानीय समुदायको सहकार्य बिना कुनै पनि विकास सम्भव छैन । त्यसैले म विकासका कामहरू स्थानीय जनताको सहभागितासहित र वातावरणीय रूपमा दिगो तरिकाले अघि बढ्नुपर्छ भन्ने पक्षमा छु । जलवायु परिवर्तन र विश्व तापक्रम वृद्धिको खतरा वास्तविक छ, र यसका असर हामीले आफ्नै जीवनमा भोग्न थालेका छौँ ।’

‘म किसानले आफ्नै उत्पादन ब्रान्ड गर्न र बजारमा सिधै बेच्न पाउनुपर्छ भन्ने विश्वास गर्छु । मैले आफ्नै कागती खेती गर्दा देखेको छु–कति कठिन छ राम्रो मूल्य पाउनु । बिचौलियालाई सस्तोमा बेच्दा तिनले फेरि महँगोमा ग्राहकलाई बेच्छन’ उनले भने ‘त्यसैले मैले आफ्नो कागतीबाट अचार बनाएर सिधै काठमाडौंमा बेच्ने प्रयास गरेको छु, जसले किसान र उपभोक्ता दुवैलाई न्याय दिन सक्छ । यस अनुभवले मलाई कृषकको जीवन र चुनौती बुझ्न मद्दत गरेको छ ।’ मन्जिलले भनेका छन्–‘म आशा गर्छु अब यो देशले युवाहरू र नयाँ अनुहारलाई मौका दिनेछ, ताकि वर्षौंदेखि फोहोर बनाइएको राजनीतिलाई इमानदारी र सेवाभावले सफा गर्न सकियोस् ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू