तनहुँ । माघ २२
नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले देश विकासका लागि केवल ठूला शैक्षिक प्रमाणपत्र र योग्यता मात्र पर्याप्त नहुने बताएका छन् । विहिबार वडा नम्बर ४ को विभिन्न स्थानमा मतदाताहरुलाई भेट्दै भट्टराईले शैक्षिक प्रमाण पत्रले मात्र जिल्लाको विकास नहुने बताए ।



भट्टराईका अनुसार ठूला डिग्रीले नभई क्षमताको आधारमा धेरै देश विकसित भएको बताए । वास्तवमा देश बदल्नका लागि भुइँमान्छेको दुःख बुझ्ने र त्यसलाई समाधान गर्न सक्ने ठोस ‘कार्यक्षमता’ अनिवार्य हुने उनको भनाई थियो । विकासका काममा उनले पु¥याउनुभएको विगतको योगदान र जनतासँगको निरन्तर सामीप्यताले नै भट्टराईलाई यस पटकको निर्वाचनमा जितको नजिक पु¥याएको स्थानीयले विश्लेषण गरेका छन् ।

सो क्रममा भट्टराईले प्रतिनिधि सभाको निर्वाचनमा आफुलाई मतदान गर्न स्थानीयसँग अनुरोध गरेका थिए । घरदैलोको क्रममा मतदाता समक्ष भट्टराईले भने ‘मैले २०५४ सालदेखि नै भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दै आइरहेको छु । त्यसलाई अव पनि म निरन्तरता दिईरहनेछु ।’

पछिल्लो समय तनहुँको आवाज नीति निर्माण तहमा अलिक ओझेलमा परेको महसुस जिल्लाबासीले गर्नु भएको भन्दै भट्टराईले अबको हाम्रो जिम्मेवारी तनहुँ भ्रष्टाचारमुक्त जिल्ला बनोस् र यहाँको तपाईंको आवाज नीति निर्माण तहमा पनि स्पष्टरुपमा सुनियोस् भन्ने नै रहेको बताए ।












