उम्मेदवार पहिचानका आधारः सदावहार सान्दर्भिक सवाल

Devghat Online

शेयर गरौ


          माधव सिग्देल

१) पृष्ठभूमि तथा योगदान–आफ्नो निजी स्वार्थलाई सदाः वृहत् सामूहिक उन्नयनको अधीनस्थ राखी राष्ट्रहितको सम्बर्धन, लोकतन्त्रको स्थापना र सुदृढीकरण, समाज सुधार तथा अग्रगामी रुपान्तरण, विकास, सुशासन र सुव्यवस्था, सामाजिक न्याय र मानवअधिकार प्रत्याभूतिका लागि आम जनताले प्रत्यक्ष देख्ने गरी इमानपुर्वक अनवरत संघर्षरत उदाहरणीय सामाजिक कार्यकर्ता हो या होइन । राजनीति विशुद्ध सेवाको क्षेत्र हो र खास राजनीतिज्ञ एक असामान्य सामाजिक सन्न्यासी हो । त्यसैले त भनिन्छ, ‘A politician is an uncommon man with a common sense‘ कहिल्यै नभुलौँ ल–राजनीति निष्ठा र समर्पणको कष्टसाध्य साधना हो नकि फुर्सदको नाफाखोर नाङ्ले व्यापार, मौकामा चौका हान्ने जुवाडेको च्याँखे दाऊ ।’

२) आचरण तथा चरित्रः उम्मेदवार सादगी, सदाचारी, सत्कर्मी र सत्मार्गी व्यक्ति हो, होइन विनाकुनै आग्रह–पुर्वाग्रह वस्तुवादी बनी हरसंभव यथार्थ जानकारी लिनुपर्छ । ऊर्जाशील जीवन नितान्त वैयक्तिक र पारिवारिक सुखसयल तथा मोजमस्तीका निम्ति वैध अवैध धन्दामा व्यस्त राखी, पुष्ट कमाइवरि थुपारिएको कालोधनलाई सम्पत्ति–शुद्धीकरण गर्ने मनसुवासमेतले छद्मभेषी समाजसेवीको नवावतार धारण गरी सोझासिदा जनतालाई बेवकुफ बनाउने धृष्टतापुर्ण घृणित हर्कत त कोही कसैले गरिरहेको छैन, सजगता अपरिहार्य हुन्छ । उम्मेदवार कम्तीमा पनि भ्रष्टाचार, दुराचार, अनाचारको दाग र वापतबाट अलग छ र सदा रहन्छ भन्ने विश्वासयोग्य आधार हुनैपर्छ । लागूऔषध, मद्यपान, धुमपान या चुरोटबिँडी, गुट्खा खैनी केहीको अम्मली नभए त उत्तमनै भो । उपलब्ध प्रतिस्पर्धी उम्मेदवारहरुका सवलता, दुर्वलताउपर सरसर्ती नजर पु¥याई मौलिक तुलनात्मक स्वविश्लेषण तथा स्वमूल्याङ्कन गरी अन्तरआत्मालाई साक्षी राखी मनले खाएको दभकत प्रतिस्पर्धीका पक्षमा विनाकुनै मोलमोलाहिजा मतदान गर्ने बुद्दिमतापुर्ण निष्कर्षमा पुग्नु सर्वथा वाञ्छनीय हुन्छ ।

३) लगाव तथा सम्बन्धः स्थानीय बासिन्दाका घामछायाँरुपी सुखदुख, आँशु–हाँसो तथा जीवन भोगाइका सहज–असहज दैनिकी, सामाजिक–आर्थिक वरव्यवहारका अन्तर्य एवं भूगोलको हावापानी, ढुङ्गामाटो, उकाली–ओराली, भञ्ज्याङ–चौतारी, खोलानाला, धारा–कुवा, घाट–गौँडा, पाटी–पौवा, जीवजन्तु, वनस्पति आदि आदिसँग उम्मेदवारको स्वाभाविक attachment  छ कि छैन ? तनहुँ २ को सन्दर्भमा स्वभावत काली, सेती, मादीको पानीढलोसँग उम्मेदवारको सजीव साइनो र सम्बन्ध रहेको छ, छैन ? यी नदी प्रवाहको कर्णप्रीय सुसेलीसँग उम्मेदवार–विशेषको सुस्केराले जीवन्त लयात्मक तादम्यता राख्छ, की राख्दैन ? स्थानीय माटोको सुगन्ध, हावाको मधुर वहेली र पानीको विशिष्ट स्वादमा अभ्यस्त नहुँदा पशुलाई त “पानी लाग्छ” भन्छन् हाम्रोतिर। ६५ वरपरका उम्मेदवाररुपी अपरिचित महाशयहरुको हकमा यो प्राकृतिक नियम लागु होला, नहोला गहिरो चिन्तन आवश्यक छ । भीरमा जाने गोरुलाई राम ! राम !! भन्नेनै त होला काँध थाप्न कहाँ सकिन्छ र !

४) मूल्य–मान्यता तथा दृष्टिकोणः स्थानीय विशिष्ट सामाजिक–सांस्कृतिक रितिथिति, ऐतिहासिक परंपरा, असल अभ्यास, सामुदायिक तथा सामाजिक सद्भाव र एकता, सह–अस्तित्वको भावना, पारस्परिक सहयोग जस्ता हाम्रो समाजका मौलिक विशेषता तथा अमूल्य धरोहरहरुको संरक्षण र सम्वद्र्धनप्रतिको अग्रसरता तथा थप परिष्करणसहित अनुशरण, अवलम्बन र श्वेच्छिक परिपालनाप्रतिको संवेदनशीलता उम्मेदवार–विशेषमा देखिन्छ, देखिँदैन ? कतै निहित स्वार्थपूर्तिका लागि भड्काउपुर्ण अभिव्यक्ति र जातीय, धार्मिक, पुस्तागत अप्राकृतिक विभाजन र विद्वेषको बिषाक्त खेतीमा उम्मेदवार स्वयं उद्दत भैराखेको त छैन ? समाज बिखण्डनको मतियार त होइन नि ? अर्थात् हाम्रा सवल मौलिक सनातन मूल्य–मान्यताप्रति उम्मेदवारको निष्ठा र प्रष्ट दृष्टिकोण छ, छैन मिहीनरुपले खुट्याउन सक्नुपर्छ । पुरुष उम्मेदवारको हकमा कम्तीमा पनि उम्मेदवारकी पत्नी कहाँ छिन्, के गर्छिन् सही जानकारी राख्नुपर्छ ।

५) योग्यता तथा क्षमताः उम्मेदवारले सङ्घीय संसद प्रतिनिधिसभाको सदस्यका रुपमा प्रभावकारी विधायिकी भूमिका निर्वाह गर्ने ल्याकत राख्छ, राख्दैन । राजनीति र कानुनका विषयमा दखलता छ, छैन । अनुभवसमेत छ भने त उत्तमनै भो । विचारमा स्पष्टता र आदर्शमा अविचलितता देखिन्छ, देखिँदैन । उच्च मनोवल र अभिव्यक्ति तथा विचार संप्रेशणमा प्रखरता छ, छैन । पदलोलुपताले ग्रसित मनुवा त होइन नि उम्मेदवार । “वल्ला घरको नरे-पल्ला घर सरे” घटिया प्रवृत्तिको खलनायक बनी आम मतदाता, निर्वाचन क्षेत्र र जिल्लावासीको नाककाट्ने सम्भावना शून्य छ भन्ने कुरामा सतप्रतिशत विश्वास गर्न त सकिन्छ ? यो गम्भीर सवाल हो ।

एउटा सुयोग्य उम्मेदवारमा हुनुपर्ने आम अपेक्षित खास सरोकारका उल्लिखित आधारभूत सान्दर्भिक गुणहरुको कसीमा जाँच्दा तनहुँ क्षेत्र नम्बर २ को हकमा नेकपा (एमाले) का सूर्य चिन्ह–वाहक उम्मेदवार केदार सिग्देल छनौटको सर्वोत्तम विकल्प हो भन्ने यथार्थ स्वतः स्पष्ट छ । तसर्थ, सूर्यचिन्हमा मतदान गरी बौद्धिक र विवेकशील मतदाताको गौरवशाली परिचय स्थापित गर्नमा तनहुँ–२ का श्रद्धेय न्यायप्रेमी जनतालाई शानदार सफलता मिलोस्, अग्रिम शुभकामना !

सबलाई सहज छ जवाफ दिन–केदार सिग्देल लाईनै भोट किन ?

क- सिङ्गो जीवन निःस्वार्थ रुपमा समाजसेवामा समर्पण,
ख-निरङ्कुशता विरोधी आन्दोलनको जिउँदो शहीद,
ग- सादा जीवन उच्च विचार आदर्शका सच्चा अनुयायी,
घ-स्थानीय विकासका भरोसायुक्त दूरदर्शी मार्गदर्शक,
ङ- श्वच्छ आर्थिक छवि–उच्च नैतिक चरित्रका पर्याय,
च- विधायिकी जिम्मेवारी र योग्यताबीचको तादम्यता,
छ- जनताको माग र सम्बोधनको संभाव्यताका ज्ञाता,
ज- कर्तव्यनिष्ठता, लगनशीलता र लक्ष्यप्रतिको दृढता,
झ- सामाजिक–सामुदायिक मनोविज्ञानका पारखी,
ञ- स्थानीय जनजीवनका मर्मज्ञ, जनवोलीका प्रखरवक्ता ।

“उम्मेदवारको सही पहिचान गरेर–भोट हालौँ जिम्मेवार नागरिक बनेर ।”

प्रस्तुत लेख लेखकको नीजि बिचार हो

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक