तनहुँ । फागुन ११
तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले आफु नेपाली काँग्रेस प्रवेश गर्न लागेको भन्ने हल्लाको खण्डन गरेका छन् । जोशीले सोमबार विज्ञप्ति प्रकाशित गरि उक्त हल्लाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाली काँग्रेंसका कुनै पनि पक्षसँग यस विषयमा कुनै पनि छलफल नभएको जनाएका छन् ।



‘तनहुँ क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रमका क्रममा नेपाली काँग्रेस तनहुँका नेता तथा उम्मेदवार स्वयंले दीपकराज जोशीलाई नेपाली कांग्रेसमा आउन प्रस्ताव गरिएको थियो र भानु नगरपालिकाको मेयर, व्यास नगरपालिकाको मेयर तथा प्रदेश सांसदको जिम्मेवारी दिने प्रस्ताव गरिएको थियो भन्ने कुरा भ्रमपूर्ण र आधारहीन हो’ जोशीले भनेका छन् ‘यसरी फैलाइएको हल्लाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा म सम्पूर्ण मतदाता सन्चार माध्यम तथा सरोकारवाला पक्षहरूलाई स्पष्ट रुपमा जानकारी गराउन चाहन्छु कि नेपाली काँग्रेसबाट यस प्रकारको प्रस्ताव वा छलफल मसँग भएको छैन ।’
बिगतमा नेपाली काँग्रेस पार्टीले पहिले पार्टीका उम्मेदवारलाई बिजय गराए मात्र केन्द्रीय कार्यसमितिको बैठकले आफुहरुको भूमिकाको बारेमा छलफल गर्ने भन्ने निर्णय गरेको भन्दै जोशीले भने ‘हामीले त्यतिबेलै स्पष्ट रूपमा भनेका थियौँ, त्यो निर्णय भ्रमपूर्ण मात्र होइन, जालसाजीपूर्ण पनि थियो । किनभने जनताको मतलाई सर्तसँग बाँधेर, व्यक्तिको राजनीतिक अस्तित्वलाई परिणामसँग जोडेर गरिने यस्तो प्रस्ताव लोकतान्त्रिक अभ्यास होइन, रणनीतिक दबाब मात्र हो । त्यसैले हामीले त्यसलाई अस्वीकार गरेका थियौँ ।’
त्यसपछिका दिनहरूमा यस विषयमा आफुसँग कसैको कुनै औपचारिक वा अनौपचारिक सम्पर्क नभएको जोशीले बताए । ‘न कुनै छलफल, न कुनै स्पष्टता, न कुनै प्रतिवद्धता, आज आएर फेरि उही विषयलाई उचालेर भ्रम सिर्जना गर्न खोज्नु जनतालाई अन्योलमा पार्ने प्रयास मात्र हो’ जोशीले विज्ञप्तिमा भनेका छन् ‘८० वर्षभन्दा लामो प्रजातान्त्रिक इतिहास बोकेको पार्टीले संगठनलाई कसरी बलियो बनाउने जनविश्वास कसरी जित्ने र पार्टीलाई समय अनुकूल कसरी रुपान्तरण गर्ने भन्ने विषयमा यहाँ मैले थप केही भन्नुपर्ने आवश्यकता छैन । राजनीति छलकपट झुटा आश्वासन र उधारो लेनदेनबाट निर्धारण हुने विषय होइन । मलाई लेनदेनको कुनै प्रस्ताव आएको पनि छैन । लेनदेनको प्रस्तावबाट कुनै पनि राजनैतिक समस्याले निकास पाउँदैन भन्ने मेरो अठोट छ । राजनीतिक विश्वास पारदर्शिता सिद्धान्त र जनताको सम्मानमा आधारित हुनुपर्छ ।’
निर्वाचन नजिकिँदै जाँदा यस्ता भ्रमपूर्ण कुराहरू फैलाउँदै जाने भन्दै जोशीले सम्पुर्ण मतदाता तथा शुभचिन्तकहरुलाई यसमा कत्ति पनि विचलित नभइकन आफ्नो चुनाव चिन्ह कैंचीमा मतदान गर्न अनुरोध गरेका छन् । ‘हाम्रो राजनीति पद वा अवसरका लागि होइन परिवर्तन र जिम्मेवार नेतृत्वको लागि हो । राजनीतिक सत्य पारदर्शिता र जनविश्वासमा आधारित हुनुपर्छ भ्रम अफवाह र गलत सूचनाले स्वस्थ राजनीतिक संस्कारको विकास गर्दैन र समाज रूपान्तरणको लागि पनि मार्ग प्रशस्त गर्दैन’ जोशीले भनेका छन् ‘त्यसैले तनहुँ १ का सम्पूर्ण मतदाताहरूलाई यस्ता भ्रामक प्रचारमा नपर्नुहुन तथा सत्यतथ्यको आधारमा सो–विवेक प्रयोग गरी निर्णय लिनु हुन हार्दिक अनुरोध गर्दछु ।’












