देवघाटमा बैशाख ६ गतेबाट पठनपाठन सुरु हुने

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १

देवघाट गाउँपालिकाले आगामी शैक्षिक सत्रको पठनपाठन बैशाख ६ गतेबाट सन्चालन गर्ने भएको छ । देवघाट गाउँपालिकाले सोमबार सुचना प्रकाशित गरि पठनपाठन सुरु गर्ने मिति तय गरेको हो ।

देवघाट गाउँपालिकाको चैत २८ गतेको कार्यपालिकाको निर्णयानुसार तथा गाउँपालिकाको शैक्षिक क्यालेण्डर बमोजिम गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुले बैशाख २ गते देखि भर्ना अभियान, विद्यालयको वार्षिक कार्य तालिका निर्माण, पाठ्यपुस्तक वितरण तथा बैशाख ६ गते देखि नियमित पठनपाठन सञ्चालन गर्नु गराउनुहुन गाउँपालिकाले अनुरोध गरेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाद्वारा प्रकाशित सुचनामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. ६७ मिति २०८२/१२/२६ को पत्रानुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान २०८३ बैशाख १५ गतेबाट शुरु गर्ने भन्ने भएपनि नेपालको संविधान बमोजिम आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भए बमोजिम गाउँ कार्यपालिकाले बैशाख ६ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको जनाईएको छ ।

यसअघि आबुँखैरेनीले बैशाख २ गतेबाट र बन्दीपुर गाउँपालिकाले बैशाख ९ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय सार्वजानिक गरेका छन् । तनहुँका अन्य स्थानीय तहले भने कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने विषयमा निर्णय गरेका छैनन् ।

यता संघीय सरकारले भने शैक्षिक सत्र २०८३ को पठनपठान कार्य बैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान बैशाख १५ गतेबाट र पठनपाठन बैशाख २१ गतेबाट मात्र सुरु गर्न निर्देशन दिएको हो ।

नेपाल सरकार मन्त्रीपरिषदको चैत २२ गतेको निर्णय अनुसार भन्दै केन्द्रले विद्यार्थी भर्ना अभियान र पठनपाठन सुरु हुने मिति तोकेको हो । केन्द्रले बैशाख २ गतेबाट शैक्षिक कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका निर्माण गर्ने, विद्यालय सुधार सम्बन्धि नीति, योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकासका कार्यहरु गर्ने तथा विद्यार्थीको सिकाई उपलब्धी सुधार सम्बन्धी कार्यहरु गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू