तनहुँ । बैशाख २
व्यास नगरपालिकामा बैशाख ७ गतेबाट नियमित रुपमा पठनपाठन सुरु हुने भएको छ । व्यास नगर शिक्षा समितिको बुधबार बसेको बैठकले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन कार्य बैशाख ७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । विद्यार्थी भर्ना अभियान भने आज बैशाख ३ गतेबाट सुरु हुनेछ ।



नगर शिक्षा समितिका अध्यक्ष एवं नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा बसेको नगर शिक्षा समितिको वैठकमा नगर शिक्षा समितिका सदस्यहरु, एन प्याब्सन एवं प्याब्सनका प्रतिनिधिहरु, आमन्त्रीत अन्य शिक्षक संगठनका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
बैठकले व्यास नगरपालिकाको शैक्षिक सत्र २०८३ को वार्षिक स्वीकृत शैक्षिक कार्यक्रम यस अघि नै तय भई विद्यालयहरुलाई सम्प्रेषण गरिसकिएको सन्दर्भमा सवै विद्यालयहरुमा भर्ना अभियान २०८३ वैशाख ३ गते देखि प्रारम्भ गर्ने निर्णय गरेको छ । त्यसैगरि विषेश भर्ना अभियान सहित संघीय सरकारले तोकेका कार्यक्रमहरु वैशाख १५ भित्र सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुले वितरण गर्नुपर्ने र गरिरहेका छात्रवृत्ति सम्बन्धी र शुल्क सम्बन्धमा अध्ययन गरि १५ दिन भित्र प्रतिवेदन पेश गर्न नगर शिक्षा अधिकारीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । साथै पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तकहरु मात्र लागू गर्ने र सबै विद्यालयहरुले अध्यापन गराउने पाठ्यपुस्तकको सूची प्रकाशन गर्ने, विद्यालयले स्टेशनरी सामाग्रीहरु छपाई नगर्ने साथै विद्यालयवाट विक्री नगर्न निर्देशन दिने निर्णय गरेको बताईएको छ ।
तनहुँका स्थानीय तह मध्ये आबुँखैरेनीमा बुधबारबाट पठनपाठन सुरु भईसकेको छ भने देवघाटले बैशाख ७ गतेबाट र बन्दीपुरले बैशाख ९ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरिसकेका छन् ।
यता संघीय सरकारले भने शैक्षिक सत्र २०८३ को पठनपठान कार्य बैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान बैशाख १५ गतेबाट र पठनपाठन बैशाख २१ गतेबाट मात्र सुरु गर्न निर्देशन दिएको हो ।
नेपाल सरकार मन्त्रीपरिषदको चैत २२ गतेको निर्णय अनुसार भन्दै केन्द्रले विद्यार्थी भर्ना अभियान र पठनपाठन सुरु हुने मिति तोकेको हो । केन्द्रले बैशाख २ गतेबाट शैक्षिक कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका निर्माण गर्ने, विद्यालय सुधार सम्बन्धि नीति, योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकासका कार्यहरु गर्ने तथा विद्यार्थीको सिकाई उपलब्धी सुधार सम्बन्धी कार्यहरु गर्न अनुरोध गरेको छ ।












