तनहुँ । बैशाख ३
संघीय सरकारले शैक्षिक सत्र २०८३ को लागि बैशाख २१ गतेबाट मात्र नियमित पठनपाठन कार्य सुरु गर्न निर्देशन दिएपनि तनहुँका स्थानीय तहमा भने त्यसअघि नै पठनपाठन सुरु भएको छ । आबुँखैरेनी गाउँपालिकाले बैशाख २ गतेबाट नै पठनपाठन सुरु गरिसकेको छ भने अन्य स्थानीय तहलेपनि बैशाख २१ गते अघि नै पठनपाठन सुरु गर्ने जनाएका छन् ।



यसैविच तनहुँको शुक्लागण्डकी नगरपालिकाले बैशाख ७ गतेबाट र भानु नगरपालिकाले बैशाख ९ गतेबाट पठनपाठन सुरु गर्ने भएका छन् । चैत १८ गते सम्पन्न शुक्लागण्डकी नगर शिक्षा समितिको बैठकबाट कम्तीमा २२० दिन विद्यालय सञ्चालन हुने गरी शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्ने निर्णय भए बमोजिम सबै विद्यालयहरूमा नियमित भर्ना अभियान २०८३ वैशाख ३ गतेदेखि प्रारम्भ गर्ने र सबै विद्यालयहरूले मिति २०८३ वैशाख ७ गतेदेखि पठनपाठन सुरु गर्ने शुक्लागण्डकी नगरपालिकाले निर्णय गरेको छ ।

विशेष भर्ना अभियान सहित संघीय सरकारले तोकेका विद्यालय तहका शैक्षिक योजना निर्माण सम्बन्धी कार्यहरू २०८३ वैशाख १५ गतेसम्म सम्पन्न गर्ने, संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८३ मा प्रदान गर्ने कक्षागत निःशुल्क छात्रवृत्तिको आरक्षण शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा कोटा निर्धारण गरी दरखास्त आव्हान गर्ने संस्थागत विद्यालयहरुले विद्यार्थीसँग लिन पाउने शुल्क दर अभिभावक तथा सर्वसाधरणले देखे गरी टाँस प्रसार गर्ने तथा विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तकहरू मात्र लागू गर्ने साथै सामुदायिक विद्यालयहरूले निःशुल्क पाठ्यपुस्तक विद्यालयबाट उपलब्ध गराउने र संस्थागत विद्यालयहरूले विद्यालय वा अन्य विक्रेताबाट किन बाध्य नपारी स्वतन्त्र रुपमा खरिद गर्न पाउने व्यवसथा मिलाउन नगरप्रमुख कृष्णराज पण्डितद्वारा जारी सुचनामा जनाईएको छ ।
यसैगरि भानु नगरपालिकालको विहिबार बसेको नगर शिक्षा समितिको निर्णयानुसार शैक्षिक सत्र २०८३ मा शैक्षिक गतिविधि सञ्चालन गर्ने सम्बन्धमा विभिन्न निर्णयहरु भएका छन् । बैशाख ४ गते देखि ८ गते सम्म विद्यार्थी भर्ना अभियान, शैक्षिक सत्र २०८३ को कार्ययोजना, वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना निर्माण, शिक्षकको पेशागत क्षमता विकास र विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्ने तथा ९ गते देखि नियमित पठनपाठन सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालय प्रति अभिभावकको आकर्षण वृद्धि गर्न, विद्यालय प्रति अपनत्व बढाउन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले भानु नगर कार्यपालिकाबाट गरिएको नगरपालिका भित्र कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी, जनप्रतिनिधि, विव्यस तथा शिअसंघका पदाधिकारीहरुले अनिवार्यरुपमा आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीतिगत निर्णयलाई पूर्णरुपमा पालना गर्नु गराउनु नगरप्रमुख आनन्दराज त्रिपाठीले अनुरोध गरेका छन् ।
तनहुँका म्याग्दे, ऋषिङ र घिरिङ बाहेक अन्य स्थानीय तहले बैशाख २१ गते अघि नै पठनपाठन सुरु गर्ने निर्णय गरेका हुन् ।












