भिमाद र म्याग्देमा ७ गतेबाट पठनपाठन सुरु हुने

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ५

संघीय सरकारले शैक्षिक सत्र २०८३ को लागि बैशाख २१ गतेबाट मात्र नियमित पठनपाठन कार्य सुरु गर्न निर्देशन दिएपनि तनहुँका स्थानीय तहमा भने त्यसअघि नै पठनपाठन सुरु भएको छ । आबुँखैरेनी गाउँपालिकाले बैशाख २ गतेबाट नै पठनपाठन सुरु गरिसकेको छ भने अन्य स्थानीय तहलेपनि बैशाख २१ गते अघि नै पठनपाठन सुरु गर्ने जनाएका छन् ।

यसैविच तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बैशाख ७ गते सोमबारबाट नियमित पठनपाठन सुरु गर्ने भएका छन् । बैशाख ४ गते सम्पन्न भिमादको नगर शिक्षा समितिको बैठकबाट कम्तीमा २०५ दिन विद्यालय सञ्चालन हुने गरी शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्ने निर्णय भए बमोजिम सबै विद्यालयहरूमा नियमित भर्ना अभियान वैशाख ४ गतेदेखि प्रारम्भ गर्ने र सबै विद्यालयहरूले मिति २०८३ वैशाख ७ गतेदेखि पठनपाठन सुरु गर्ने भिमाद नगरपालिकाले निर्णय गरेको छ ।

बैशाख १५ गतेसम्म सेवाक्षेत्रका बालबालिकालाई विद्यालय शिक्षामा सहभागी हुने सुनिश्चितताका लागि वडा कार्यालय समेतको समन्वमा विशेष भर्ना अभियान सहित संघीय सरकारले तोकेका विद्यालय तहका शैक्षिक योजना निर्माण सम्बन्धी कार्यहरू गर्ने, संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८३ मा प्रदान गर्ने कक्षागत निःशुल्क छात्रवृत्तिको आरक्षण शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा कोटा निर्धारण गरी दरखास्त आव्हान गर्ने संस्थागत विद्यालयहरुले विद्यार्थीसँग लिन पाउने शुल्क दर अभिभावक तथा सर्वसाधरणले देखे गरी टाँस प्रसार गर्ने तथा विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तकहरू मात्र लागू गर्ने साथै सामुदायिक विद्यालयहरूले निःशुल्क पाठ्यपुस्तक विद्यालयबाट उपलब्ध गराउने र संस्थागत विद्यालयहरूले विद्यालय वा अन्य विक्रेताबाट किन बाध्य नपारी स्वतन्त्र रुपमा खरिद गर्न पाउने व्यवस्था मिलाउन नगरप्रमुख दधिराज सुवेदीद्वारा जारी सुचनामा जनाईएको छ ।

यसैगरि म्याग्दे गाउँपालिकाको विहिबार बसेको कार्यपालिकाको बैठकको निर्णयानुसार गाउँपालिकाको शैक्षिक क्यालेण्डर बमोजिम गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको भर्ना अभियान तथा पठनपाठन बैशाख ७ गते सोमबारदेखी सुचारु गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू