तनहुँ । जेठ १८
प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँको आयोजनामा स्तनपान गराउने आमाहरूका लागि मातृ–शिशु स्वास्थ्य सुरक्षार्थ ‘दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवद्र्धन कार्यक्रम’ भिमाद नगरपालिकामा सोमबार सम्पन्न भएको छ ।



प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा.नारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्तनपान गराउने आमाहरूमा दूध उत्पादन वृद्धि, आमा तथा शिशुको पोषण एवं स्वास्थ्य सुरक्षामा आयुर्वेदिक जडीबुटी तथा औषधिको महत्वबारे जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले ‘मातृ–शिशु स्वास्थ्य सुरक्षार्थ दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले स्तनपान गराउने आमाहरूका लागि उपयोगी दुग्धवर्धक आयुर्वेदिक जडीबुटी, औषधि तथा स्वस्थ जीवनशैलीका विषयमा विस्तृत जानकारी दिएका थिए । साथै, मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा आयुर्वेदिक उपचार पद्धति र पोषणयुक्त आहारको महत्वबारे समेत प्रकाश पारेका थिए ।

कार्यक्रमको सहजीकरण कविराज निरीक्षक सोमकान्त पौडेलले गरेका थिए । उक्त कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूलाई आयुर्वेदिक जीवनशैली, प्राकृतिक उपचार पद्धति तथा मातृ–शिशु स्वास्थ्य प्रवद्र्धनसम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले दुग्धवर्धक आयुर्वेदिक औषधि तथा जडीबुटीको प्रयोग, पोषणयुक्त आहार र स्तनपानको महत्वबारे जानकारी हासिल गरेका थिए । यस कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारमा आयुर्वेदिक सेवाको भूमिका थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता जनचेतनामूलक तथा स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
‘स्वस्थ आमा, स्वस्थ शिशु, समृद्ध परिवार’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमले स्तनपान गराउने आमाहरूको स्वास्थ्य सुदृढीकरण, मातृ–शिशु पोषण सुधार तथा आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।












