देउती सामुदायिक वनमा तिन हजार बिरुवा रोपण, संरक्षण र आयआर्जनमा विशेष जोड

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १३

वन संरक्षणलाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित देवघाट गाउँपालिका–५ स्थित देउती सामुदायिक वन उपभोक्ता समूहले २ हेक्टर क्षेत्रफलमा ३ हजार बिरुवा रोपण गरेको छ । समूहले १ हजार ६ सय खयर, १ हजार ३ सय चाप र १ सय कटहरका बिरुवा रोपेको जनाएको छ ।

देवघाट सबडिभिजन वन कार्यालयको सहयोगमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि कार्यालयका प्रमुख नवीन विश्वकर्माले बिरुवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । उनले संरक्षण प्रभावकारी भएमा मात्र सरकारी लगानी र जनश्रमको उचित प्रतिफल प्राप्त हुने उल्लेख गर्दै सामुदायिक वनलाई दीर्घकालीन रूपमा आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

विश्वकर्माले वन संरक्षण वनका पदाधिकारीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको धारणा व्यक्त गर्दै वनको दिगो व्यवस्थापनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

समूहका अध्यक्ष तेजबहादुर थापाले वन भावी पुस्ताका लागि अमूल्य सम्पत्ति भएकाले अहिले रोपिएका बिरुवाले भविष्यमा स्वच्छ वातावरण, हरियाली र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले भने ‘बिरुवा रोप्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई हुर्काउनु र संरक्षण गर्नु नै हाम्रो मुख्य दायित्व हो, वन जोगियो भने वातावरण जोगिन्छ, वातावरण जोगियो भने मानव जीवन सुरक्षित रहन्छ ।’

अध्यक्ष थापाले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि वन क्षेत्रमा हेरालुको व्यवस्था, नियमित रेखदेख, तारजाली तथा अन्य आवश्यक संरक्षणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिए । बिरुवा रोपेर मात्रै दायित्व पूरा नहुने भन्दै संरक्षणलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

सो कार्यक्रमको सञ्चालन समूहकी सचिव हरिमाया सिवाकोटीले गरेकी थिइन् । वन संरक्षण, हरियाली प्रवद्र्धन तथा भविष्यमा आर्थिक लाभ हासिल गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यो वृक्षारोपण कार्यक्रमले सामुदायिक वनको दिगो व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू