तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

तनहुँ जिल्लालाई पुर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

तनहुँ जिल्लाले आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्ण खोप सुनिश्चितता दिगोपना सम्बन्धी निर्धारित सबै मापदण्ड सफलतापूर्वक पूरा गरेको छ । प्रदेश खोप समन्वय समितिबाट आवश्यक भेरिफिकेसन तथा प्रमाणीकरण सम्पन्न भएपछि असार २२ गते सोमबार तनहुँ जिल्लालाई पुनः ‘पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला’ घोषणा गरिएको हो । यसअघि तनहुँ जिल्ला वि.सं. २०७२ साल कार्तिक २० गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा भएको थियो ।

नेपालको संविधान २०७२, खोप ऐन २०७२, खोप नियमावली २०७४, जनस्वास्थ्य सेवा ऐन २०७५ तथा राष्ट्रिय स्वास्थ्य नीति २०७६ बमोजिम प्रत्येक बालबालिकाको निःशुल्क तथा गुणस्तरीय खोप सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारले पूर्ण खोप सुनिश्चितता तथा यसको दिगोपनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको प्रदेश स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ जिल्लामा हाल २३८ वटा नियमित खोप केन्द्रमार्फत बालबालिकाहरुका लागि १३ वटा रोगविरुद्ध निःशुल्क खोप सेवा सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०८२÷०८३ देखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपसमेत नियमित खोप कार्यक्रममा समावेश भई सफलतापूर्वक सञ्चालन भइरहेको जनाईएको छ ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम अन्तर्गत जिल्लाका सबै ८५ वडा र १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण, छुट बालबालिकाको खोज तथा प्रमाणीकरण प्रक्रिया सम्पन्न गरिएको थियो। आर्थिक वर्ष २०८२÷०८३ को सर्वेक्षणअनुसार जिल्लामा ०–१५ महिनाका ३ हजार ४२१ जना तथा १६–५९ महिनाका १० हजार ९८१ जना बालबालिका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

सर्वेक्षणका क्रममा शून्य डोज प्राप्त गर्ने बालबालिकाको संख्या शून्य रहेको तथा पूर्ण खोप नपाएका १७ जना बालबालिकालाई छुट खोप प्रदान गरी राष्ट्रिय खोप तालिकाअनुसार सबै बालबालिकामा पूर्ण खोप सुनिश्चित गरिएको कार्यालयका प्रमुख अमर दवाडीले जानकारी दिए ।

जिल्लामा अस्थायी रूपमा बसोबास गर्ने श्रमिक परिवार, विशेषगरी इट्टाभट्टा, नदीजन्य पदार्थ उत्खनन तथा निर्माण क्षेत्रमा कार्यरत परिवारका बालबालिका नियमित खोप सेवाबाट छुट्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै आगामी दिनमा स्थानीय तहहरूले यस्ता जोखिमयुक्त क्षेत्रको पहिचान गरी सूक्ष्म योजना तयार गर्ने, नियमित ‘खोज र खोप’ अभियान सञ्चालन गर्ने तथा प्रभावकारी अनुगमन र समुदायस्तरीय जनचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

यस उपलब्धि हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउनुहुने राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, अभिभावक, जनप्रतिनिधि, वडा तथा पालिका खोप समन्वय समिति, जिल्ला खोप समन्वय समितिका पदाधिकारी, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति जिल्ला खोप समन्वय समितिले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।

‘स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै जिल्ला खोप समन्वय समिति नियमित खोप कार्यक्रमको दिगोपना कायम राख्न, कुनै पनि बालबालिका खोप सेवाबाट नछुट्ने वातावरण सुनिश्चित गर्न तथा सबै सरोकारवालाबीच निरन्तर सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गरेको छ ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख एवं जिल्ला समन्वय समिति तनहुँका कार्यबहाक प्रमुख बासुदेब थापाको अध्यक्षतामा भएको उक्त घोषणा कार्यक्रममा ब्यास नगरपालिका प्रमुख बैकुन्ठनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापती प्रा.डा.कृष्ण गौतम लगायत जिल्ला खोप समन्वय समितिका पधाधिकारीहरूको उपस्थितीमा रहेको थियो ।

कार्यक्रममा प्रदेश खोप समन्वय समितिका सदस्य खोप अधिकृत एकनारायण लम्सालले तनहुँ जिल्लालाई पुर्ण खोप सुनिश्चितता दिगोपनाको जिल्ला प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा बिश्व स्वास्थ्य संगठन फिल्ड अफिस पोखराकी डा.सस्मिता बास्तोलाको समेत उपस्थिती रहेको थियो ।

तनहुँका पालिकाहरु मध्ये भानु नगरपालिकालाई २०८३ जेठ १ गते, शुक्लागण्डकी नपालाई जेठ ४ गते, व्यास नपालाई जेठ ८ गते, म्याग्दे गाउँपालिकालाई जेठ ११ गते, बन्दीपुरलाई जेठ १२ गते, भिमाद नपालाई जेठ १३ गते, घिरिङलाई जेठ १८ गते, ऋषिङलाई जेठ २० गते, देवघाटलाई जेठ २९ गते र आबुँखैरेनीलाई असार ४ गते पुर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित