जन्मदिनको उत्सवलाई सामाजिक सेवासँग जोड्दैः पौडेलद्वारा विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार ३२

आजभोलि जन्मदिन भन्नासाथ केक काट्ने, भोज गर्ने र रमाइलो गर्ने चलन बढ्दो छ । तर तनहुँको देवघाटमा एउटा परिवारले भने जन्मदिनको वास्तविक खुसी अरूको जीवनमा सानो भए पनि सकारात्मक परिवर्तन ल्याउनुमा रहेको सन्देश दिएको छ ।

देवघाट गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर अरुण पौडेल र कालिका माध्यमिक विद्यालयकी शिक्षिका यामकुमारी अर्यालका छोरा श्रेयस्कर पौडेलले आफ्नो जन्मदिनको अवसरमा देवघाट गाउँपालिका–५ स्थित बज्रयोगीनी माध्यमिक विद्यालयलाई एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल आलेमगर, प्रधानाध्यापक केशव काफ्ले तथा वडा सदस्य बुद्धिबहादुर पाण्डेको उपस्थितिमा उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । यस अवसरमा इन्जिनियर अरुण पौडेलले आफ्नो परिवारमा जन्मदिनमा कहिल्यै केक काट्ने चलन नरहेको बताउँदै हरेक जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आएको सुनाए ।

‘हामीले आजसम्म कुनै पनि जन्मदिनमा केक काटेका छैनौं, जन्मदिनको खुसी अरूलाई उपयोगी हुने काम गरेर मनाउनु नै हाम्रो परिवारको संस्कार हो । कहिले मन्दिरलाई आवश्यक सामग्री सहयोग गर्छौं, कहिले विद्यालयलाई’ पौडेलले भने ‘यसपटक छोराको जन्मदिनमा विद्यालयका विद्यार्थीलाई शुद्ध पिउने पानीको सुविधा पुग्ने उद्देश्यले वाटर डिस्पेन्सर सहयोग गरेका हौं ।’

उनले जन्मदिन, विवाह वर्षगाँठ वा अन्य खुसीका अवसरलाई अनावश्यक खर्चमा सीमित नराखी समाजका लागि सानो भए पनि योगदान गर्ने संस्कार बसाल्न सबैलाई आग्रह गरे । ‘हामीले खर्च गर्ने रकमको सानो हिस्सा पनि विद्यालय, मन्दिर, स्वास्थ्य संस्था वा अन्य सामाजिक क्षेत्रमा लगानी गर्न सक्यौं भने त्यही नै सबैभन्दा ठूलो उत्सव हुनेछ’ उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल आलेमगर र प्रधानाध्यापक केशव काफ्लेले विद्यालयको आवश्यकतालाई बुझेर गरिएको सहयोगको प्रशंसा गर्दै सहयोगी परिवारप्रति हार्दिक आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय