सुनसरी घटनाप्रति प्रमुख राजनीतिक दलहरुको चिन्ताः सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त अपिल

Devghat Online

शेयर गरौ

काठमाडौँ । साउन १३

सुनसरीलगायत देशका विभिन्न जिल्लाहरूमा हालै विकसित संवेदनशील एवं दुःखद घटनाक्रमलाई लिएर प्रमुख राजनीतिक दलहरूले गम्भीर चिन्ता व्यक्त गर्दै देशवासीलाई सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले पछिल्लो अवस्थाको गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ ।

सर्वदलीय बैठकपछि जारी वक्तव्यमा पछिल्ला घटनाक्रममा परी ज्यान गुमाउने मृतकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै घटनामा घाइते भएका सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै दलहरूले सदियौँदेखि कायम पारस्परिक भाइचारालाई खलबल्याउने कुनै पनि अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन सम्पूर्ण देशवासीमा हार्दिक अपिल गरेका छन् । ‘आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउँछ’ वक्तव्यमा भनिएको छ ।

दलहरूले लोकतन्त्रमा असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुनेमा जोड दिएका छन् । समाजमा शान्ति–सद्भाव कायम राख्न केन्द्रको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न आ–आफ्ना पार्टी पङ्क्तिलाई निर्देशन दिइएको छ । धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर तल्लो तहसम्म विश्वासको वातावरण निर्माण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै दलहरूले परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यस्तै संवेदनशील समयमा सामाजिक सञ्जालबाट फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्ने भन्दै सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गरिएको छ । साथै सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन राजनीतिक दलहरुले आग्रह गरेका छन् ।

संयुक्त वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछाने, नेपाली काँग्रेसका सभापती गगन थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोख्रेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जनता समाजवादी पार्टी (जसपा) का नेता प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको नेताहरूले जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय