तनहुँ । साउन २४
तनहुँको भिमाद नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण हुक्का डाँडा र लिलिङकोट क्षेत्रको समग्र विकास एवम् पर्यटन प्रवद्र्धनका लागि आइतबार एक बृहत् भेला आयोजना गरियो ।



‘लिलिङकोट समृद्ध भए, किर्हुँ समृद्ध हुन्छ !’ तथा ‘समृद्ध लिलिङकोट, समृद्ध किहुँ’ भन्ने मूल नाराका साथ किर्हुँ क्षेत्रका अगुवा, समाजसेवी तथा युवा समूहको आयोजनामा लिलिङकोट डाँडामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त बृहत् भेलाले लिलिङकोट र हुक्काडाँडा क्षेत्रको पर्यटन विकास, पूर्वाधार निर्माण तथा प्रवद्र्धनका कामलाई व्यवस्थित रूपमा अगाडि बढाउन सुरज लम्सालको संयोजकत्वमा नयाँ समिति गठन गरेको छ । उक्त समितिमा सह संयोजक जविरुल्ला मियाँ, सचिव सन्दिप नगर्ची, सहसचिव सरिना खातनु तथा कोषाध्यक्षमा अनिश परियार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा धनन्जय सिग्देल, झलक आले, शिवबहादुर राना, तिर्थ सिग्देल, नरबहादुर दवाडी, सृष्टि थापा, कुशल थापा र नारयणी लामिछाने चयन भएका छन् ।

अभियान अन्तर्गत लिलिङकोट, सतिकोट गुफा, डाँडाजोर देखि तारा खसेसम्मका पर्यटकीय तथा प्राकृतिक क्षेत्रहरूको संरक्षण, प्रवद्र्धन, पूर्वाधार विकास, स्थानीय सहभागिता र आर्थिक समृद्धिका लागि दीर्घकालीन पर्यटन योजना तथा ठोस कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै संविधान सभा सदस्य टुकराज सिग्देलले ओझेलमा परेका स्थानीय पर्यटकीय स्थलहरूको पहिचान र प्रवद्र्धनले समग्र किहुँ क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । त्यसैगरी, विशिष्ट अतिथि पूर्व सांसद केदार सिग्देलले लिङलिङकोट र हुक्काडाँडाको ऐतिहासिक महत्व जोगाउँदै पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

नवनिर्वाचित संयोजक सुरज लम्सालले स्थानीय समुदाय, नगरपालिका र सरोकारवाला निकायहरूसँग समन्वय गरी यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरे । भेलामा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

हुक्काडाँडा र लिलिङकोट क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । दृश्यावलोकनकोलागि आन्तरिक पर्यटकहरु पछिल्लो समय त्यस क्षेत्रमा पुग्न थालेका छन् । उचाईमा रहेको त्यस क्षेत्रबाट तनहुँको विभिन्न क्षेत्र तथा स्याङजा र पाल्पाका केही भाग पनि देख्न सकिन्छ ।














