सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २६

देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय उच्च शिक्षाको विकासका लागि उच्च शिक्षा सञ्जाल, नेपाल गठन गरेका छन् । बालकुमारी क्याम्पस, भरतपुर चितवनमा सोमबार आयोजित क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा क्याम्पस प्रमुखहरूको बैठकले उक्त ऐतिहासिक निर्णय गरेको हो ।

सञ्जालको तदर्थ समितिका अध्यक्ष एवं मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. यामबहादुर सिलवालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेपालका अग्रणी सात उच्च शैक्षिक संस्थाहरूबीच बहुपक्षीय सहकार्यका लागि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतामा आदिकवि भानुभक्त क्याम्पस (तनहुँ), जनप्रिय बहुमुखी क्याम्पस (पोखरा), लुम्बिनी वाणिज्य क्याम्पस (बुटवल), बालकुमारी कलेज (चितवन), मकवानपुर बहुमुखी क्याम्पस (हेटौंडा), सुकुना बहुमुखी क्याम्पस (मोरङ) र दमक बहुमुखी क्याम्पस (झापा) ले हस्ताक्षर गरेका छन् ।

बैठकले सञ्जालका सचिव एवं आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हडखलेले प्रस्तुत गर्नुभएको ‘उच्च शिक्षा सञ्जाल विधान, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।

सञ्जालको प्रशासनिक तथा व्यवस्थापकीय कामलाई व्यवस्थित बनाउन सचिवालयको कार्यालय मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडामा स्थापना गर्ने निर्णय गरिएको छ । साथै, संस्था दर्ता ऐन, २०३४ अनुसार सञ्जाललाई कानुनी रूपमा दर्ता गरिने भएको छ ।

बैठकमा सञ्जालका सल्लाहकार समिति संयोजक एवं मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष, संविधानसभा सदस्य अनन्त प्रसाद पौड्यालको विशेष उपस्थिति रहेको थियो । सो क्रममा अनुसन्धानविद् डा.कृष्ण धितालले सञ्जालको भावी मार्गदर्शन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकले डा.धिताललाई सञ्जालको परामर्शदाता पदमा नियुक्त समेत गरेको छ ।

उच्च शिक्षाका क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू समाधान गर्न सञ्जालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग छलफल बढाउने निर्णय गरेको छ । यस अन्तर्गत विश्वविद्यालय अनुदान आयोग (सानोठिमी, भक्तपुर), त्रिभुवन विश्वविद्यालय, नेपाल पब्लिक क्याम्पस संघ र अन्य अन्तर्राष्ट्रिय सञ्जालहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

उक्त बैठकले सञ्जालको प्रथम अधिवेशन आगामी मङ्सिर ५ गते जनप्रिय बहुमुखी क्याम्पस, पोखरामा आयोजना गर्ने निर्णय गरेको छ । सञ्जालको स्थापनासँगै नेपालका प्रमुख सामुदायिक क्याम्पसहरूबीच प्राज्ञिक आदानप्रदान, अनुसन्धान र गुणस्तर वृद्धिमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ