तनहुँ । साउन २७
जेसीआई व्यासनगरको आयोजनामा यसवर्ष ११ औं संस्करणको व्यासनगर शाइनिङ स्टार २०२६ आयोजना हुने भएको छ ।
उक्त कार्यक्रमको बारेमा जानकारी दिन जेसीआई व्यासनगरद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जेसीआई व्यासनगर–२०२६ का अध्यक्ष अजर नागिलाले बालबालिकाहरूमा लुकेको प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि र व्यक्तित्व विकासको लागि यस वर्ष पनि व्यासनगर शाइनिंग स्टार २०२६ आयोजना गर्न लागिएको बताए ।



जेसिआई व्यास नगरले सन २०१३ देखी प्रत्येक वर्ष उक्त कार्यक्रम आयोजना गर्दै आईरहेको छ । उक्त प्रतियोगितको अडिसन यही साउन ३० र ३१ गते बिहान ११ देखि ४ बजेसम्म व्यास नपा–४ स्थित दमौली सेकेण्डरी स्कुल (दमौली कलेज) मा हुनेछ ।
जेसिआई व्यास नगरका कार्यकारी उपाध्यक्ष एवं कार्यक्रम कोअर्डिनेटर शुनिल श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागिताका लागि ९ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले आवेदन दिन सक्नेछन् । आवेदन दिएका मध्येबाट अडिसन मार्फत २० जना उत्कृष्ट २० बालबालिकालाई छनौट गरिनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले असोज ३ गते दिउँसो ३ बजे दमौली सभा हलमा गरिनेछ ।
उक्त प्रतियोगिताको बिजेतालाई नगद २६ हजार २६, ट्रफी, प्रमाणपत्र तथा विभिन्न उपहार प्रदान गरिनेछ । त्यस्तै फस्ट रनरअपलाई नगद १५ हजार २६, ट्रफी, प्रमाणपत्र तथा उपहार तथा सेकेण्ड रनरअपलाई नगद १० हजार २६, ट्रफी, प्रमाणपत्र तथा उपहार प्रदान गरिने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । त्यस्तै १० जना प्रतियोगिलाई अन्य १० वटा अवार्डहरु जस्तै आउट स्ट्याण्डिङ पर्सनालिटी, बेष्ट परफमेन्स, बेष्ट पोशाक लगायत विभिन्न अवार्डबाट सम्मान गरिनेछ ।
अडिसनबाट छनौट भएका २० जना प्रतियोगिहरुलाई एक महिनाको विशेष तालिममा सहभागि गराईनेछ । तालिममा सार्वजानिक भाषणकला, नेतृत्व तथा क्षमता विकास, व्यक्तित्व विकास, नृत्य, मोडलिङ चाल लगायतको विषयमा बरिष्ठ प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । त्यस्तै थप व्यवहारिक ज्ञानको रुपमा वित्तिय साक्षरता, कृत्रिम बौद्धिकता, साईबर अपराध सचेतना, प्रोफेसनल फोटोसेसन, शैक्षिक भ्रमण, परियोजना कार्य र सामुदायिक भ्रमण समेत गराईने जेसिआई व्यासनगर २०२६ का अध्यक्ष अजर नागिलाले जानकारी दिए ।
यस्तै सबैभन्दा धेरै प्रतियोगि सहभागी गराउने विद्यालयलाई पनि फाईनलको दिनमा सम्मान गरिनेछ । प्रतियोगिहरुलाई धेरै भन्दा धेरै टिकट विक्रीकोलागि दवाव दिने गरेको आरोपको खण्डन गर्दै अध्यक्ष नागिलाले २५० र ५०० को टिकट विद्यार्थीहरूलाई बजार व्यवस्थापन, प्रभावकारी सिप सन्चार तथा सम्बन्ध विस्तार सम्बन्धी सीप सिकाउने अभ्यास मात्र भएको बताए । टिकट बिक्रीको आधारमा नतिजा वा विजेता छनोट नगरिने भन्दै उनले नतिजा शुद्ध प्रतिभा, मेहनत र निर्णायकको मूल्याङ्कनमा आधारित हुने बताए ।
उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष डिपी अधिकारी, जेसिआई व्यास नगरका पुर्व अध्यक्ष एकप्रसाद श्रेष्ठ लगायतले कार्यक्रमको महत्वको बारेमा चर्चा गरेका थिए । उक्त कार्यक्रमको सन्चालन जेसिआई व्यास नगरका महासचिव प्रताप पण्डितले गरेका थिए ।












