तनहुँ । साउन २८
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यको कमजोर आम्दानीको कारण बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् । जिल्ला समन्वय समिति तनहुँले विहिबार आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनुपर्ने विगतको अवस्था अन्त्य गर्न यसपटक करको दायरा फराकिलो बनाउने नीति लिइएको बताए ।



‘नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको छ’ मन्त्री वाग्लेले भने ‘जनताको विकाससम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामथ्र्य कम रहेको र दातृ निकायको ऋणसमेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प छैन ।’

‘हामीले नियमित दायित्वका लागि पनि ऋण लिनुपर्ने अवस्था छ, राज्यको अत्यावश्यक दायित्व साढे १३ सय अर्ब रुपियाँ रहेकोमा सरकारको आम्दानी १२ सय ५० अर्ब रुपियाँको हाराहारीमा मात्र छ’ अर्थमन्त्री वाग्लेले भने ‘यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका हौं ।’
करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उनले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताए । सरकारले २१ सय २४ अर्ब रुपियाँको बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गरी ६६ खर्ब रुपियाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको प्रष्ट पारे । छिट्टै गैरआवासीय तथा प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्ने अनुकूल वातावरण तयार गरिने जानकारीसमेत मन्त्री वाग्लेले बताए । वर्तमान सरकार पाँच वर्ष निरन्तर चल्ने भन्दै यस अवधिमा तनहुँको विकासमा उल्लेख्य काम गरिने मन्त्री वाग्लेले बताए ।

सो कार्यक्रममा बोल्दै तनहुँ क्षेत्र नम्बर २ का सांसद ई.श्रीराम न्यौपानेले बजेट राम्रो बनाएर मात्र नहुने भन्दै बजेट खर्च पनि गर्न सक्नुपर्ने बताए । तनहुँको दुबै निर्वाचन क्षेत्रको बस्तुस्थिती र अवस्थाको बारेमा आफु पुर्णरुपमा जानकार रहेको भन्दै सांसद न्यौपानेले तनहुँको विकास सम्बन्धी समस्या समाधानकोलागि आफु प्रतिबद्ध रहेको बताए । पुर्वाधार विकासको समस्या समाधानकोलागि पुर्वाधार अदालत गठन गर्नुपर्ने आफ्नो भिजन प्रधानमन्त्री समक्ष राखेको भन्दै सांसद न्यौपानेले पुर्वाधार अदालत गठन गर्न प्रधानमन्त्री सकारात्मक भएको र अव चालु संसदमै उक्त अदालत गठन हुने दाबी गरे ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसदहरु हरिबहादुर चुमान, जितप्रकाश आले, अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतले मन्तव्य राखेका थिए ।
शुक्ररबारसम्म चल्ने उक्त समिक्षा कार्यक्रममा तनहुँका १० वटै स्थानीय तह, संघीय र प्रदेश कार्यालयहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेका विकास आयोजना तथा कार्यक्रमहरुको बारेमा प्रस्तुती सहितको समिक्षा गरिनेछ ।












