तनहुँ । भदौ २
व्यास नगरपालिकाले सडक पेटी तथा सार्वजनिक आवतजावतमा अवरोध पुग्ने गरी निर्माण गरिएका अनधिकृत संरचनाहरू स्वतः हटाउन ७ दिनको अन्तिम म्याद दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले मंगलबार सुचना प्रकाशित गरि तोकिएको अवधिभित्र संरचना नहटाए नगरपालिका आफैँले हटाउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित घरधनी वा पक्षबाटै असुलउपर गर्ने चेतावनी दिएका छन् ।



नगर कार्यपालिकाको २०८३ जेठ २२ गते बसेको २३ औँ नियमित बैठकको निर्णय अनुसार सडक अधिकार क्षेत्रभित्र पर्ने पक्की संरचना, रÞ्याम्प, सिँढी, बरण्डा तथा टिनका छाप्राहरू हटाउन यसअघि जेठ २५ गते ३५ दिने र साउन १ गते १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।

तोकिएको समयसीमा समाप्त भइसक्दा धेरै घरधनीहरूले स्वयं संरचना हटाए पनि केहीले अझै नहटाएको हुनाले यो अन्तिम मौका दिइएको नगरपालिकाले जनाएको छ । पत्र प्राप्त नभएको भए यसै सार्वजनिक सूचनालाई आधार मानी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र त्यस्ता अनधिकृत संरचनाहरू हटाई सडक पेटी र सार्वजनिक आवागमन सहज बनाउन आह्वान गरिएको छ ।
तोकिएको म्यादभित्र संरचना नहटाएमा प्रचलित कानुन तथा नगर कार्यपालिकाको निर्णयबमोजिम संरचना हटाइने र लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरी कानुनी कारबाहीसमेत अगाडि बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।












