तनहुँ । भदौ १५
तनहुँको भिमाद नगरपालिकाले बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।



नगरपालिकाको विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । नगरप्रमुख दधिराज सुवेदीका अनुसार नगरपालिकाको आन्तरिक कोषबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिहरूको एक महिनाको पारिश्रमिकबाट ८ लाख ८० हजार रुपैयाँ, शिक्षक तथा कर्मचारीहरूको केही तलबबाट ६ लाख रुपैयाँ र भ्रमण कार्यक्रमको बजेटबाट २० हजार रुपैयाँ गरी कुल २० लाख रुपैयाँ कोषमा जम्मा गरिनेछ ।

रसुवामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख सुवेदीले विपद्को यस घडीमा भिमाद नगरपालिका पीडितको साथमा रहेको बताए । प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उनको भनाइ छ । विपद्का बेला पीडितका नाममा हुने ठगी नियन्त्रणका लागि सरकारले प्रभावकारी निगरानी र आवश्यक कानुनी कदम चाल्नुपर्नेमा नगर प्रमुख सुवेदीले जोड दिए ।












