मधुवन सामुदायिक वनको सार्वजनिक लेखा सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ २५

देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक लेखा सुनुवाइ कार्यक्रम विहिबार सम्पन्न गरेको छ । वन संरक्षण, आर्थिक पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएको समूहले सार्वजनिक लेखा सुनुवाइमार्फत आफ्नो वार्षिक गतिविधि, आम्दानी–खर्च तथा वन व्यवस्थापनका कार्यहरू उपभोक्तामाझ प्रस्तुत गरेको हो ।

सामुदायिक वन केवल रूखबिरुवा र वन पैदावारको स्रोत मात्र नभई स्थानीय समुदायको जीवन, जीविकोपार्जन र भविष्यसँग जोडिएको साझा सम्पत्ति भएकाले यसको संरक्षण र उपयोग दुवैमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका–५ का वडा सदस्य यामबहादुर मगरले मधुवन सामुदायिक वनले वन व्यवस्थापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । मधुवनको कार्यसम्पादनले देवघाटको नामसमेत उजागर गरेको उल्लेख गर्दै उनले सामुदायिक वनसम्बन्धी ऐन, नियम तथा स्थानीय आवश्यकता हेरेर स्थानीय तहसँग आवश्यक समन्वय र सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले वन संरक्षणलाई समुदायको समृद्धिसँग जोडेर अघि बढिरहेको बताए । उनका अनुसार समूहले करिब ४ दशमलव ५ रोपनी क्षेत्रफलमा सर्पगन्धा खेती गरी करिब ८ हजार बिरुवा उत्पादन गरेको छ भने ३ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरी करिब १७ हजार बिरुवा उत्पादन गरेको छ । त्यस्तै आँप, लिची र एभोकाडोका करिब ९ सय बिरुवा तथा बेर्ना वितरण गरिएको उनले जानकारी दिए ।

मधुवनको कार्यसम्पादनले राष्ट्रियस्तरमै पहिचान बनाउन सफल भएको अध्यक्ष गिरीको भनाइ छ । उनका अनुसार पहिलो कार्यकालमै समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको थियो भने दोस्रो कार्यकालमा जिल्लाकै नमुना सामुदायिक वनका रूपमा समेत छनोट हुन सफल भएको छ ।

अध्यक्ष गिरीले सामाजिक उत्तरदायित्व अन्तर्गत १९ जना सदस्यलाई राहतस्वरूप भत्ता वितरण गरेको जानकारी दिए । त्यसैगरी गरिबी न्यूनीकरण तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत ११ जना लाभग्राहीलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ बराबरको अनुदान प्रदान गरिएको छ । उक्त अनुदानबाट पाँच जनालाई बाख्रा, पाँच जनालाई भैंसीका पाडी र एक जनालाई बङ्गुर उपलब्ध गराइएको अध्यक्ष गिरीले जानकारी दिए ।

वन संरक्षणसँगै स्थानीयको हातमा सीप र घरमा आम्दानी पु¥याउने उद्देश्यले १५ दिने चप्पल बनाउने तालिमसमेत सञ्चालन गरिएको थियो । वनसँग जोडिएका समुदायलाई सीप, स्वरोजगार र आयआर्जनका अवसर प्रदान गर्दै आत्मनिर्भर बनाउने कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्ने समूहको योजना छ ।

मधुवनले युवालाई समेत वन संरक्षण र सामाजिक विकासको अभियानसँग जोड्ने प्रयास गरेको छ । युवालाई सिर्जनशील, अनुशासित तथा स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको गिरीले जनाएको छ। नयाँ पुस्तालाई वन संरक्षणको महत्व बुझाउँदै खेलकुद, सीप विकास र सामाजिक गतिविधिमार्फत समुदायसँग जोड्ने प्रयास गरिएको गिरीले बताए ।

कार्यक्रममा सामुदायिक वन महासंघ गण्डकी प्रदेश वन महासंघका सचिव केशवचन्द्र न्यौपाने, सब–डिभिजन वन कार्यालयका प्राविधिक दिपक सिलवाल, रानी सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारी, सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उनीहरूले सामुदायिक वनलाई केवल काठ, दाउरा तथा वन पैदावारको स्रोतका रूपमा सीमित नराखी वातावरण संरक्षण, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, सीप विकास र सामाजिक रूपान्तरणको आधार बनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी मधुवन सामुदायिक वन अन्तर्गत रहेका छ वटै टोल विकास संस्थाका अध्यक्षहरूले पनि कार्यक्रममा मन्तव्य राख्दै वन संरक्षण तथा समुदायको विकासमा सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनीहरूले टोल विकास संस्था र सामुदायिक वनबीचको सहकार्य अझ मजबुत बनाउँदै वन र समुदाय दुवैको हितमा दीर्घकालीन योजना बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मधुवन सामुदायिक वनकी उपाध्यक्ष कमला देवकोटाले वन संरक्षण तथा सामुदायिक विकासका गतिविधिमा उपभोक्ताको सहभागिता र सहकार्य महत्वपूर्ण रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

भोटेकोसी बाढीका बेपत्ताको खोजीमा त्रिशूलीसम्म कुकुरसहितको संयुक्त प्रहरी टोली परिचालन

तनहुँ । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र बेपत्ता व्यक्तिहरूको

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता