श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

Devghat Online

शेयर गरौ

नवलपरासी । भदौ २७

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक साधारणसभा शनिबार नवलपरासीको त्रिवेणीधामस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा भव्य रूपमा सम्पन्न भएको छ ।

प्रदेश समितिका अध्यक्ष युवराज बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाको केन्द्रीय सदस्य प्रल्हादचन्द्र लम्सालले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै प्रमुख अतिथी लम्सालले सीमित स्रोत–साधनका बाबजुद प्रदेश समितिले उल्लेखनीय कार्यप्रगति गरेको बताउँदै आगामी दिनमा दुव्र्यसनविरुद्धको अभियान तथा मानवीय सहायताका क्षेत्रमा सहकार्य गर्दै अघि बढ्न केन्द्रीय कार्यसमिति प्रदेश समितिको सदैव साथमा रहने विश्वास व्यक्त गरे ।

उक्त साधारण सभामा अध्यक्ष युवराज बरालले वार्षिक कार्यप्रगति प्रतिवेदन, सचिव सन्तोष ढुङ्गानाले सांगठनिक प्रतिवेदन तथा सदस्य कल्पना कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष शोभा श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सह–सचिव प्रदिप चौलागाईंले गरेका थिए ।

कार्यक्रममा नवलपरासी जिल्ला अध्यक्ष शशि घिमिरे, रूपन्देही उपाध्यक्ष पार्वती पोख्रेल, श्रीकृष्ण प्रणामी मन्दिर त्रिवेणीधामका महन्त चिरञ्जीवी चौधरी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका विभागीय सदस्य मुरलीकृष्ण खनाल तथा राष्ट्रिय दैनिकका समाचार प्रमुख आर.पी. उपाध्यायले शुभकामना व्यक्त गरेका थिए ।

सो कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष कौशल फुयालले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रदेश समिति केन्द्र र जिल्लाबीचको बलियो पुल भएको बताए । उनले समन्वयकारी भूमिका निर्वाह गर्दै गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिले गरेका कार्यहरूको उच्च प्रशंसा गरेका थिए ।

साधारणसभाकै अवसरमा ‘प्रदेश शैक्षिक सम्मान–२०८२’ अन्तर्गत एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने तनहुँका राधा दाहाल र लमजुङका सुवर्ण लामिछानेलाई नगद पुरस्कारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान प्रदान गरिएको हो ।

यसैगरी, गत भाद्र १० गते भोटेकोशी नदीमा आएको विपत्तिमा परी ज्यान गुमाएका महानुभावहरूको पवित्र स्मृतिमा १०८ दीप प्रज्वलन गरिएको थियो । दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली स्वरूप गरिएको दीप प्रज्वलनले कार्यक्रमलाई भावपूर्ण बनाएको थियो ।

लमजुङ, तनहुँ, कास्की, गोरखा, नवलपरासी, रूपन्देही र पाल्पा गरी सात जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त साधारणसभाले संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै सामाजिक, मानवीय, शैक्षिक तथा सेवामूलक गतिविधिलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको सहसचिव प्रदिप चौलागांईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित