२० जेठ, दमौली
तनहूँको व्यास नगरपालिका वडा नम्बर ४ ले सामाजिक दुरी कायम गर्दै जेष्ठ नागरिक तथा एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दुरी कायम गर्दै वडाले दोश्रो चौमासिकको भत्ता वितरण गरेको हो । बैंक मार्फत वितरण गर्दा भिडभाड हुने र संक्रमणको जोखिम हुने हुँदा वडा कार्यालयबाट नै वितरण गरिएको वडा अध्यक्ष विश्वराज न्यौपानेले बताए ।
कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन गरेको अवस्थामा सदरमुकाम दमौलीमा रहेका बैंकहरुले सामाजिक सुरक्षा भत्ता वितरण थालेपछि बैंकहरुमा भिडभाड बढेको छ । यस्तो अवस्थामा झन बैंकमा नै भत्ता लिन पठाउनु भनेको झन संक्रमणको जोखिम बढाउनु भएकोले वडा कार्यालयबाट नै भत्ता वितरण गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । मंगलबार एक सय ६० जना जेष्ठ नागरिक तथा एकल महिलालाई भत्ता वितरण गरिएको वडा सदस्य बसुन्धरा घर्तीले जानकारी दिईन् ।
यसैगरि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को जोखिमका बिचमा सामाजिक दुरी कायम गर्दै महालक्ष्मी विकास बैकले गाँउमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकले व्यास नगरपालिका–९ मा पर्ने विभिन्न ठाँउका जेष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएकाहरुलाई जनप्रतिधिहरु र प्रहरी प्रशासनको रोहबरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बैंक शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिए ।
बैंकले वडाका विभिन्न ठाँउका दुई सय ७० जना लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको उनले जानकारी दिए । सामाजिक दुरि कायम गरि स्यानीटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले सामाजिक सुरक्षा भता बितरण गरिएको थियो । लकडाउन जारी भइरहेको अवस्थामा जनता बैंकमा आउनुभन्दा हामी नै जनता माझ पुग्दा लाभग्राहीलाई सास्ती कम हुने महसुस गरी वडाबाटै भत्ता वापतको रकम वितरण गर्ने निर्णय गरिएको न्यौपानेले बताए ।
व्यास नपा–९ का वडा अध्यक्ष सुरेश थापाले अहिलेको समयमा टाढा टाढाका जनतालाई दमौली पुग्न सहज नभएको र बैंकमा घटौं लाइन बस्दा वृद्धावृद्धले झनै दुख पाउने हुदाँ बैंकसँग सहकार्य गरी वडाबाटै वितरणको व्यवस्था मिलाएको बताए । बैंकले नगरपालिकाको ६ र ९ वडामा भत्ता वितरण गर्दै आएको छ ।
.