देवघाटको क्वारेन्टाइनमा २१ जना

Devghat Online

शेयर गरौ

सबैलाई आधारभुत सुविधाको व्यवस्थापन
२२ जेठ, देवघाट
तनहूँको देवघाट गाउँपालिकाले वडा नम्बर ५ को क्युँदी स्थित कालिका माविमा निर्माण गरेको क्वारेन्टाइनमा अहिले २१ जना रहेका छन् । उनीहरु सबै यसै साता भारतबाट आएका हुन् । भारतबाट प्रहरीको समन्वयमा आएका उनीहरुलाई चितवनको नारयणगढबाट गाउँपालिकाले आफ्नै सवारी साधनमा राखेर क्वारेन्टाइनसम्म ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।


सो क्वारेन्टाइनमा ५० जना सम्मको क्षमता रहेको छ । अझै नागरिकहरु थपिने क्रम जारी रहेको र सोही अनुसार व्यवस्थापन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार बुढाथोकीले बताए । क्वारेन्टाइनमा बस्ने सबैलाई गाउँपालिकाको क्षमता अनुसारको व्यवस्थापन गरिएको बुढाथोकीले बताए । एउटा कोठामा ४ जनाको दरले राखिएको र सबैलाई सुत्ने खाटको व्यवस्था गरिएको छ । एक जनाकोलागि दैनिक ३५० रुपैयाँसम्मको खाना र खाजाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक स्वास्थ्य परिक्षण हुने धर्मार्थ अस्पताल देवघाटका प्रमुख हेमनाथ कडेंलले बताए । त्यसकोलागि ३ जना स्वास्थ्यकर्मी पालैपालो खटिएका छन् भने चौबिसै घन्टा सुरक्षाकर्मीले सुरक्षा दिएका छन् ।
तर क्वारेन्टाइनमा बस्नेहरुको अहिलेसम्म स्वाव परिक्षण गरिएको छैन । गाउँपालिकासँग आरडिटी किट समेत नभएको हुँदा आरडिटी परिक्षण समेत गर्न नसकिएको बुढाथोकीले बताए । जिल्ला स्वास्थ्य कार्यालयसँग आरडिटी किट माग गर्दा अव गाउँपालिकाले नै किन्नु पर्ने जवाफ पाएको उनले बताए । क्वारेन्टाइनमा बस्नेहरुलाई तनाव कम गराउन हरेक साँझ नाचगान गराईने कडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू