बाढीले पुल बगाएपछिको असरः पाँच मिनेटको बाटो पार गर्न डेढ घन्टा

Devghat Online

शेयर गरौ

२३ साउन, आवुँखैरेनी
असार अन्तिम साता र साउन पहिलो साता आएको बाढी र पहिरोले तनहूँमा ठुलो क्षती भएको छ । पहिरोमा परि १३ जनाको मृत्यु भयो, एक जना अझै वेपत्ता छन् भने दुई जना घाईते भए । बाढी र पहिराले धेरै भौतीक सम्पत्ती भयो । करोडौंको बाली नाली नष्ट भएको छ । बाढी र पहिरोको असर स्वरुप नागरिकको दैनिकी पनि परिवर्तन पनि भएको छ ।

त्रिशुली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाउँदा तनहँुको आवुखैरेनी गाउँपालिका वडा नम्बर ५ को दोन्द्राङबेसी सहित केही गाउँका बासिन्दालाई पाँच मिनेटमा पार गर्न सकिने बाटो अहिले कम्तीमा डेढ घन्टा लाग्ने भएको छ । उक्त गाउँलाई मुग्लिङ–नारयणगढ सडक खन्डको भरतपुर महानगरपालिका–२९ को सिमलताल स्थित राजमार्गसम्म जोड्ने झोलुङ्गे पुल गत साउन ५ गते आएको बाढीले बगाए पछि नागरिकहरु डेढ घन्टा परको रिग्दी खोलाको पुलबाट वारपार गर्न बाध्य भएका छन् ।

‘हाम्रो गाउँबाट सो पुल हुँदै राजमार्गमा निस्किन पाँच मिनेट लाग्थ्यो’ दोन्द्राङबेसीमा रिर्साेट सन्चालन गर्दै आएका सन्तोष मगरले भने ‘अहिले डेढ घन्टा हिडेर राजमार्गमा निस्कन सकिन्छ ।’ मगरका अनुसार त्यही पनि ठुलो पानी परेको समयमा आवत जावत नै बन्द हुन्छ । ‘नदीको किनारै किनार हुँदै जानु पर्छ’ मगरले भने ‘नदी बढेको समयमा बाटो सबै पानीले पुरिन्छ ।’

सो पुलहुँदै दोन्द्राङबेसीका मात्र करिब दुई सय ५० जना र छिम्केश्वरी, मझुवा, लेस्थर, लाब्दी र भोटेस्वारा गाउँका सयौं नागरिक पनि सोही पुल हुँदै आवत जावत गर्थे । ति सबैको अहिलेको राजमार्गमा निस्कने बाटो परिवर्तन भएको भरतपुर महानगरपालिका–सिमलतालका प्रकाश गुरुङले बताए । ति सबै गाउँबाट मुग्लिङ–नारयणगढ सडकमा निस्कने सबैभन्दा नजिकको पुल नै बाढीले बगाएपछि सबैले बैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको सन्तोष मगरले बताए ।

उक्त पुलको फट्टा बाढीले बगाएर लठ्ठा मात्र बाँकी रहेको अवस्थामा दोन्द्राङबेसीका मानसिक अवस्था कमजोर भएका एक बृद्ध गत साउन १२ गते लठ्ठा समाएर तर्न खोज्दा पुलबाट खसेर वेपत्ता भएको गुरुङले जानकारी दिए । सामान्य व्यक्तिलाई डेढ घन्टा लगाएर हिड्न परेपनि खासै समस्या नहुने तर विरामी र अशक्तहरुलाई भने निकै समस्या भईरहेको सन्तोषले बताए । उनका अनुसार करिब २५ जना विद्यार्थीहरु पनि सोही पुल हुँदै चितवन तर्फ अध्ययन गर्न आउँछन् । अहिले विद्यालय बन्द भएकोले विद्यार्थीलाई खासै समस्या नभएपनि भदौ १ गतेबाट विद्यालय सन्चालन भएपछि भने विद्यार्थीहरु पनि ठुलो मारमा पर्ने उनको भनाई छ ।

विगतमा डुङ्गाबाट वारपार गर्ने नागरिकहरु उक्त स्थानमा तुइन निर्माण भएपछि केही राहत महशुस गरेका थिए । सरकारले तुईन पनि विस्थापित गर्दै झोलुङ्गे पुल बनाएपछि झन सजिलो भएको ठानेको तर अहिले सोही झोलुङ्गे पुल पनि बगाएपछि पुनः डुङ्गा कै भर पर्नु पर्ने अवस्था आएको मगरले जानकारी दिए । डुङ्गा चलाउन पनि नदीमा बाढी आउँदासम्म नसकिने अवस्था छ ।

बाढीले पुल बगाएपछि सोही स्थानमा अर्काे झोलुङ्गे पुल बनाउन माग गर्र्दै दोन्द्राङबेसीका नागरिकले आवुँखैरेनी गाउँपालिकामा निबेदन समेत दिएका छन् । तर गाउँपालिकाले पुल बनाउन नसकिने तर माथिल्लो निकायमा सिफारिस गर्ने जवाफ दिएको मगरले बताए ।

आवुँखैरेनी गाउँ पालिकाका अध्यक्ष गिरबहादुर थापाले झोलुङ्गे पुल बनाउन सक्ने प्राविधिक र बजेट आफुहरुसँग नभएको भन्दै गन्डकी प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयमा सिफारिस गरेको बताए । ‘अहिले हामीसँग पुल बनाउन सक्ने प्राविधिक र बजेट छैन ।’, अध्यक्ष थापाले भने ‘प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयमा सिफारिस लेखेर पठाएको छु ।’

प्रदेश मन्त्रालयबाट मंसिर÷पुस सम्ममा पुल बनाउन सकिन्छ भन्ने आश्वासन पाएको भन्दै मगरले त्यस भन्दा अघि नै पुल बनाउन अनुरोध गर्न संघीय सरकारको भौतीक पुर्वाधार मन्त्रालय अन्तर्गतको पुल शाखामा पनि निबेदन दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू