काठमाडौँ, भदौ २ गते
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५. ५५ बजे निधन भएको उनकी बुहारी विजेता घिमिरेले जानकारी दिईन् । श्वासप्रश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर राष्ट्रकवि घिमिरेको घरमै उपचार गरिएको थियो ।
केही समय अस्पतालको उपचारपछि अहिले उनको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।



दिवंगत घिमिरे लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका थिए । उनले बनारसमा दर्शनमा शास्त्रीसम्मको अध्ययन पूरा गरेर शिक्षण क्षेत्रमा प्राध्यापन गर्रेका थिए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेपछि सदस्यदेखि कुलपतिसम्म पनि बने ।
काव्य लेखनको शुरूवात उनले विसं १९९४ मा ‘नव मंजरी’ कवितासंग्रह तथा विसं २०१३ मा ‘नया नेपाल’ कवितासंग्रह प्रकाशित गरेर गरे । उनकी पत्नी गौरीको देहावसानपछि पत्नी वियोगको वेदनामा शोक काव्यको ‘गौरी’ रचना गरेका थिए ।
महाकवि देवकोटाको मुना मदन पछि बढिपढिने काव्यको रुपमा यो काब्यले स्थान पाएको छ । उनका अरू महत्वपूर्ण काव्यहरूमा राजेश्वरी, राष्ट्र निर्माता, धरती माता, पापिनी आमा , शकुन्तला गीति नाटक, मालती मंगले, गीति नाटक मा विष कन्या, हिमालवारी हिमाल पारी, वाल कुमारी, देवकी आदि रहेका छन् ।
उनको मनको बाँध चलचित्रको एउटै गीत ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा’ कालजयी गीत हो । उनले बालसाहित्यिक क्षेत्रमा वाला लहरी, घामछाया, घामपानी आदि कृतिहरूको योगदान पनि दिएका छन् ।












