१६ भदौ, दमौली
दमौलीमा रहेको जिल्ला स्तरीय अस्पताल दमौली अस्पतालमा पछिल्लो समय उपकरणहरु थप हुँदै गएको छ । पछिल्लो समय दमौली अस्पतालमा विभिन्न उपकरणहरु थपिएको छ । गत साता मात्र संघीय सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कोष मार्फत १० बेडको चार वटा भेन्टिलेटर सहितको आइसियु निर्माणकोलागि दमौली अस्पताललाई दुई करोड रुपैयाँ उपलब्ध गराउने पत्राचार गरेको थियो ।
सो रकमले कोभिड–१९ को विरामीलाई उपचारकोलागि भेन्टिलेटर सहितको आईसियु निर्माण गरिने दमौली अस्पतालका अध्यक्ष प्रदिप अधिकारीले बताए । सोही शिर्षकमा गन्डकी प्रदेश सरकारले दमौली अस्पताललाई चालु आर्थिक वर्षमै एक करोड ६९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर सो रकमले आईसियु र भेन्टिलेटर निर्माणकोलागि अपुग हुने भएपछि त्यसै थाँती राखिएकोमा संघीय सरकारले दुई करोड रुपैयाँ उपलब्ध गराउने भएपछि अव दमौली अस्पतालमा भेन्टिलेटर सहितको आईसियु निर्माणको प्रक्रिया सुरु भएको अध्यक्ष अधिकारीले बताए ।



प्रदेश सरकारले उपलब्ध गराउने एक करोड ६९ लाखले अव बाँकी अन्य उपकरण खरिद गर्ने बारेमा छलफल भईरहेको अधिकारीले बताए । त्यसैगरि हालै दमौली अस्पतालमा दाँतको डिजिटल एक्सरे मेसिन र युनिर्भसल ल्याब्रोटोरी मेसिन पनि प्राप्त भएको उनले जानकारी दिए । सो ल्याब्रोटोरी मेसिन मार्फत बढिमा सात मिनेटमा ल्याव परिक्षणको रिर्पाेटहरु निकाल्न सकिने छ ।
यता गत आर्थिक वर्षमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणकोलागि प्राप्त भएको ५० लाख भने खर्च हुन सकेन । आईसियु र भेन्टिलेटर कक्षको लागि अक्सिजन प्लान्ट अनिवार्य भए पनि गत वर्ष मुल्यांकन प्रतिबेदन तयार गर्न नसकिएको कारण सो रकम फिर्ता भएको अधिकारीले बताए ।
अक्सिजन प्लान्टको मुल्यांकनकोलागि बायोडिकल इन्जिनियर चाहिने र प्रदेश सरकार मातहत एक जना मात्र बायोडिकल इन्जिनियर भएको हुँदा समयमा नै मुल्यांकन गर्न नसकिएको कारण अक्सिजन प्लान्ट निर्माण गर्न नसकिएको अधिकारीले जानकारी दिए । ३५ शैयाको सो अस्पताललाई स्तरबृद्धी गरि चाँडै नै ५० शैयाको बनाउने गरि प्रक्रिया सुरु भईसकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।













