२० भदौ, देवघाट
अहिले विश्व व्यापी महामारीको रुपमा रुप लिएको कोभिड–१९ को कारण हरेक क्षेत्र प्रभावित भए झै हिन्दुहरुको वार्षिक पितृ अर्पण कार्य सोह्र श्राद्ध पनि प्रभापित भएको छ । विगतमा एकै दिनमा चार÷पाँच घरमा पनि श्राद्ध गर्न भ्याउने पुरेतहरु यस पटक श्राद्ध गर्न घर÷घर जान डराईरहेको अवस्था छ र श्राद्ध गर्ने घरका व्यक्तिले पनि पण्डितलाई घरमा बोलाएर श्राद्ध गराउन अप्ठ्यारो मानेको अवस्था छ ।
तर कतिपयले भने श्राद्धको कार्यमा प्रविधिको प्रयोग पनि गरेका छन् । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले भिडियो मार्फत शनिबार पितृको श्राद्ध गरेका छन् । सुवेदीले भरतपुर–११ चितवन निवासी सुवेदीले पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्न कोरोनाको कारण जोखिम भएको कारण भिडियो मार्फत श्राद्ध गरिएको बताए ।



यस अघि हरेक वर्ष पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्दै आएका सुवेदीले घरमै बोलाएर श्राद्ध गर्नु भन्दा भिडियोको माध्यमबाट झन सजिलो भएको बताए । समय पनि चाडै सकिने र अन्य झन्झट पनि नहुने सुवेदीले बताए । भिडियो हेर्दा पण्डित छेउमै बसेको अनुभव गरेको सुवेदीले बताए । भिडियो सन्देशमा पण्डितको निर्देशन अनुसारको सबै विधि पु¥याएर श्राद्ध गर्न निकै सहज भएको सुवेदीले बताए । आफ्ना अन्य दाजुभाई काठमाडौंमा रहेकोमा उनीहरु पनि सोही भिडियोमा जोडिएर श्राद्धको कार्य पुरा गरेको सुवेदीले बताए ।
प्रवधिको उच्चतम प्रयोगले पितृ कार्य सहज भएको र कोरोनाको कुनै पनि जोखिम नभएको उनले बताए । सोह्र श्राद्धको अवधिमा पण्डितहरु कम्तीमा पनि चार÷पाँच घरमा पुगेका हुन्छन् । यसले गर्दा दुबै पक्षलाई जोखिम हुनेहुँदा अहिलेको अवस्थामा भिडियोको प्रयोग नै उपयुक्त भएको सुवेदीको भनाई छ ।
तर भिडियो मार्फत श्राद्ध गर्दा पण्डित र कर्ताको घरमा इन्टरनेटको सुविधा भने हुनु पर्छ । कुशको टुक्रालाई पण्डित मानेर आफ्नै अगाडी राखेर त्यसलाई टिका लगाएर दक्षिणा स्वरुप केही रुपैयाँ चढाउन सकिने र पण्डितलाई पछि भेटघाटको क्रममा या इ सेवा मार्फत पनि दक्षिणा दिन सकिने सुवेदीले बताए ।
दमौलीमा पनि केही पण्डितले भिडियो मार्फत श्राद्ध गराएका छन् । भिडियोेबाट श्राद्ध गराएका ति पण्डितले आफुलाई पनि जोखिम कुम हुने र यो कार्यमा पनि सहज महशुस गरेको बताए ।












