आस्थाका आधारमा कर्मचारीलाई कारवाही हुँदैनः देवघाट क्षेत्र विकास समिति

Devghat Online

शेयर गरौ

२१ भदौ, देवघाट
देवघाट क्षेत्र विकास समितिले आस्थाका आधारमा कुनै पनि कर्मचारीलाई कारवाही नगरेको स्पष्ट पारेको छ । राम्रा कर्मचारीलाई दुरुत्साहन र खराब कर्मचारीलाई प्रोत्साहन भएको छ भन्ने आरोप झुटा भएको भन्दै समितिले समितिको काममा समर्पित कर्मचारीलाई निरन्तर प्रोत्साहन हुने गरेको समितिले जनाएको छ ।

देवघाट क्षेत्र विकास समितिबाट राम्रा कर्मचारीहरुलाई दुरुत्साहन र खराबलाई प्रोत्साहन भएको छ भन्ने भनाई सफेद झुट कुरा भएको भन्दै यति कमजोर नैतिक धरातलमा विद्यमान समिति उभिएको छैन र समर्पित कर्मचारीहरु निरन्तर प्रोत्साहित भइरहेको समितिले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली काङ्ग्रेस देवघाट गाउँ कार्य समितिले गत भदौ १५ गते बुझाएको ज्ञापनपत्रका सम्बन्धमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै समितिले आस्थाका आधारमा समितिका कुनै पनि कर्मचारीलाई कारवाही नगरेको प्रष्ट पारेको हो । समितिले आफ्नो मातहतका कर्मचारीलाई कुनै पनि स्थानमा तहगत जिम्मेबारी दिई कामकाज खटाउन सक्ने जनाईएको छ ।

क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले अनुशासन र कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने कारवाही बेग्लै सन्दर्भ भएपनि आस्थाका आधारमा कारवाही गरेको आफ्नो जानकारी नभएको बताए । समितिका सबै खर्चहरु स्विकृत योजना र कार्यक्रमका आधारमा मात्रै हुने गरेको र सबै आय व्यवहरुको लेखा परिक्षण महालेखा परिक्षकबाट हुने भएकोले आर्थिक ऐन विपरित कुनै काम भएमा कसैले उन्मुक्ति पाउन नसक्ने समितिले स्पष्ट पारेको छ । देवघाट क्षेत्र विकास समिति सुशासनका आधारभूत सूचकहरुमा पूर्ण प्रतिबद्ध रहेको बताउँदै समितिको आर्थिक क्रियाकलापको महालेखा परीक्षकको कार्यालयबाट भएको बेरुजु परीक्षणमा बेरुजु शुन्य रहेको जानकारी गराइएको छ ।

सरकारी भवनमा राजनीतिक मान्छेहरु बस्नै नहुने भन्ने कुरा संकिर्ण सोचाई भएको भन्दै समितिले यसखालका भवनमा राजनीतिक पार्टीका मानिसहरुको उठबस हुनु कसरी निन्दनीय भयो भन्ने प्रश्न समेत गरिएको छ । समितिमा नियुक्त हुने पदाधिकारीहरु नै राजनीतिक वृत्तबाट नै हुने भएकोले उसको आमन्त्रणमा राजनीतिकर्मीहरुको भेटघाटलाई स्वभाविक लिनु पर्ने समितिले प्रष्ट पारेको छ ।
नेपाली काँग्रेस देवघाट गाउँ कार्य समितिले गत भदौ १५ गते देवघाट क्षेत्र विकास समितिलाई ज्ञापनपत्र बुझाई राजनीतिक आस्थाको आधारमा कर्मचारीको भर्ना, सेवा सुविधा तथा बर्खास्तीको हुँदै आएको आरोप लगाएको छ । नेपाली काँग्रेसका सभापती प्रेमबहादुर गुरुङले क्षेत्र विकासको वर्तमान कार्यसमितिको गठन भएयता कर्मचारी व्यवस्थापन गर्दा राम्रा कर्मचारीलाई दुरुत्साह गर्ने र हाम्रा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति लिईएको आरोप लगाए ।

कर्मचारी भर्ना गर्दा विज्ञापन नै नगरि भर्ना गर्ने, अनावश्यक ठाउँमा कर्मचारीको स्थानान्तरण र सेवा सुविधा बढाउने, आफ्ना मान्छे खोजी खोजी नियुक्ती दिने, नियम विपरित बढुवा गर्ने र लकडाउनको समयमा पनि नेपाल सरकारको नीति र नियम विपरित कर्मचारीलाई पुर्वाग्रह किसिमले काममा लगाई सोही अवधिमा बर्खास्त गर्ने आरोप नेपाली काँग्रेसले लगाएको छ ।

निश्चित उद्देश्यले संकलन गरिएको रकम विभिन्न बहानामा प्रोत्साहन भत्ता दिने, विना उद्देश्य विदेश सयर गराउने र बाँदर नियन्त्रण गर्ने नाममा समितिका पदाधिकारीहरु विभिन्न जिल्लाको भ्रमग गरि रकम सक्ने जस्ता कार्य भएको आरोप ज्ञापनपत्रमा लगाईएको छ । देवघाट क्षेत्र विकास समितिको कार्यलयले निर्दिष्ट गरेको कार्य बाहेक कार्यालयमा राजनीतिक नेता तथा कार्यकर्तालाई बोलाई राजनीतिक बहस चलाई पार्टी कार्यालय जस्तो बनाईएको आरोप समेत नेपाली काँग्रेसले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू