१२ असोज, देवघाट
तनहूँको देवघाट गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण कार्य सुरु भएको छ । वडा नम्बर ५ को क्युँदीमा २५ रोपनी क्षेत्रफलको जग्गामा भवन निर्माण सुरु गरिएको छ ।
कुल सात करोड ५० लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागत इस्टमेट रहेपनि टेन्डर प्रक्रिया मार्फत ५ करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँमा निर्माण सुरु भएको वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले बताए ।



दुई वर्षमा सक्ने गरि गाउँपालिकाको प्रशासकीय नयाँ भवन निर्माण कार्य सुरु गरिएपनि अहिले मलमास परेको कारण शिलान्यास कार्यक्रम भने पछि राखिने प्रवक्ता गुरुङले बताए । आफ्नै भवन नहुँदा गाउँपालिका अहिले धर्मशालाको भवनमा भाडामा सञ्चानल हुँदै आएको छ ।
बहुवर्षीय योजनामा रहेको सो भवन निर्माणकोलालगि पहिलो वर्ष गाउँपालिकाले २ करोड र संघ र प्रदेश सरकारले पनि एक÷एक करोड विनियोजन गरेको प्रवक्ता गुरुङले बताए । तिन तले सो भवनको क्षेत्रफल ५ हजार २ सय बर्गफुट रहेको छ । भवन निर्माणको ठेक्का काठमाडौं स्थित रविना÷अविसा जेभीले पाएको छ ।
सो निर्माण कम्पनीले २०७९ असार १८ गते भित्र भवन निर्माण गरिसक्ने सम्झौता गरिएको छ ।












