१९ असोज, दमौली
यस वर्षको दशै र तिहारको समयमा गाउँ÷घरमा जाँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोभिड १९ सँग सम्बन्धित जिल्ला संकट व्यवस्थापन केन्द्र तनहूँको प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले दशैंका बेला घर आउनेका लागि अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन राख्ने निर्णय गरेको हो ।
चाडपर्वमा देश तथा विदेशबाट आवत जावत धेरै हुने र यस्तो आवत जावतले कोभिड संक्रमणको जोखिम बढ्ने भन्दै सबै स्थानीय तहले चाडपर्वमा घरमा आउनेहरुलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टिन राख्ने निर्णय गरेको हो ।



कोभिड १९ को संक्रमणको जोखिम झन बढेको हुँदा सबै स्थानीय तहले एक÷एक वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । साथै नेपाली सेनाको व्यारेकमा राखिएको जनज्योती सेवा ग्राम भानुको एम्बुलेन्स उक्त संस्थालाई नै फिर्ता दिने निर्णय समेत बैठकले गरेको छ ।
यसैगरि सरकारको नीति अनुसार आईशोलेसनमा रहेका संक्रमितहरुलाई रिर्पाेट नेगेटिभ नआउँदै आइशोलेसनबाट बिदा गर्नु परेमा घर परिवारको रोहबरमा स्थानीय जनप्रतिनिधिलाई जिम्मा लगाएर मात्र बिदा गर्नु पर्ने निर्णय समेत गरेको छ ।
सो बैठकमा सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।












