३ कार्तिक, दमौली
चालु आर्थिक वर्षमा देवघाटका दुई सय १२ घरको खरको छाना हटाईने भएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिकाका दुई सय १२ घरधुरीको खरको छाना भएका घरमा जस्ता पाताले छाउनकोलागि रकम उपलब्ध गराईने भएको छ ।
खरको छाना भएको घर असुरक्षित भएको हुँदा सरकारले सबै जिल्लाका खर÷फुसको छानो हटाउन गत आर्थिक वर्षदेखी सुरक्षित नागरिक आवास कार्यक्रम सन्चालन गरेको हो । उक्त कार्यक्रम अन्तर्गत खरको छाना भएको नागरिकलाई जस्ता पाताले छाउनकोलागि प्रति घरधुरी ५० हजार रुपैयाँ उपलब्ध गराईने भएको छ । संघीय सरकारको भएपनि उक्त कार्यक्रम स्थानीय तह मार्फत नै कार्यान्वयन गरिने छ ।



चालु आर्थिक वर्षमा तनहूँ जिल्लाभर एक हजार नौ सय १४ घरधुरीको खरको छानो विस्थापित गरिने भएको छ । जस अन्तर्गत क्षेत्र नम्बर १ मा एक हजार ५० र क्षेत्र नम्बर २ मा आठ सय ६४ घरको खरको छानो हटाईने भएको छ । जस अन्तर्गत देवघाट गाउँपालिकामा दुई सय १२, आवुँखैुरेनी गाउँपालिकामा एक सय ९२, बन्दिपुर गाउँपालिकामा एक सय ९१, भानु नगरपालिकामा दुई सय ३६ र व्यास नगरपालिकामा दुई १९ घरको खरको छाना विस्थापित गरिने छ ।
त्यस्तै क्षेत्र नम्बर २ तर्फ भिमाद नपामा एक सय ७१, शुक्लागन्डकी नपामा एक सय ५१, रिसिङ गाउपालिकामा एक सय ५४, घिरिङ गाउँपालिकामा एक सय ६१, म्याग्दे गाउँपालिकामा एक सय ३२ तथा व्यास नपाका वडा नम्बर ५ र ६ मा ९५ घरधुरीका खरको छाना विस्थापित गरिने भएको छ ।
उक्त कार्यक्रम कार्यान्वयनकोलागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका सांसदको अध्यक्षतामा जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरु रहेको जिल्ला स्तरीय कार्यान्वयन समिति रहने गर्छ । उक्त समितिले नै स्थानीय तहबाट घर संख्या निर्धारण गरि कार्याक्रम कार्यान्वयन गरिने तनहूँ क्षेत्र नम्बर १ का सांसद एवं सुरक्षित नागरिक आवास कार्यक्रमका संयोजक कृष्णकुमार श्रेष्ठ किसानले बताए ।
सो समितिको दुबै निर्वाचन क्षेत्रको बैठक आईतबार जिल्ला समन्वय समितिको समिक्षालयमा सम्पन्न भएको छ । क्षेत्र नम्बर १ का सांसद श्रेष्ठ तथा क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलको अध्यक्षतामा छुट्टा छुट्टै बसेको बैठकले तनहूँ जिल्लालाई नै खरको छाना मुक्त बनाउने अभियान अनुसार उक्त कार्यक्रम प्रभावकारीरुपमा सम्पन्न गर्ने निर्णय गरेको थियो ।
तनहूँमा झै पनि कति घरमा खरको छाना छ भन्ने यकिन तथ्यांक नभएको कारण अहिले निर्धारण गरिएका संख्या अपुग भए फेरी संख्या थप गरि जिल्लालाई नै खरको छानो मुक्त गरि सुरक्षित नागरिक आवास बनाईने तनहूँ क्षेत्र नम्बर १ का सांसद श्रेष्ठले बताउनु भयो । यसकोलागि सबै स्थानीय तहको महत्वपुर्ण सहयोग आवश्यक पर्ने सांसद श्रेष्ठको भनाई छ । यसै कार्यक्रम अन्तर्गत गत वर्ष तनहूँ क्षेत्र नम्बर १ अन्तर्गत व्यास नपा भित्रका एक सय घरमा खरको छानो विस्थापित गरिएको थियो ।












