बत्तिमुनीको अध्याँरो–बाहुनपोखरा, गाँडपानी र पुलिमराङ

Devghat Online

शेयर गरौ

८ मंसिर दमौली 
धेरैलाई लाग्दो हो–नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको जन्मगाउँ र कर्मथलो व्यास नपा–८ को बाहुन पोखरा, गाँडपानी र मुलिमराङमा विकासको काम निकै धेरै भएको छ । नलागोस् पनि कसरी, २०७४ सालको निर्वाचन अघिसम्म केन्द्रीय सत्तामा रामचन्द्र पौडेलकै बोलवाला थियो । सरकारमा प्रधानमन्त्री बाहेक बाँकी सबै पद र पार्टीमा सभापती बाहेक बाँकी सबै पद सम्हालिसकेका पौडेलको जन्मगाउँमा निकै विकास भएको अनुमान तनहँुबासीले मात्र हैन, सम्पुर्ण देशबासीले नै गर्छन् ।

काँग्रेस नेता रामचन्द्र पौडेलले हरेक पटकको भाषणमा भन्ने गर्छन्– ‘गाउँबाट विस्थापित भएको मनलाई गाउँमा नै बसौं बसौं बनाउन म राजनीतिमा लागेको हुँ ।’ तर वास्तविकता त्यस्तो छैन, एक पटक बाहुन पोखरा, गाँडपानी र पुलिमराङ पुग्ने जो कोही अचम्मित हुन्छन् । विकासको अभावमा गाउँका बस्तीहरु रित्ति सकेका छन् । २०४६ सालको परिवर्तन पछि २०७४ सालसम्म निरन्तर सत्ताको हालीमुहाली गरेका पौडेलको गाउँ किन यति पछाडी परेको भन्ने देखेर एक पटक त्यहाँ पुग्ने जो कोही अचम्मित हुन्छन् ।

साविक रिस्ती गाविसमा पर्ने हाल व्यास नपा ८ का उक्त वस्तीहरु तनहूँको कर्णाली भन्दा पनि फरक छैन । हाल सो वडाका अध्यक्ष ओजराज पौडेल उनै बरिष्ठ नेता रामचन्द्र पौडेलका सहोदर भाई हुन् । कहिलेकाँही नगरपालिकाको बोर्ड बैठकमा वडा अध्यक्ष पौडेलले व्यास ८ लाई नगरपालिकाको कर्णाली भन्दै त्यहाँ अरु वडाको भन्दा धेरै बजेट विनियोजन गर्न माग गर्छन् । बैठकका अन्य सहभागीले भने बरिष्ठ नेताको गाउँ अझैसम्म कर्णाली जस्तै छ भने अन्य वडाको हालत के होला भन्दै ठट्टा समेत गर्ने गरेका छन् । कतिसम्म भने साविक रिस्ती गाविस हाल व्यास नपा ८ मा एउटा पनि माध्यमिक विद्यालय समेत छैन ।

वास्तवमा व्यास ८ का सबै वस्ती कर्णाली भन्दा पनि फरक छैनन् । न त्यहाँ खानेपानीको राम्रो सुविधा छ, न सडकको नै । सडक नै विकासको मुल पुर्वाधार हो । जहाँ सडकको राम्रो सुविधा छैन, त्यहाँ विकासका अन्य सम्भावनाहरु हुँदैनन् र सडक सुविधा राम्रो नभएको ठाउँबाट बसाई सराई पनि धेरै हुन्छ । त्यसैकारण बाहुन पोखराबाट बसाई सरेकाहरुको संख्या त्यहाँ बस्ने भन्दा चितवनमा धेरै भईसकेको छ । वडा अध्यक्ष स्वयं बाहुन पोखरा छोडेर चितवन बसाई सरिसकेका थिए, स्थानीय निर्वाचनले मात्र उनलाई पुनः आफ्नो ठाउँमा डोहो¥याएर ल्याएको स्वयं बाहुन पोखराका बासिन्दाहरुले बताउँछन् ।

शनिबार बाहुन पोखरा, गाँडपानी र पुलिमराङ पुगेका प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान र गन्डकी प्रदेश सभाका सांसद रामबहादुर गुरुङसँग स्थानीय बासिन्दाले विकासको मागको पोको नै फुकाएका थिए । बाहनु पोखरा बराहादेवी टोल विकास संस्थाका अध्यक्ष कर्णसिंह गुरुङले आफुहरुको गाउँ बत्तिमुनीको अँध्यारो जस्तै भएको बताए । उनले ‘गाउँमा न सडक राम्रो छ, न विद्यालय राम्रो छ, न खानेपानीको राम्रो सुविधा छ, न आमा समुहको भवन छ, न सामुदायीक भवन नै छ’ भन्दै ति सबै कामको लागि सांसदद्वयसँग अनुरोध गरेका थिए ।

शान्ती बराह मोटर मार्गका पुर्व अध्यक्ष एवं पुर्व शिक्षक शुरेशचन्द्र तिमिल्सेनाले आफुले काँग्रेस नेता रामचन्द्र पौडेलसँग बाटोकोलागि पटक÷पटक कुरा गर्न जाँदा पौडेलले गाउँमा बाटो लैजान धेरै खर्च लाग्छ भन्दै पन्छिएको आरोप लगाए । पछि आफुहरुले जेनतेन कच्ची बाटो खनेको भन्दै तिमिल्सेनाले पौडेलले चाहेको भए उक्त सडक पहिल्यै कालोपत्रे भईसक्ने बताए । यस अघिका निर्वाचनहरुमा रिस्तीको बाहुन पोखरा, पुलिमराङ र गाँडपानी मरेको मान्छेको नाममा पनि काँग्रेसमै भोट हाल्ने ठाउँ रहेको भन्दै उनले तर त्यही काँग्रेसको कारण पछि परेको उक्त गाउँहरु कम्युनिष्ट सरकारले विकास गर्ने बताए ।

शान्ती बराह मोटर मार्ग उपभोक्ता समितिका अध्यक्ष एवं नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता राजु गुरुङले पनि आफुहरु ठुलो रुखको छाँयामा परेको गुनासो गरे । विकास माग्न जाँदा सबैले ठुलो नेताको गाउँ भन्छन् तर कसैले पनि विकास नै गरेनन् भन्दै उनले अव जसरी हुन्छ सडक कालोपत्रे गर्न सांसदद्वयसँग अनुरोध गरे । हिउँदमा जेनतेन गाडी चलेपनि वर्षामा गाडी चल्न नसक्ने भन्दै उनले बाटो कालोपत्रे गर्न धेरै ठाउँमा धाएपनि केही उपलब्धी नभएको बताए । काँग्रेसको गढ भनेर यसठाउँलाई अहिलेसम्म कसैले पनि नहेरेको भन्दै गुरुङले अव गाउँको विकास कम्युनिष्ट पार्टीले गर्छ की भन्ने आशा लागेको बताए ।

पुलिमराङ शहिद बस्ती भएपनि ओझेलमा परेको भन्दै उनले व्यास ८ को मेरुदण्डको रुपमा रहेको उक्त बाटो चाँडै नै कालोपत्रे गर्न प्रतिनिधि सभाका सांसद श्रेष्ठ र प्रदेश सभाका सांसद गुरुङसँग अनुरोध गरे । स्थानीय युवा सन्तोष परियारले अवका जनता सँधै पुर्खाको आस्था हेरेर मात्र भोट हालेर नबस्ने भन्दै जसले विकास गर्छ, त्यही पार्टीलाई जनताले भोट हाल्ने बताए । उनले यस ठाउँलाई रामचन्द्र पौडेलको गाउँ भनेर कसैले नहेर्ने भन्दै अब यहाँका जनताले पनि विकल्प खोज्न सक्ने बताए । विकास नहुँदा गाउँ रित्तो भईसकेको भन्दै उनले बाँकी जनतालाई गाउँमै टिकाउन कम्तीमा पनि सडक कालोपत्रे गर्नु पर्ने बताए । अर्का युवा गणेश गुरुङले पनि बाहुन पोखरा र गाँडपानी बत्तिमुनीको अँध्यारोको रुपमा बस्नु परेको भन्दै अवका जनताले त्यो अँध्यारो चिर्ने बताए ।

गाउँलेहरुको चर्काे गुनासो सुनिसके पछि प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले ‘रामचन्द्र पौडेलले जुत्ता हातमा लिएर खोला तर्ने ठाउँमा कम्युनिष्ट पार्टीले पक्की पुल बनाएर उनलाई हिडाउने’ बताए । पौडेलको घर जाने बाटो कालोपत्रे गरि पौडेललाई हिडाउने आफुहरुको रहर भएको भन्दै सांसद श्रेष्ठले यो काम पनि पुरा गरेरै छाड्ने बताए । सँधै काँग्रेस मात्रै भनेर बस्दा यो गाउँ पछाडी परेको भन्दै उनले अव युवाहरुले बिद्रोह गर्न सक्नु पर्ने बताए ।

पौडेल जस्तो ठुलो नेताको ठाउँ भएको कारण यहाँ विकासको काम धेरै नै भईसक्यो होला भन्दै आफु यस अघि ठुलो भ्रममा परेको भन्दै सांसद श्रेष्ठले अव आफ्नो भ्रम तोडिएको हुँदा अव यस ठाउँमा विकासको लहर ल्याउने बताए । रिस्तीको विकासको जिम्मा लिने भन्दै सांसद श्रेष्ठले कम्युनिष्ट पार्टीले विकासमा काखा र पाखा नगर्ने बताए । सडक र पुल मात्र नभएर आमा समुहको भवन, सामुदायीक भवन र खानेपानीको पनि उचित व्यवस्थापन गरिने सांसद श्रेष्ठले प्रतिबद्धता जनाए ।

त्यस्तै प्रदेश सभा सांसद गुरुङले रामचन्द्र पौडेलको घर जाने ठाउँमा दुई वटा पुल निर्माण भईरहेको बताए । आफुहरु विकासको काममा कुनै पक्षपात नगर्ने भन्दै सांसद गुरुङले सबै ठाउँको समानरुपमा विकास गर्ने बताए । काँग्रेसले २५ वर्षसम्म गर्न नसकेको विकासको काम आफुहरुले ३ वर्षमै गरेर देखाईसकेको सांसद गुरुङको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी