फागुन, २० दमौली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहूँको आयोजनामा बुधबार भानु नगरपालिकामा आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा बोल्दै भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भुमी सम्बन्धि समस्या समाधान गर्ने जिम्मेबारी वर्तमान आयोगलाई प्राप्त भएको बताए ।
भुमी सम्बन्धि समस्या राष्ट्रको महत्वपुर्ण समस्या रहेको भन्दै ज्ञवालीले अव भविष्यमा पटक पटक आयोग नबन्ने गरि अहिले नै सबै समस्या समाधान हुने बताए । विगतमा आयोग गठनमा त्रुटी भएको कारण अहिले सरकारले ऐन निर्माण गरि अधिकार सम्पन्न आयोग बनाएको भन्दै सरकार परिवर्तन भएपनि आयोग विघटन नहुने ज्ञवालीले प्रष्ट पारे ।
भुमी र आवास सम्बन्धि अधिकार संविधानको मौलिक हकमा समेत समावेश भएको भन्दै उनले अव आयन्दा कसैले पनि भुमिहिन भएर बस्नु नपर्ने बताए । वास्तविक भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई रोज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने भन्दै उनले कसैले ढाँटेर र छलेर जग्गा प्राप्ती गर्न खोज्छ भने त्यसलाई कानुनी कारवाही गरिने प्रष्ट पारे । आयोगले नै गर्नु पर्ने यस्तो अन्तरक्रियात्मक कार्यक्रम इन्सेकले आयोजना गरेकोमा अध्यक्ष ज्ञवालीले इन्सेकले इन्सेकलाई धन्यवाद समेत दिए ।




सो कार्यक्रमम भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विगतमा पनि धेरै आयोगहरु बनेको तर भुमी सम्बन्धि समस्या यथावत रहेको भन्दै अव भविष्यमा यस्ता समस्याहरु नदोहोरिने गरि काम गर्नु पर्ने बताए । भानु नगरपालिकामा भुमिहिन, सुकुम्बासी र अव्यवस्थितहरुको समस्या सबैभन्दा ठुलो रहेको हुँदा सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरुले यो समस्या समाधान गर्न भुमिका खेल्नु पर्ने बताए । नगरपालिकाको तर्फबाट आयोगलाई सबैखाले सहयोग गर्ने प्रमुख गौलीले प्रतिबद्धता जनाए ।
भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले अहिले स्थानीय तहमा लगत संकलनको काम भईरहेको भन्दै वास्तविक भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले समयमै निर्धारित स्थानमा आफ्नो विवरण आयोगलाई उपलब्ध गराउनु पर्ने बताए । यो आयोगले जसरी पनि भुमिहिनहरुलाई जग्गा उपलब्ध गराउने भन्दै रानाले सबैले आयोगलाई आफ्नो यथार्थ विवरण उपलब्ध गराएर सहयोग गर्नु पर्ने बताए ।
सो कार्यक्रममा भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुनिल पाण्डेले नगरपालिकामा भएको भुमिहिनहरुको समस्याको बारेमा जानकारी गराएका थिए । नगरपालिकामा सुरक्षित आवास कार्यक्रम अन्तर्गत २ सय ३१ घर निर्माण भएको, जनता आवास कार्यक्रम अन्तर्गत ३५ जना लाभग्राही छनौट भएको र त्यस मध्ये २८ जनाले तेश्रो किस्ता वापतको रकम लिएर आवास निर्माण गरिरहेको पाण्डेले जानकारी दिए ।
मानवअधिकार समुह भानुका संयोजक कृष्णराज धमनीयाको अध्यक्षताा भएको सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर लामाले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले आवासको अधिकारको कार्यक्रमको बारेमा सहजिकरण गरेका थिए । कार्यक्रममा उपस्थित भानु नगरवासीले अहिले भुमि सम्बन्धि समस्या समाधान आयोग मार्फत भईरहेको लगत संकलन कार्य र त्यस सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेका थिए ।












