देवघाट गाउँपालिकाको नीति तथा कार्यक्रमः स्वास्थ्यलाई प्राथमकिता

Devghat Online

शेयर गरौ

९ असार, देवघाट

कृषि तथा पशु पालन पनि गाउँपालिकाको प्राथमिकतामा
देवघाट गाँउपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ मा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने भएको छ । गाउँपालिकाको विहिबार सुरु भएको आठौं गाउँसभा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने बताए । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी संक्रमणले सिर्जना गरेको जनस्वास्थ्यको चुनौतीलाई व्यवस्थापन गर्न सक्ने क्षमताको विकास गर्ने भएको छ ।

कोभिड–१९ को निशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिड–१९ को महामारी तथा यस पछि पनि आउन सक्ने अन्य महामारी विरुद्ध लड्न स्वास्थ्य संस्थाहरुलाई सुदृढ गरिने र महामारीबाट नागरिकको रक्षा गर्न सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने अध्यक्ष थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । देवघाटले अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा औषधी, स्वास्थ्य सामाग्री तथा व्यक्तिगत सुरक्षा सामाग्री सहित उपकरणको उचित व्यवस्था गर्ने जनाएको छ । स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन गाउँपालिका स्वास्थ्य नीति, कानून र मापदण्ड तर्जुमा गरिने, देवघाट स्वास्थ्य चौकीको स्तरवृद्धि गरी १० शैयाको अस्पताल बनाउनको लागि नेपाल सरकारबाट स्वीकृति भई टेण्डर प्रक्रिया मार्फत काम शुरु भईसकेको हुँदा आगामी आर्थिक वर्षमा अस्पताल स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालको सुदृढीकरण गरी श्रोत साधन सम्पन्न बनाइने उल्लखे छ ।

त्यस्तै स्वास्थ्य कार्यक्रम तर्फ प्राथमिक स्वास्थ्य सेवा कार्यक्रम क्षयरोग नियन्त्रण कार्यक्रम, परिवार कल्याण कार्यक्रम, मातृ तथा नवशिशु कार्यक्रम, एकिकृत वाल स्वास्थ्य एवं पोषण कार्यक्रम, महामारी रोग नियन्त्रण कार्यक्रम, अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणाली, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र कार्यक्रम, उपचारात्मक सेवा कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यस्तै क्यान्सर, मुटु, मृगौला आदिको उपचारको लागि विपन्न गरीब बिरामीलाई आर्थिक सहायता दिने नीतिलाई विगतको झै निरन्तरता दिइने जनाईएको छ । सर्ने÷नसर्ने रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि एकिकृत जनस्वास्थ्य प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिने, आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताको लागि अत्यावश्यक औषधी, स्वास्थ्य उपकरण तथा सामाग्री आपूर्तिको व्यवस्था मिलाइने, तथा सामुदायिक वनसँगको सहकार्यमा पूर्ण स्वास्थ्य विमा अनिवार्य गराउने र आर्थिक रुपमा विपन्न वर्गलाई गाउँपालिकाको तर्फबाट विमा शुल्क तिर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

नागरिकहरुको उपचारको लागि विभिन्न अस्पताल र अन्य संघ संस्थासँग समन्वय गरिने, सुनौलो हजार दिन कार्यक्रमको प्रचार प्रसार गर्ने र २० वर्ष पछि मात्र बच्चा जन्माउने मान्यताको अभिमुखिकरण गराइने नीतिलाई निरन्तरता दिइने तथा गर्भवती महिलाको पति, सासु, ससुराको लागि गर्भवती महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिने र प्रत्येक महिनाको १ पटक गर्भवती महिला स्वास्थ्य चौकी आएर स्वास्थ्य परीक्षण गराउँदा एक सय रुपैंया खाजा खर्च दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ र गर्भवती महिलाको घरमा नेपालको झण्डाको व्यवस्था गरिनेछ । देवघाट ३ छिपछिपे स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकी बनाइनेछ । देवघाट क्षेत्र विकास समितिको सभाहलमा नियमित योग÷ध्यान शिविर सञ्चालन गरिने उल्लेख छ । डेंगु, पाठेघर खस्ने जस्ता समस्याको सम्बन्धमा सेवामूलक कार्यक्रम ल्याइने उल्लेख छ । देवघाट–२ खाल्टे, र देवघाट–५ बगन्डीमा सामुदायिक स्वास्थ्य इकाईलाई प्रभावकारी बनाइने उल्लेख छ । पालिकाभित्र संचालन हुने सबै सरकारी तथा निजीअस्पतालहरु ३६५ दिनै खुला राखिने व्यवस्था गरिने जनाईएको छ । देवघाट गाउँपालिका र विश्वनाथ सुशिला धर्मशालाको सहकार्यमा हाल देवघाट गाउँपालिका सञ्चालन भईरहेको भवनमा निकट भविष्यमा आँखा अस्पताल सञ्चालन गरिने उल्लेख गरेको छ ।

पुर्वाधार विकास तर्फ देवघाटले सडक निर्माण मापदण्ड बनाई गुणस्तरीय र हरियाली र सडक निर्माणमा जोड दिइने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । मुक्तिनाथ शालिग्राम कोरिडोर मार्गलाई गौरवशाली मार्गको रुपमा आत्मसात गरी प्रदेश सरकारलाई उक्त मार्ग स्तरोन्नति गर्न माग गरिने बञ्चरे पहाडको ट्रयाक सुधार एवं स्तरोन्नति आगामी वर्ष गरिदिन प्रदेश सरकार र केन्द्रसँग अनुरोध गरिने जनाईएको छ । पालिका भित्रका सबै सडकको प्राथमिकीकरणगरीस्तरोन्नति एवं स्तरवृद्धि गर्दै लगिने तथा भौतिक पूर्वाधारका महत्वपूर्ण ठूला योजनाहरु (भवन, खानेपानी, ढल, सडक, पुल, तटवन्ध जस्ता) सञ्चालनका लागि प्रदेश सरकार, केन्द्र सरकार र दातृ निकायहरुलाई यस्ता योजना कार्यान्वयन गर्न सबै पक्षबाट आ–आफ्नो ठाँउबाट सहयोग प’¥याउन रपारदर्शिता र तोकिएको समयमा तोकिएको गुणस्तर कायम गरी कार्य पुरा गर्न नागरिक अनुगमन गर्नआव्हान गरिने जनाईएको छ । सार्वजनिक जग्गा संरक्षण तर्फ साविक गाविसबाट भएका विभिन्न प्रयास एवं उपलब्धिहरुलाई सार्वजनिक सम्पत्तिको संरक्षण सम्बन्धमा कार्यक्रम समावेश गरीने र वडा कार्यालयबाट सार्वजनिक जग्गा, बाटो संरक्षण गर्ने लगत राख्ने कार्य गरिने जनाईएको छ ।

फोस्रेपानी देवघाट सडक गाउँपालिकाको गौरवको योजनामा राखि खोलिएको ट्रयाकलाई पूरा गर्नका लागि आवश्यक पहल गरिने तथा सिंच्याङ्ग–सार्वाङ्ग सडकलाई क्रमश पुरा गर्दै लगिनेछ र आवश्यक बजेटको लागि संघीय सरकारसँग पहल गरिने उल्लेख गरिएको छ । शुरु भएको अधुरो ट्रयाक पूरा गर्ने बाहेक आगामी आव मा नयाँ ट्रयाक खोल्ने काम नगरिने जनाईएको छ । वडा नम्बर ५ को क्यूदीमा निर्माण कार्य भईरहेको प्रशासकीय भवन निर्माण गर्ने निरन्तरता दिइने तथा गाउँपालिकाको मूख्य प्रवेशद्वार वडा नं. ५ दासढुङ्गामा प्रवेश गेट निर्माण प्रक्रियाको थालनी गरिने भएको छ ।
यसैगरि देवघाट गाउँपालिका वडा नं. ५ धार्मिक क्षेत्रको सम्पूर्ण घरहरुमा रङ्गमा एकरुपता कायम गर्ने नीति ल्याइने भएको छ । वडाहरुमा रहेका आमा समुह, बाल क्लव, युवा क्लव, सामुदायिक वन वा अन्य कुनै संघ संस्थाका भवनहरुलाई सामुदायिक भवनका रुपमा नामाकरण गरी सार्वजनिक उपयोगमा ल्याइनेछ । देवघाट–४ गाईघाट र भरतपुर मनपा. भतेरी चितवन जोड्ने त्रिशुली नदीमा केन्द्र सरकारबाट सम्बोधन भईसकेकोले छिटो सम्पन्नको लागि पहल गरिने र अन्य स्थानहरुमा पक्की पुल निर्माणको लागि पहल गरिने भएको छ । पर्यटन तर्फ पर्यटन गुरुयोजनालाई दातृ निकाय र प्रदेश र केन्द्र सरकार र निजी व्यवसायको साझेदारीमा कार्यान्वयन गरिने भएको छ । देवघाट–५ लाई धार्मिक ग्राम र अन्य वडाहरुलाई सांस्कृतिक ग्रामको रुपमा प्रचार प्रसार गरिने तथा धार्मिक स्थल भएका पालिकाहरुसँग धार्मिक भगिनी सम्बन्ध विस्तार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

गाउँपालिकालाई पर्यटकीय, हरित क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ, पर्यटकीय संभावना बोकेको आश्रमहरु, धामहरु तथा धार्मिक क्षेत्रहरुमा दृश्याबलोकन गर्न महोत्सव, मेला आयोजना गर्ने तथा सम्भावित क्षेत्रहरुमा भ्यूटावर, भ्यू प्वाईन्ट, सामुदायिक वनहरुलाई पर्यटन प्रवर्द्धन, होमस्टे र पिकनिक स्पटका लागि बिभिन्न कार्यक्रम मार्फत सञ्चालन गरिने भएको छ । नदीको किनारमा मोटरबोट सञ्चालन तथा आरामदायी रिर्सोट तथा अन्य सृजनात्मक कार्य गर्नका लागि आवश्यक लगानी भित्र्याईने भएको छ । देवघाट गाउँपालिका अन्तर्गतका वडाहरुमा व्यवस्थित होम–स्टे सञ्चालनका लागि आमा समुहहरुलाई सशक्तीकरण तथा सबै जात जातिको सांस्कृतिकपहिचान झल्किनेगरीप्रवर्द्धनका कार्य गरिने भएको छ ।  देवघाट–५ वेणीसंगममा पालिका स्तरीय धार्मिक पर्यटन मेला गराईने तथा अत्यन्तै रमणीय स्थल घण्टाचुलीमा पर्यटन पूर्वाधारको विकास गरिने उल्लेख छ । छरछरे झरनालाई सामुदायिक वन, प्रदेश सरकार र गा.पा.को संयुक्त लगानीमा पर्यटन विकास गरिने भएको छ ।
त्यसैगरि कृषि तथा पशुपालन तर्फ कोभिड–१९ को संक्रमण र बन्दाबन्दीले आर्थिक मन्दीको अवस्थामा सुधार ल्याउन कृषि तथा पशुपंक्षीको क्षेत्रको उत्पादनलाई प्रोत्साहन गरिने भएको छ । “कृषिका लागि सिंचाई” कार्यक्रम सञ्चालन गरी सुख्खा एवं बाँझो जग्गामा कृषिलाई प्रोत्साहन गरी कृषि उत्पादन र उत्पादकत्व बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषि जमिन बाँझो रहन नदिने विगत वर्षको नीतिलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयन गरिने भएको छ । एक वडा एक नमूना गाउँ कार्यक्रम सञ्चालन गरिने र आवश्यकता अनुसार पशु स्वास्थ्य शिविर र माटो जाँच शिविर सञ्चालन गरिने भएको छ ।

चालु आर्थिक वर्षको बाख्रा पालन पकेट क्षेत्रलाई प्रभावकारी बनाई सम्भाव्यताको आधारमा थप बाख्रा पालन पकेट क्षेत्र बनाइने तथा गाउँपालिकालाई नै बाख्रा पकेट क्षेत्रमय बनाइने भएको छ । कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न एक गाउँ एक उत्पादन तथा कृषि पकेट क्षेत्रको विकास गर्ने नीति लिइने भएको छ । त्यस्तै गरिब तथा बिपन्न किसानहरूका लागि उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिने, कृषि सहकारी मार्फत सामुहिक खेती, प्रांगारिक खाद्य उत्पादन, करेसाबारीप्रवर्द्धनलाई प्रोत्साहन गरिने, कृषि, पशु, जस्ता कार्यक्रमहरु पोषण, सरसफाई, सुधारिएको जिबिकोपार्जनआदिसँग आबद्ध गरी स्थानीय गरिबी निवारण, स्वस्थ प्रवर्द्धन सँग जोडिने, हानिकारक कीटनाशक औषधीको अत्याधिक प्रयोग गरी कृषि उत्पादन गरिने वर्तमान प्रवृतिलाई निरुत्साहित गरी यसका लागि समूहमा अर्गानिक खेति गर्ने किसान समूह, सहकारीलाई जैविक मल बनाउने तालिम, विउमा अनुदान एवं अर्गानिक उत्पादनको पहिचान सहित बजारीकरणमा सहयोग गरी चालु आ.व. को नीतिलाई आगामी आव मा पनि निरन्तरता दिइने उल्लेख छ ।

“हाम्रो देवघाट, समृद्ध देवघाट” नारालाई सफल बनाउ हेफर नेपाल र गाउँपालिकाको आर्थिक सहयोग र समृद्धि नेपालको आयोजनामा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रमलाई निरन्तरता गरिने भएको छ । वडा नम्बर १ कोटा र वडा नम्बर ५ को वसपार्क छेउमा कृषि तथा पशु हाट–बजारलाई निरन्तर रुपमा सञ्चालन गरिने, किसानको लागत मूल्य प्राप्तिको सुनिश्चितताको लागि बाली तथा पशुपंक्षी बीमामा सहजीकरण गर्दै अभियानको रुपमा अगाडि बढाइने, कृषि क्षेत्रको उत्पादन लागत कम गर्ने अन्य उपाय तथा प्रविधिको अध्ययन गरी सोही अनुसार सहयोग गरिने, एकिकृत कृषि विकास कार्यक्रम” अन्तर्गत सिंचाई, मल, बीऊ, किटनाशक औषधी पूँजी, प्रविधि, उत्पादित वस्तुको भण्डारण र प्रशोधन र बजारलाई सँगसँगै अगाडि बढाउन अध्ययन, अनुसन्धान, सहयोग र समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पशुपंक्षी अनुसन्धान केन्द्र वडा नम्बर १ को कोटा र कृषि अनुसन्धान केन्द्र कोटवैदी देवघाट–२ लाई निरन्तर सञ्चालन गरिने, उत्पादन अत्याधिक वृद्धि गर्नको लागि मलखाद व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने, पायक पर्ने स्थानमा व्यवसायिक कृषकहरुको उत्पादनमा स्वस्थ प्रतिस्पर्धाको लागि कृषि, मेला÷महोत्सव÷प्रतियोगिताहरु सञ्चालन गरिने, खाडल खन्ने र मल राख्ने काम गर्ने कृषकलाई सुन्तला लगायतका फलफूलका विरुवा निःशुल्क उपलब्ध गराईने कार्यक्रमलाई निरन्तरता गरिने, प्रदेशसँग समन्वय गरी कृषि वाली तथा पशुपंक्षीको वीमामा अनुदान उपलब्ध गराइने, २०७८ मंसिर अन्तिम हप्तामा वडा नम्बर २ को कोटवैदीमा कृषि मेला सञ्चालन कार्यक्रमलाई निरन्तरता गरिने तथा वडा नम्बर १ को कोटामा पशु विकास फाममा प्राङ्गारीक खेती भान्सा नै औषधालय नमूना कार्यक्रम सञ्चालन गरिने र कृषक दर्ता गरी कृषक परिचय पत्र वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरि महामारीबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न व्यक्तिलाई लकडाउनको अवधिमा रोजगारी राहत उपलब्ध गराइने, अल्पसंख्यक, अती गरीव, एकल महिला र पिछडावर्गहरुको लगत संकलन गरी र गरिबी निवारणको कार्यक्रमहरु सञ्चालन गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाई रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी “श्रमको सम्मान, देवघाट गाउँपालिकाको अभियान” कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिने, रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम एक सय दिन रोजगारी प्रत्याभूत गरिने र कामका लागि पारिश्रमिक मार्फत गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान गर्ने नीति अवलम्बन गरिने भएको छ । प्रधानमन्त्री रोजगार नीति तथा कार्यक्रमलाई निरन्तरता र थप प्रभावकारी बनाइने, नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको र उक्त हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ जारी भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको अवस्थामा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी श्रमको सम्मान देवघाट गाउँपालिकाको अभियान कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिने, देवघाट गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई आगामी आ.व.मा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूत गरिनेछ । बैदेशिक रोजगारमा रहेका युवाहरुलाई आकर्षित गर्न संघीय तथा प्रदेश सरकारका कार्यक्रमसँग तालमेल गरी सीपमूलक अनुदानप्राप्तगरीव्यवसाय संचालन गर्ने प्रोत्साहन गरिनेछभनेन्यूनतम रोजगारी सुनिश्चित गर्न व्यवसायिक कृषि, सिंचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी एकिकृत रुपमा थप आन्तरिक रोजगारी सिर्जना गरिनेछ ।

देवघाट गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरु मध्ये प्राथमिकताको आधारमा दलित, महिला, जनआन्दोलन तथा सशस्त्र संघर्षका शहीद, द्वन्द पिडित तथा घाइते परिवार र अपाङ्गता भएका व्यक्तिका लागि सरोकारवाला संघ संस्थासँगको सहकार्यमा रोजगार तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ । कामका लागि पारिश्रमिक मार्फत गरीवी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान नीति अवलम्बन गरिनेछ । लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना उद्यमीको स्तरोन्नति र एडभान्स सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिनेछ । सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्नका लागि समूहमा प्रविधि हस्तान्तरण गरिनेछ । शिक्षा तर्फ कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण अवरुद्ध भएको शैक्षिक क्रियाकलापहरुलाई नियमित सरसफाई, हात धुने व्यवस्था, तापक्रम नाप्ने आदि सुरक्षित हिसाबले निरन्तरता दिइनेछ । एक वडा एक मातृ विद्यालय कार्यक्रमलाई निरन्तरता दिइनेछ । भुकम्प तथा अन्यजोखिम रहित विद्यालयको भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ । सूचना प्रविधिमा आधारित पाठ्य सामाग्री विकासको लागि अध्ययन गरी उपयुक्त हुने प्रविधिको विकास गरिनेछ । विद्यालयमा स्वास्थ्यमूलक सचेतना सामाग्री पु¥याइने छ । प्रत्येक विद्यालयमा अभिभावक शिक्षा सम्बन्धी अभिमुखिकरण तालिम दिने, अनिवार्य अतिरिक्त कृयाकलाप, प्रत्येक महिनाको अन्तिम दिन समिक्षा वैठक गर्ने,सुझाव पेटिका अनिवार्य राख्ने, विद्यालयमा अनिवार्य रुपमा गुनासो तथा सूचना अधिकारीको व्यवस्था गर्दै जाने गत वर्ष लिईएको नीतिलाई निरन्तरता दिईनेछ ।

जेहेन्दार तथा गरीब विद्यार्थीहरुका लागि विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी विद्यार्थीहरुलाई पोशाक र छात्रवृत्तिको व्यवस्था गरिनेछ । सम्पूर्ण मा.वि.तहमा अनिवार्य विज्ञान प्रयोग शाला, कम्प्युटर कक्ष हुनु पर्ने र कक्षा ६, ७ र ८ मा आवश्यकता अनुसार राखिने नीतिलाई निरन्तरता दिइनेछ । प्रत्येक विद्यालयलाईई–नमूना आचारसंहिता बनाई कार्यान्वयनमा ल्याइनेछ ।कालिका मा.वि.लाई व्यवसायिक शिक्षा सञ्चालनका लागि अध्ययन अनुदानको व्यवस्था गरिनेछ । प्रत्येक विद्यालयमा विद्यालय क्षेत्र सुरक्षित गर्ने, क्यान्टिनको व्यवस्था गर्ने, जङ्कफुड सुर्तिजन्य तथा मदिरा निषेध गर्ने व्यवस्था गरिनेछ । विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गर्ने नीति लिइनेछ ।

एसईई उत्तीर्ण अल्पसंख्यक र दलित समुदायका जेहेन्दार एउटा छात्र र एउटा छात्रा गरी २ जनालाई गाउँपालिकाबाट प्राविधिक विषयमा १८ महिने निशुल्क शिक्षा दिने व्यवस्थालाई निरन्तरता गरिनेछ । विद्यालयहरु वाल विवाह न्यूनीकरण, दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने छ विद्यालयलाई छात्रामैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री, वालमैत्री बनाउने क्रियाकलाप संचालन गर्ने नीति लिइनेछ । सबै विद्यालयमा अनिवार्य रुपमा सफाखानेपानी तथा महिला, बालबालिकाका तथा भिन्न क्षमता भएकाहरुका लागि उपयुक्त हुने गरीपानीसहितको पक्कि शौचालयको व्यवस्था र महिला शौचालयमा अनिवार्य रुपमानिशुल्क सेनेटरी प्याडको व्यवस्था गरिनेछ ।

वाल विकास केन्द्रलाई सुधार गर्न उचित व्यवस्थापन गरिनेछ । विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रममा जोड दिइनेछ । गाउँपालिकास्तरीय शिक्षा समिति तथा वडा शिक्षा समितिबाटर वडा जनप्रतिनिधिबाट तथा विद्यालय व्यवस्थापन समितिबाट निरन्तर अनुगमनको व्यवस्था गरिनेछ । शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक सामाग्री, विज्ञान प्रयोगशाला, खेलकुद जस्ता विषयमा सहयोग पु¥याइनेछ । विद्यालयमा खेलकुद, संगित, नृत्य, साहित्य, चित्रकला, कम्प्युटर आदि कक्षा सञ्चालनका लागि सहजिकरण गरिनेछ । गाउँपालिकाभित्रको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने १ छात्र र १ छात्रालाई थप सम्मान, मेडल र नगद पुरस्कार दिइनेछ भने संस्कृत गुरुकुलमका विद्यार्थीहरुलाई छुट्टै सम्मान पत्रको व्यवस्था गरिनेछ । सम्पूर्ण विद्यार्थीहरुलाई आई डि कार्डको व्यवस्था गरिनेछ ।
सामुदायिक सिकाई केन्द्रलाई प्रभावकारी बनाइनेछ । विद्यालय तहमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिनेछ । एकल जातिय बसोबास भएका गा.पा. भित्रका स्थानहरुमा रहेका विद्यालयहरुको कम्तिमा कक्षा १–३ मा मातृभाषाको पाठ्यक्रममा अध्ययन अध्यापन गर्न व्यवस्था मिलाईनेछ । प्रत्येक विद्यालयहरुमा चर्चित साहित्यकार, राष्ट्रिय व्यक्तित्वहरुद्वारा समय समयमा विद्यार्थीहरुलाई प्रवचन दिन आवश्यक व्यवस्था मिलाइनेछ । शैक्षिक सत्रको शुरुवातमा शिक्षकहरुलाई रिफ्रेसमेन्ट तालिमको लागि व्यवस्थापन गरिनेछ । विद्यालयका शिक्षकहरुलाई आन्तरिक मूल्यांकन गरी उत्कृष्ट शिक्षकलाई प्रोत्साहन स्वरुप सम्मानको व्यवस्था गरिनेछ । प्रत्येक विद्यालयद्वारा कम्तिमा महिनाको एक पटक विद्यार्थी र अभिभावकबीच भेटघाट तथा छलफलको व्यवस्था गरिनेछ ।

त्यसैगरि सरसफाई तर्फ आ.व. २०७६÷०७७ भित्र पूर्ण सरसफाई घोषणा गर्ने गरीपूर्ण सरसफाईका विभिन्न कार्यक्रमहरु संचालन गर्ने गत वर्षको नीति अनुसार गाउँपालिकाको ५ वटै वडा पूर्ण सरसफाई उन्मुख वडा घोषणा भईसकेकोमा कोभिड–१९ को महामारी र त्यसलाई नियन्त्रण तथा रोकथाम गर्न भएको लकडाउनका कारण यस आ.व. मा घोषणा हुन नसकेकोले आगामी आ.व. भित्र घोषणा गरिनेछ । व्यक्तिगत, घरायसी, तथा वातावरणीय सरसफाईमा थप जोड दिदै पूर्ण सरसफाई उन्मुख गाउँपालिका कार्यक्रमलाई निरन्तरता दिइनेछ । फोहरमैला व्यवस्थापन क्षमता विकास गरी महामारी न्यूनीकरणको निम्ति सहयोग पुग्ने गरी कार्य गरिनेछ । वडा नम्बर ५ को लागि चक्रवर्ती सामुदायिक वनमा ल्याण्ड फिल्डको व्यवस्थापन गरिएकोले चक्रवर्ती सामुदायिक वन प्रवर्द्धनको लागि अनुदानको व्यवस्था गरिनेछ । देवघाट –१ मा ल्याण्ड फिल्डको व्यवस्था गरिनेछ ।

त्यसैगरि खानेपानी तर्फ साबुन पानीले हात धुने अभियानलाई निरन्तरता दिइनेछ । खानेपानी तथा सरसफाईको आपूर्तिमा सहजता ल्याई जनस्वास्थ्य अवस्थामा सुधार ल्याइनेछ । प्रदेश सरकार, केन्द्र सरकार, युनिसेफ लगायत अन्य दातृ निकाय र उपभोक्ता समितिको सहलगानीमा सबै खानेपानी योजनाहरूमा सुरक्षित खानेपानीको योजना लागू गरिनेछ । “एक घर एक धारा” सुरक्षित खानेपानी हाम्रो अभियानलाई प्राथमिकता दिइनेछ । प्रदेश सरकार, केन्द्र सरकार, युनिसेफ लगायत अन्य दातृ निकाय र उपभोक्ता समितिको सहलगानीमा सबै खानेपानी योजनाहरूमा सुरक्षित खानेपानीको योजना लागूगरिनेछ । “एक घर एक धारा” सुरक्षित खानेपानी हाम्रो अभियानलाई प्राथमिकता दिइनेछ ।
त्यसैगरि लक्षित वर्ग तर्फ विपन्न तथा आर्थिक, सामाजिक रुपमा पछाडि परेका वर्गहरुलाई गाउँपालिका स्तरीय सञ्जाल, वडा स्तरीय सञ्जाल गठन गरिएको छ, जसको सहकार्यमा आर्थिक, सामाजिक विकासका कार्यक्रम कार्यान्वयनमा ल्याइने नीतिलाई निरन्तरना दिइनेछ । संघ र प्रदेशसँग समन्वय गरी गरिव परिचय पत्र वितरण गरिनेछ । त्यस्तै आदिवासी जनजाति दलित र अल्पसंख्यक तर्फ रोजगार कार्यक्रम मार्फत आदिवासी जनजाति वर्गहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न सशक्तिकरण कार्यक्रम र आय आर्जनका लागि विभिन्न सिपमूलक कार्यक्रम, संस्कृति संरक्षणका कार्यक्रमहरु ल्याइनेछ । दलित, आदिवासी जनजाती, अल्पसंख्यक जातिहरु पछाडि पर्नुको प्रमुख कारण मदिरा नै भएकोले मदिरा व्यवस्थापन कार्यक्रमलाई एकीकृत रुपमा प्रभावकारी ढंगले निरन्तरता दिइनेछ । आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग एवं महिलाहरुलाई सहयोग प’¥याउने कार्यक्रम सञ्चालन गरीने छ । वडा नम्बर ४ को कर्तापमा जनजाति संग्रहालयको प्रक्रिया अघी बढाउन प्रदेश सरकारसँग पहल गरिनेछ ।

त्यस्तै महिला तथा वालवालिका तर्फ गाउँपालिकाको लैंगिक हिंसा निवारण कोष सञ्चालन गरिनेछ । नेपाल सरकारले संचालन ल्याएको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमसँग समन्वय गरी लैंगिक समानता,महिला हिंसा नियन्त्रण तथा न्यूनिकरण एवं सामाजिक समाबेशीकरणसँग सम्बन्धित कार्यक्रम संचालन गर्न जोड दिइनेछ । विभिन्न संघ संस्थाको सहकार्यमा तथा रोजगारी कार्यक्रम मार्फत महिलाहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न सशक्तिकरण कार्यक्रम र आय आर्जनका लागि विभिन्न सीपमूलक कार्यक्रम ल्याइनेछ र महिला उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ । आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग एवं महिलाहरुलाई सहयोग प्ु¥याउने कार्यक्रम सञ्चालन गरिनेछ । नेपाल सरकार मार्फत जारी भएको बालमैत्री स्थानीय शासन कार्यविधीअनुरुप बालमैत्री वडा घोषणा, बालमैत्री गाउँपालिका निर्माणमा यूनिसेफ नेपाल लगायतका दातृ निकाय र सहयोगी संस्थाहरुसँग समन्वय र छलफलगरी कार्यक्रमहरु संचालन गरिने नीतिलाई निरन्तरता दिइनेछ । सार्वजनिकस्थानमा बालबालिकाको लागि बालउद्यानको निर्माण गरी बालबालिकाहरुलाई मनोरञ्जन स्थलको विकासगर्न आवश्यक अध्ययन एवं पहल गरिनेछ । सुनौलो एक हजार दिन कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । महिला उद्यमी भेला सञ्चालन गरी समिति गठन तथा आवश्यक सहजिकरण गरिनेछ ।

अपाङ्ग वर्ग तर्फ अपाङ्गता भएका व्यक्तिहरुको दिगो आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु संचालनमा ल्याइनेछ । अपाङ्गता परिचय पत्र वितरण कार्यलाई भरपर्दो र विश्वसनीय बनाइनेछ । सार्वजनिक भवन तथा भौतिक विकासमा अपाङ्गमैत्री पूर्वाधारलाई महत्व दिइनेछ । व्यवसाय गरेका अपाङ्गहरुलाई सहुलियत ऋणको व्यवस्था गरिनेछ । उपचार हुने अपाङ्गहरुलाई स्वास्थ्य संस्थासँग समन्वय गरी उपचारको प्रबन्ध गरिनेछ । आर्थिक अवस्था कमजोर, अति अशक्तलाई सामाजिक सुरक्षाको कार्यक्रम ल्याइनेछ । जेष्ठ नागरिक कार्यक्रम तर्फ ६० बर्ष पुगेका दलित जेष्ठ नागरिक तथा ७० बर्ष पुगेका अन्य जेष्ठ नागरिकको बिवरण अद्यावधिक गरी सहज तरिकाले समयमा नै सामाजिक सुरक्षा भत्ता बितरण गरिनेछ । जेष्ठ नागरिकको लागि सार्बजनीक स्थानमा बस्नको लागि बिश्राम स्थल निर्माण तथा मर्मतको ब्यवस्था गरीनुका साथै उक्त स्थानहरूमा आवश्यक अन्य सुबिधा र समय समयमा स्वास्थ जाच गराउनेव्यवस्थागरिनेछ । गाउँपालिका क्षेत्र भित्र रहेको जेष्ठनागरिकहरुलाई विभिन्न निकायसँग सहकार्य गरी बिशेष कार्यक्रम मार्फत सम्मान गरिनेछ । ज्येष्ठ नागरिकहरुका लागि ज्येष्ठ नागरिक परिचय–पत्रको व्यवस्था गरिएकोमा त्यसलाई अझ प्रभावकारी बनाईनेछ ।

भाषा संस्कृति संरक्षणको लागि विभिन्न रचनात्मक कार्यक्रम गरिनेछ र वडा नम्बर ४ को कर्तापमा जनजाती संग्राहालय निर्माण गरिनेछ, भाषासंरक्षणका लागि भाषा आयोगसँग समन्वय गरिनेछ । गाउँपालिकामा खेलकुदको संस्थागत विकास गर्न आवश्यक कानूनको तर्जुमा गरिनेछ । युवाहरुसँग समन्वय गरी विभिन्न खेलकुद एवं खेलकुदसँग सम्बन्धित क्रियाकलापहरु सञ्चालन गरिनेछ । वडा नम्बर १ को कोटालाई गाउँपालिका स्तरीय खेलग्रामको रुपमा निरन्तरता दिइनेछ । अन्य वडामा खेलमैदान निर्माण कार्यलाई निरन्तरता गरिनेछ । गाउँपालिकाका यूवा शक्तिहरुलाई आफ्नै भूमिमा बसी योगदान गर्न सक्ने वातावरण तयार गर्न विभिन्न व्यवसाय, रोजगारी सृजना गर्ने तालिम, शिक्षा लगायतका कार्यक्रम विभिन्न स्तरमा अघि वढाईने गत वर्ष लिईएको नीतिलाई निरन्तरता दिईनेछ ।
सामाजिक विकृतिमा फसेका युवाशक्तिहरुलाई लागू औषध दुर्व्यसनी न्यूनीकरण कार्यक्रम लागू गरिनेछ । वडा नम्ब्र २ को खाल्टे र वडा नम्बर ५को भर्जनखोलामा वडा स्तरीय खेल मैदान निर्माण गर्न प्रदेश सरकारसँग सहकार्य गरिनेछ । युवा स्वउद्यमी कार्यक्रमतर्फ सिप, युवा स्वरोजगार उद्योग विकास कोष स्थापना गरी उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमलाई आगामी वर्ष थप प्रभावकारी बनाइनेछ र युवाहरुलाई सहुलियत ऋणको व्यवस्था गरिएको छ, यसलाई आगामी आ.व. मा पनि निरन्तरता दिइनेछ । वडा नम्बर ५ घिनाटारमा मधु कवर्ड हल निर्माण कार्यलाई निरन्तरता गरिनेछ । एक टोल एक खेल मैदानको व्यवस्था गरिनेछ ।

त्यस्तै विकासको साझेदारको रुपमा निजी क्षेत्र तथा गैरसरकारी संघसंस्थाहरुलाई समन्वयात्मक रुपमा कार्यक्रमहरु संचालन गर्ने नीति लिइनेछ । साथै उपयुक्त कार्यक्रममा गाउँपालिकाबाट लागत साझेदारी हुनेछ । कुनै पनि गैससले गाउँपालिका क्षेत्रभित्र कार्यक्रम संचालन गर्नु भन्दा पहिले नै गाउँकार्यपालिका वाट अनुमति लिनुपर्ने नीतिलाई निरन्तरता दिइनेछ । अन्य संघ संस्थाहरुवाट प्राप्त प्रस्तावित कार्ययोजना तथा कार्यक्रमहरुलाई आवश्यकता भएबमोजिम समन्वयात्मक रुपमा अगाडि वढाइनेछ । संघ संस्था दर्ता नियमावली तर्जुमा भएकोले सोही अनुसार दर्ता गरिनेछ । गैरसरकारी संघ–संस्थाको उचित परिचालन गर्न कार्यविधि तर्जुमा गरिनेछ । गा.पा.भित्रका शिक्षक, पूर्वशिक्षक, कर्मचारी, बुद्धिजिवी तथा लब्धप्रतिष्ठित व्यक्तिहरुको संलग्नता रहने गरी एक “देवघाट गाउँपालिका प्रज्ञा प्रतिष्ठान” गठन गर्ने, सो मार्फत प्राप्त सुझावहरु नीति, कार्यक्रममा समावेश गरिनेछ ।

जन–अपेक्षा तथा आवश्यकता भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको श्रोत साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावना लगायतका दृष्टिकोणले महत्वपूर्ण मानिएका तपसिल अनुसारका योजनाहरुलाई गाउँपालिका गौरवका योजनाको रुपमा लिइएको छ । जसलाई उपलब्ध श्रोत साधनको आधारमा बहुवर्षिय योजनाको रुपमा क्रमशः श्रोत साधनको व्यवस्था गरी सम्पन्न गरिनेछ । वडा नम्बर १ को पशु पंक्षी विकास फर्म, कोटा रङ्गशाला, छरछरे झरना तथा पर्यटन विकास, वडा नम्बर २ को खाल्टे रङ्गशाला, खाल्टे पार्क तथा वाल उद्यान घण्टाचुली भ्यू टावर पर्यटकीय स्थल कोटवैदी कृषि अनुसन्धान केन्द्र, खाल्टे–मास्दीघाट सडक, वडा नम्बर ३ को सुन्तला मार्ग, वडा नम्बर ४ को जनजाती संग्राहालय, ऐतिहासिक प्याउली गढी, ऐतिहासिक सिंच्याङ्गगढी, देवघाट–साउने, कर्ताप सडक, गाईघाट, काफलडाँडा छिपछिपे सानुभञ्ज्याङ्ग सडक, वडा नम्बर ५ को देवघाट एकिकृत योजना, देवघाट गाउँपालिका अस्पताल, बाख्रा पकेट क्षेत्र तथा सुन्तला, तरकारी, गाई पकेट क्षेत्र, सिंच्याङ्ग पार्लाङ्ग–साराङ्गघाट सोमेश्वर मार्ग, खानेपानी योजना, गाउँपालिका प्रशासकीय भवन, वडा नं. १ र ५ को वडा कार्यालय भवन र कोटा, चण्डुली, जामुने मोटर मार्गलाई गाउँपालिकाको गौरबको योजनाको रुपमा छनौट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी