देवघाट अनलाइन
आवुँखैरेनी, चैत १०
तनहुँको आवुँखैरेनी गाउँपालिका–४ को आमडाँडा, खस्राङ, दुवा, बेलडाँडा लगायतका गाउँमा मोटरबाटो नपुग्दा स्थानीय बासिन्दालाई सास्ती भएको छ । पृथ्वीराजमार्गको छेउमा गाउँ कार्यपालिकाको कार्यालय रहेपनि वडा नम्बर ४ को केही गाउँहरुमा भने मोटरबाटो नपुग्दा जनताले अझैपनि दुई घन्टाबढि समय लगाएर बजार क्षेत्रमा झर्नु पर्ने बाध्यता छ ।
गाउँमा मोटरबाटो नपुग्दा बृद्धबृद्धा, बालबालिका, सुत्केरी तथा अन्य बिरामीलाई अस्पतालसम्म पुग्न समस्या पर्दै आएको छ । केही दिन अघि आमडाँडाकी हिरा गुरुङलाई सुत्केरी ब्यथाले च्यापेपछि उनलाई अस्पताल लैजान निकै समस्या प¥यो । गाउँलेहरुले डोलीमा चढाएर दुई घन्टा बढि लगाएर मुग्लिङ–नारयणगढ सडक खन्डको पाँच किलो सम्म ल्याएर त्यहाँबाट गाडीमा चढाएर आवुँखैरेनी अस्पताल लगे ।



हिरा गुरुङ मात्र हैन, उक्त गाउँका सबै सुत्केरी, गम्भिर बिरामी र बृद्धबृद्धालाई अस्पताल लैजान यस्तै डोलीमा चढाएर लैजानु पर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका–४ का वडा सदस्य प्रेमबहादुर गुरुङले बताए । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न दुई घण्टासम पैदल हिँड्नु पर्ने वडा सदस्य गुरुङ बताउँछन् । ‘गाउँसम्म पुग्ने मोटरबाटो नपुग्दा सुत्केरी मात्रै नभई अन्य गम्भिर विरामी र बृद्धबृद्धालाई सँधै यसरी नै ल्याउनु पर्ने बाध्यता छ ।’ गुरुङले भने, ‘डोलीमा चढाएर लैजानुको विकल्प छैन ।’

अरु बेला पनि यहाँका स्थानीय यही पुल तरेर पैदल नै गाउँ आउँजाउ जाने गर्दछन् । ‘बजारमा किनमेल गर्न जान परेपनि समस्या उहीँ हो, पाँचकिलो झरेर मुग्लिन, चितवन वा आँबुखैरेनी जानुपर्छ’,–गुरुङले भने, ‘यो गाउँका बारेमा सबैलाई जानकारी भए पनि अहिलेसम्म प्राथमिकतामा परेको छैन ।’
पहिला सुत्केरी तथा विरामी हुँदा चितवनको भरतपुर अस्पताल लैजाने गरेको भएपनि अहिले भने आवुँखैरेनीमा अस्पताल सन्चालन गरेपछि उक्त अस्पतालमा लैजाने गरिएको वडा सदस्य गुरुङले बताए । सुत्केरी भएपछि हिरालाई पुनः त्यसरी नै बोकेर घर पु¥याइएको थियो । मोटरबाटोको पहुँच नपुगेको गाउँमा मोटरबाटोको पहुँच पु¥याउनु आफुले गाउँ सभामा पटक पटक आवाज उठाएपनि सुनुवाई नभएको वडा सदस्य गुरुङले बताए ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उक्त गाउँमा जानको लागि पुलजीपतर्फबाट बाटो खोलिएको भएपनि बाटो गुणस्तरीय नहुँदा सवारी साधन सन्चालन हुन नसकेको बताए । कच्चीबाटोबाट आउन भन्दा मुग्लिङ–नारयणगढ सडकको पाँचकिलो सम्म जान छिटो हुने भएकोले गाउँलेहरु उक्तबाटो नै प्रयोग गर्ने अध्यक्ष चुमानले बताए । त्रिशुली नदीमा पक्की पुल नबन्दासम्म पाँचकिलोबाट उक्त गाउँमा मोटरबाटो पु¥याउन नसकिने अध्यक्ष चुमानको भनाई छ ।












