देवघाट अनलाइन
दमौली, बैशाख ५
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अवसरबादीहरुले पार्टी छाडेमात्र नेपाली काँग्रेस सुध्रिने र सच्चिने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा मंगलबार दमौलीमा आयोजना गरेको तनहुँ क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै खनालले विपी कोईरालाको उदाहरण दिँदै अवसरबादीहरुले पार्टी छाडेमात्रै नेपाली काँग्रेस सुध्रिने बताएका हुन् ।
लामो समय नेपाली काँग्रेसमा रहेका डा. स्वर्णिम वाग्लेले तनहुँ १ मा चुनाव लड्न नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको प्रसङ्गलाई लक्षित गर्दै काँग्रेस महामन्त्री थापाले अवसरबादीहरुलाई काँग्रेसमा ठाउँ नभएको बताएका हुन् । महामन्त्री थापाले काँग्रेसका उम्मेदबार गोविन्द भट्टराई आफुहरुको पनि नेता भएको हुँदा उहाँलाई तनहुँले जिताएर पठाएमा सँगै मिलेर पार्टी र सरकारलाई सच्याउने गरि काम गर्ने बताए । संघ, प्रदेश र तनहुँ क्षेत्र नम्बर १ का स्थानीय तहमा पाँच दलिय गठबन्धनकै सरकार रहेको हुँदा अव तनहुँले गोविन्द भट्टराई जिताएर पठाएमा यस अघिको भन्दा धेरै बजेट पाउने र यहाँ विकासको कामले पनि तिब्रता पाउने थापाले बताएका थिए ।
महामन्त्री गगन थापाले आफूहरुलाई पाँच बर्ष खेर फाल्ने छुट नभएको बताए । अहिले गठबन्धनलाई प्राप्त भएको पाँच बर्ष खेर फाले आफूहलाई देश बनाउने अवसर कहिल्यै नपाउने उनले बताए । उनले भने, ‘प्रचण्ड, शेरबहादुर वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि हामीले परिणाम दिनुपर्छ । मैले त म आफैं प्रधानमन्त्री हुन खोजेको थिए । तर, भोट पुगेन । काम गर्ने ठाउँमा सबैभन्दा धेरै प्रश्न गगनलाई देख्नुहुन्छ विश्वप्रकाशलाई देख्नुहुन्छ । किसानलाई देख्नुहुन्छ । अब त्यो लाइनमा तपाईंले गोविन्द भट्टराईलाई पनि देख्नुहुन्छ ।’
पार्टीको सरकारले गलत गर्दा पनि ताली बजाउने होइन, आफूहरुलाई प्रश्न गर्ने सांसद चाहिएको बताए । उनले नेपालमा भएका कुनैपनि खालखण्डको भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताए । अहिलेको गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको उनको भनाइ छ ।
सो कार्यक्रममा काँग्रेस अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा निश्कलंक र अहिलेसम्म कुनै अवसर नपाएका गोविन्द भट्टराईलाई जिताएर पठाउनु पर्ने बताएका थिए । शर्माले गठबन्धनको भावना अनुसार सबै दलका कार्यकर्ताले भट्टराईलाई मतदान गर्नु पर्ने बताएका थिए ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनका साझ उम्मेदबार गोविन्द भट्टराईलाई जिताउन सबै कार्यकर्ताहरु परिचालित हुनु पर्ने बताएका थिए ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराई, सहमहामन्त्री जिवन परियार, केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदिप पौडेल, डिला संग्रौला, जसपाका केन्द्रिय सदस्य शिवलाल थापा लगायतले मन्तव्य राखेका थिए ।