देवघाट अनलाइन
दमौली, बैशाख ६
पछिल्लो समयमा विभिन्न माध्यमबाट सार्वजानिक भएका निर्वाचन सम्बन्धि सर्वेक्षणहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा. स्वर्णिम वाग्लेको पक्षमा माहौल बनेको भन्ने रिर्पाेटको कारण नेपाली काँग्रेस र सो पार्टीका उम्मेदबार गोविन्द भट्टराईको कानमा घन्टी बजेको छ ।
त्यसैकारण सत्ता गठबन्धनले राज्यशक्तिको व्यापक दुरुपयोग गरेर भट्टराईको पक्षमा माहौल सिर्जना गर्न थालेको छ । तर त्यसले मतदातमा भने नकारात्मक सन्देश दिएको छ । एउटा उम्मेदबारको विरुद्धमा सिङ्गो राज्य शक्तिको दुरुपयोग गर्ने भन्ने सन्देश मतदातामा पुगेको छ । जसको कारण सुरुका दिनमा भट्टराईको पक्षमा भएको चुनावी माहौल एकाएक रास्वपाका वाग्लेको पक्षमा पुगेको देखिएको छ ।
त्यसबाहेक नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालको पक्षमा बढेको जनलहर र उनको बढ्दो लोकप्रियताबाट पनि काँग्रेस झस्किएको छ । गाउँ गाउँका अधिकांश मतदाता यस पटक कि त घन्टी कि त सुर्य भन्ने अवस्थामा पुगेपछि काँँग्रेस पार्टीले तनहुँ १ को उपनिर्वाचनलाई प्रतिष्ठाको दुरुपयोग गरेर पार्टी हेडक्वाटर नै तनहुँमा ल्याएको छ । जतिसुकै प्रयत्न गरेपनि भट्टराईको अवस्था सुदृढ बन्ने देखिँदैन ।
राजनीतिक विश्लेषकहरुका अनुसार तनहुँ १ मा एमाले र रास्वपाको विचमा तिब्र प्रतिश्पर्धा हुने देखिएको छ । यो भिडन्तमा काँग्रेस भने तेश्रो स्थानमा सिमित हुने अवस्था सिर्जना भएको देखिएको छ । विगतमा काँँग्रेसमा मतदान गर्दै आएका करिब ६० प्रतिशत मतदाता यसपटक घन्टीमा सरेको सर्वेक्षणहरुले देखाएका छन् । त्यही मेसोमा एमाले विगतको आफ्नो मत संख्या जोगाएर जित निकाल्ने दाउमा कस्सिएर लागेको छ ।