चुनाव जिताएर पठाए मन्त्री बनाउने प्रधानन्त्रीको आश्वासन
देवघाट अनलाइन
दमौली, बैशाख ६
तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदबार बनेका नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई मत माग्न बाहालवाला र ३ पुर्व प्रधानमन्त्री तनहुँ आएका छन् । बुधबार डुम्रेमा आयोजित चुनावी सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पुर्व प्रधानमन्त्रीहरु नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सम्बोधन गरेका थिए । बाहालवाला र ३ पुर्व प्रधानमन्त्री चुनावी सभामा एकसाथ उपस्थित भएर सम्बोधन गरेको तनहुँमा पहिलो पटक हो । निर्वाचन आचार संहिताको उल्लंघन गर्दै नेताहरु नेपाली सेनाको हेलिकप्टरमा डुम्रे आएका थिए ।
पछिल्लो दिनमा सत्ता गठबन्धनका उम्मेदबार गोविन्द भट्टराईको अवस्था कमजोर बन्दै गएको संकेत पाएपछि सत्ता गठबन्धनका सबै नेताहरु भट्टराईको पक्षमा माहौल बनाउन तनहुँ आएका हुन् । उनीहरुले आ आफ्ना दलका कार्यकर्ताहरुलाई इमानदारीका साथ भट्टराईलाई मतदान गर्न निर्देशन दिए । बाहालवाला र पुर्वप्रधानमन्त्रीहरु उपस्थित भएपनि उक्त चुनावी सभामा गठबन्धनले सोचे अनुरुप जनता सहभागी भएनन् । दलका प्रतिबद्ध कार्यकर्ता बाहेक स्वतन्त्र मतदाताहरु सभामा कमै मात्रामा देखिन्थे ।
बुधबार मात्र हैन भट्टराईलाई सघाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु लगातार तनहुँ आएका छन् । बुधबार मात्र नेपाली काँग्रेसका नेता शशांक कोइराला दमौली आएका थिए । त्यसअघि मंगलबार काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङ्ग, नेकपा एसका नेता किसान श्रेष्ठ लगायतले दमौलीमा आयोजित चुनावी सभामा सम्बोधन गरेका थिए ।
त्यस अघि काँग्रेस उपसभापती धनराज गुरुङ्ग, नेताहरु शेखर कोईराला, गोपालमान सिंह, प्रकाशमान सिंह, सहमहामन्त्री जिवन परियार, मानबहादुर विश्वकर्मा, बद्रि पाण्डे, मिनेन्द्र रिजाल, डिला संग्रौला लगायतका नेताहरु आएका थिए भने काँग्रेस केन्द्रिय सदस्यद्वय शंकर भण्डारी र प्रदिप पौडेल लगातार चुनावी अभियानमा भट्टराईसँगै छन् । त्यस्तै नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसान केही दिन यता निरन्तर भट्टराईको पक्षमा चुनावी लबिङ गरिरहेका छन् ।
ब्ुधबार डुम्रेमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री दाहालले चुनाव जिताएर पठाए भट्टराईलाई मन्त्री बनाउने घोषणा गरे । दाहालले बैशाख १० मा हुने उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाउन अपिल गर्दै त्यसपछि मन्त्री बनाउने जिम्मा आफ्नो भएको बताए । ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो । शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु ।’
प्रधानमन्त्री दाहालले रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको भन्दै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले सो निर्णय लिएको बताए । प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको बताए । प्रधानमन्त्रीले भने, ‘हामीले हिजोमात्रै क्याबिनेटबाट निर्णय गरेका छौं । यो सामान्य निर्णय होइन, कुरा गहिरो छ बुझ्नुहोला । ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने हामीले देखेका छौं । यो सरकारले सुशासनमा गम्भीर कदम चालेको छ ।’
प्रधानमन्त्री दाहालले बुद्धसिंह मार्गको घुमाउने घाटको पक्की पुल १ बर्ष भित्र पूरा गर्नेगरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । बन्दिपुरमा खानेपानी लाने काम र निर्माणाधिन पृथ्वीराजमार्गको कामलाई छिटो गर्नको लागि तत्काल लागिपर्ने दाहालले बताए । यस्तै छिर्कनेमा स्थापना भएको चिडियाखानाको काम अगाडि बढाउने, देवघाटमा संस्कृत बिश्व बिद्यालय बनाउने बारेमा गम्भीर अध्यन गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले भानुभक्तको जिल्लाले योग्य व्यक्ति राष्ट्रपति पाएको र अहिलेका उम्मेदवार गोविन्द भट्टराई पनि योग्य उम्मेदवार भएकोले मन्त्री पाउने बताए । भट्टराई जत्तिको योग्य व्यक्तिलाई जिताउनुस मन्त्री बनाउने काम हाम्रो भयो देउवाले भने । तनहुँमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सरकारी क्याम्पस र सरकारी सुविधा सम्पन्न अस्पताल बनाउने काम हाम्रो हो देउवाले भने । सरकार हाम्रो बन्छ त्यसकारणले विकास पनि हामीले गर्ने हो देउवाले भने ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सबै उपलब्धिको रक्षा गर्न गोविन्द भट्टराईलाई जिताउनुपर्ने बताए । आफुलाई राष्ट्रपतिको अफर आएपनि आफु भन्दा सिनियर रामचन्द्र पौडेल हो भन्ने लागेर ईमानदारीता देखाई राष्ट्रपति पौडेललाई बनाएको नेपालले बताए ।
पुर्व प्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एकीकृत बिकास योजनाका साथ काम गर्न सक्यौं भने मात्रै देशमा बिकासले गति लिने बताए । भर्खरैको युवाले आफ्नो देशको सपना नदेखी विदेशको सपना देख्न थाल्यो भने हामीले गर्ने बिकासको मोडल फेर्नपर्ने र देशमा, विकास र समृद्धि ल्याउने तिर एकजुट हुनुपर्ने भट्टराईले बताए ।
सो कार्यक्रममा तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमा हुर्केको र यहाँको समस्याको बारेमा जानेको ब्यक्ति गठवन्धन बाट उम्मेदवार बनेको बताए । मलाई एकपटक जिताउनुस म तपाईंको आवश्यकताका आधारमा विकासका काम गर्छु भट्टराईले भने । सो कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिबहादुर चुमान, नेकपा एसका केन्द्रिय सदस्य किसान श्रेष्ठ लगायतले पनि भट्टराईलाई चुनाव जिताएर पठाउनु पर्ने बताएका थिए ।