दमौली, जेठ ४
अपाङ्गता भएका व्यक्तिलाई कानुन अनुसारको सेवा, सुविधा र अवसरको माग गर्दै म्याग्दे गाउँपालिका–७ का ४५ वर्षिय शारीरिक अपाङ्गता भएका दिपक भण्डारी विहिबारबाट ग्याग्दे गाउँपालिकाका अनिश्चितकालिन धर्नामा बसेका छन् ।



अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि नियमावली, २०७७ अनुसारको सेवा सुविधा र अवसर उपलब्ध गराईपाउँ भनी धर्नामा बसेको भण्डारीले बताए ।
भण्डारी यस अघि गत २०७९ भदौ ८ गते पनि गाउँपालिकाको प्राङ्गणमा धर्नामा बसेका थिए । सो क्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिहिरुको रोहबरमा भण्डारीसँग उक्त नियमावली अनुसारको सेवा, सुविधा र अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
नियमावलीमा भएका प्रावधान कार्यान्वयनमा ल्याउन गाउँपालिकाले पुस मसान्तसम्ममा कार्यविधि तयार गर्ने तथा त्यसमा सरोकारवालाहरुको राय सुझावको आधारमा गाउँसभाले निर्णय गरि कार्यान्वयनमा लैजाने भन्ने सहमती भएको भण्डारीले बताए । साथै कार्यविधि कार्यान्वयनमा आउनुपुर्व भण्डारीको जिवन सहयोगीकोलागि गाउँपालिकाले अस्थायी रुपमा एक जना सहयोगीको व्यवस्था गर्ने सम्झौता पनि भएको भण्डारीले बताए । तर आफुसँग भएको कुनै पनि सम्झौता कार्यान्वयनमा पनि नआएको र कार्यविधिको कुनै ड्राफ्ट समेत नबनेको हुँदा आफु पुनः धर्नामा बस्न बाध्य भएको भण्डारीले बताए ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले धर्नाकारी भण्डारीले माग गरे झैं सबै अपाङ्गता भएका व्यक्तिको घर घरमा सहयोगीको व्यवस्थापन गर्न नसकिने बताए । सोही कारण अपाङ्गता भएका व्यक्तिहरुलाई एकै ठाउँमा राखी सामुहिक रुपमा जिवन यापन गर्न सहज बनाउन गाउँपालिकाले मानव मैत्री भवन बनाउन लागेको अधयक्ष श्रेष्ठले बताए ।
उक्त भवनकोलागि जग्गा खरिद गरि डिपिआर समेत तयार भईसकेको भन्दै अव बजेटको व्यवस्थापन गरेर एक÷दुई वर्ष भित्रमै गाउँपालिका भित्रका अति असक्त अपाङ्गता भएकाहरुलाई सामुहिक रुपमा राखिने बताए । साथै गाउँपालिकाको श्रोत र साधन कमी भएको हुँदा सबैको घर घरमा सहयोगी राख्न सम्भव नहुने श्रेष्ठले बताए ।












