दमौली, जेठ ३०
तनहुँ उद्योग वाणिज्य संघले उद्योगी व्यापारीको समस्या बुझ्न बैंक तथा वित्तिय संस्थाहरुसँग अनुरोध गरेको छ । मंगलबार दमौलीका बैंक तथा वित्तिय संस्थाहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले अहिलेको विषम परिस्थितिमा उद्योगी व्यापारीहरु मारमा परेको हुँदा केही समयलाई उनीहरुको समस्या बुझिदिन माग गरेको हो ।




विद्यमान आर्थिक संकटका कारण प्राय ठप्प रहेको आर्थिक गतिविधि कोभिड नियन्त्रणपछि आंशिकरुपमा चलायमान हुँदै गर्दा राष्ट्र बैंकले जारी गरेको चालु पूजी निर्देशिका २०७९, बैंकहरुमा देखिएको तरलता अभाव, ऋण प्रवाहमा गरिएको संकुचन तथा कर्जा असुलीमा गरिएको कडाईका कारण निजी क्षेत्र अहिले फेरि अत्यन्त असहज परिस्थितिमा रहेको संघले जनाएको छ । आर्थिक गतिविधि शिथिल हुँदै जाँदा उद्योग व्यवसाय दिनप्रतिदिन बन्द हुँदै गईरहेको कारण आर्थिक क्रियाकलाप नै ठप्प भएपछि व्यवसायीहरु व्यवसाय बन्द, पलायन र विस्थापित हुन बाध्य भएको संघले जनाएको छ ।

संघको बैंक तथा वित्तिय वित्तिय संस्थामा बुझाएको ध्यानाकर्षण पत्रमा ‘निजी क्षेत्रले यसअघि कहिल्यै भोग्न नपरेको यस किसिमको आर्थिक संकटको यस्तो सम्बेदनशिल क्षणमा एक अर्काको परिपूरकका रूपमा बैंक तथा वितिय संस्थाहरुले निजी क्षेत्रलाई टिकाउनको निमित्त असल सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने हाम्रो चाहना र आग्रह मात्र नभई अहिलेको विद्यमान अवस्थाको टडकारो आवश्यकता पनि हो ।’
संघले भनेको छ ‘आज नीजि क्षेत्रलाई टिकाउन सके मात्र राज्यको अर्थतन्त्र र सवल सक्षम हुने हुँदा अहिलेको चरम आर्थिक संकटको अवस्थामा केही समय मात्र व्याज, किस्ता बुझाउन नसक्दा सोझै धितो लिलाम गर्ने जस्ता कार्यने निजी क्षेत्र पूर्णरुपमा हतोत्साहित हुदै गएको छ । यसरी निजी क्षेत्रलाई संकटको समयमा निरूत्साहित गराउदै जाने हो भने निकट भविष्यमा बैंकहरुको अस्तित्व पनि संकटमा पर्ने सम्भावना देखिन्छ ।’ अतः पछिल्लो समयमा बैंकहरुबाट प्रदान गरिएको नयाँ तथा पुराना कर्जाहरूमा व्याजदर समायोजन गरी अब उप्रान्त आधार दरमा २ प्रतिशत मात्र व्याज थप गरि नयाँ व्याजदर कायम गर्नका लागि समेत संघले अनुरोध गरेको छ ।

साथै नीजि क्षेत्र माथि आइलागेको आर्थिक संकट र बाध्यताका विचबाट आफ्नो फाइदा मात्र उठाउने नभई मानवीय हिसावले नीजि क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारका रूपमा आफूलाई उभ्याउँदै उद्योगी व्यापारीको सर्वस्व सखाप हुनेगरी धितो लिलामलाई मात्र विकल्पमा नहेरी आर्थिक संकटबाट उकासिनकालागि भाका नाघेको अवस्थामा म्याद थप, कर्जा नवीकरण, अांशिक धितो फुकुवा आदि जस्ता सहयोगी नीति अख्तियार गरी निजि क्षेत्र र बैंक दुवै पक्षको लागि सहज हुने स्थिति सृजना गर्न सम्बन्धित बैंक तथा वित्तीय सस्थाहरुलाई संघको तर्फबाट ध्यानाकर्षण गराईएको छ ।

संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले हस्ताक्षर गरेको उक्त ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत बोधार्थको रुपमा बुझाईएको छ । सो अवसरमा संघका वर्तमान तथा पुर्व पदाधिकारी, सदस्य तथा दमौली बजार इकाईका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।












