काठमाडौं, जेठ ३१
उखु किसानका समस्या समाधान गर्न सांसद कृष्णकुमार श्रेष्ठ किसानको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।



समितिका सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्न सांसद श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताए ।
उनले उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेका जानकारी दिए । उनका अनुसार समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको छ ।
समितिले उद्योगी व्यवसायीहरुसहितसँग छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यादेश दिएको छ । बैठकमा संयोजक श्रेष्ठले उखु किसानहरुलाई धेरै समस्या रहेको बताउँदै उखु किसानका समस्या समाधानको लागि समितिले तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको औंल्याए ।












