दमौली, असार १३
तनहुँका उद्योगी, व्यवसायी तथा कृषकहरुले बैंक तथा वित्तिय संस्थाको ज्यादती विरुद्ध राजनीतिक दलका नेताहरुसँग अन्तरक्रिया गरेका छन् । बुधबार दमौलीमा आयोजित सो कार्यक्रममा उद्योगी, व्यवसायी तथा कृषकहरुले बैंक तथा वित्तिय संस्थाको ज्यादती विरुद्ध आफुहरुलाई सघाउन अपिल गरे ।



संघले सो अवसरमा राजनीतिक दलका नेताहरुलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । सो ध्यानाकर्षणपत्रमा आर्थिक मन्दी र बैंकिङ सामन्तवादको गम्भीर सिकार हुनुपरेको उल्लेख गरिएको छ । बैकिङ ज्यादतीको परिणाम स्वरूप देशभर दैनन्दिन घटेका आत्मदाह र आत्महत्याका सृङखला भएको र इलामका प्रेम प्रसाद आचार्य देखि तनहुँ भानुका सोहन कुमार श्रेष्ठ सम्मका स्वदेशमै केही गर्छु भन्दा जीवन गुमाउन बाध्य भएको जनाईएको छ ।
संयुक्त रूपको संघर्ष समिति तनहुँको पहलमा यस अगाडि विभिन्न व्यवसायिक मागहरु राखी गरिएको पहिलो चरणको शान्तिपूर्ण आन्दोलन सफलतापूर्वक सम्पन्न भएको संघले जनाएको छ । हालसालै सार्वजानिक बजेट तथा सरकारको नीति तथा कार्यक्रम एवं नेपाल राष्ट्र बैंकबाट तेस्रो बार्षिक मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संशोधित एकीकृत निर्देशिका पनि जारी गरिसकेको संघले जनाएको छ । व्यवसायी र बैंक दुवैलाई बचाउने भन्दा व्यवसायीलाई मार्ने र बैंकलाई अझ मोटाउने गरी मौद्रिक नीति आएको यसले सर्त सहितको पुनसंरचना र पुनर्तालिकिरणको ललिपप देखाएर व्यवसायीको तिर्न बाँकी व्याज र किस्तालाई पूजीकरण गरि बैंहरुलाई ऋणीबाट व्याजको पनि स्याज लुट्न पाउने बाटो खोलिदिएको संघले जनाएको छ । व्यवसाय निरन्तरताका लागि निर्सत र अनिवार्य पुनर्कर्जा पुनर्तालिकिकरण, पुनसंरचना र आंशिक धितो फुकुवा आफुहरुको माग भएको संघले जनाएको छ ।
संघका संयोजक अध्यक्ष लक्ष्मिभक्त खनाल र सघर्ष समितिका संयोजक मित्र दुराद्वारा हस्तारक्षर गरिएको ध्यानाकर्षण पत्रमा ‘बैंक तथा वित्तीय संस्थाको अमानवीय ज्यादती र आतंक घटना यहाँ उल्लेख गर्न ठाउँको अभाव हुन जान्छ । तथापी हामीसँग एक–एक प्रमाण सुरक्षित छन् । शान्तिपूर्ण चरणको हाम्रो अन्दोलनको सबै पक्षबाट प्रशंसा हुदै गर्दा बैंक तथा वित्तीय सस्थाहरुबाट भने गम्भीर रूपमा नलिइको अवस्था देखिएको छ ’ जनाईएको छ ।
पहिलो चरणको आन्दोलनलाई सबै पक्षबाट सकारात्मक सुझाव र सहयोग प्राप्त भएपनि बैंक तथा वित्तिय संस्थाबाट भने गम्भिर रुपमा नलिएको देखिएको जनाईएको छ । असार १ गतेखदेखी दोस्रो चरणको आन्दोलन सुरु भईसकेको भन्दै संघले बैकिङ समस्याका विरुद्ध सप्रमाण ठाउँको ठाउँ मुकाविला गर्दै समस्या समाधान गर्ने तर्फ केन्द्रित हुने जनाएको छ ।
यसका लागि आवश्यक पर्ने थप कर्जा, पुनर्कर्जा पुनर्तालिकिकरण, पुनसंरचना र आशिंक धितो फुकुवाका लागि आफ्नो बैकमा लिखित निवेदन दिने, असार ५ देखि ९ गतेसम्म निवेदन माग स्वीकृत अस्वीकृत गरेको लिखित जवाफ पठाउने गृहकार्यको लागि बैंकलाई समय दिने र असार १५ गतेसम्म सयमा दिने जनाईएको छ । उक्त समयअवधिभित्र सहजिकरण गर्न नचाहाने बैंकहरुको विरुद्ध आन्दोलन गर्ने पनि संघले जनाएको छ ।
संघका अध्यक्ष खनालको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेपाली काँग्रेसका उपसभापती देवकुमार श्रेष्ठ, नेकपा एमालेका उपाध्यक्ष हरिराज कंडेल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटिका उपसचिव अतिन्द्रकेशरी न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सह संयोजक सुर्यमणी पौडेल, राप्रपाका अध्यक्ष बिनोद घर्ती, नेकपा एसका अध्यक्ष श्रीराम कार्की लगायतले संघको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो माथिल्लो निकायमा यसबारेमा जानकारी गराई समस्या समाधानकोलागि पहल गर्ने बताए ।
सो अवसरमा जिल्लाका विभिन्न भागबाट आएका युवा उद्यमी, व्यवसायी तथा कृषकहरुले अहिलेको परिस्थितीमा भोग्नु परेको समस्याहरुको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा संघका संघर्ष समितिका संयोजक मित्र दुरा र संघका सचिव इश्वरराज पन्थले पनि भनाई राखेका थिए ।












