देवघाट, असार १८
गुरु पुर्णिमाको अवसरमा महेश सन्यास आश्रम देवघाटको आयोजनामा सोमबारदेखी छैठौं गुरुस्मृति महोत्सव आयोजना गरियो ।
सो गुरु स्मृति महोत्सवको पहिलो दिन सोमबार व्यास जयन्ती तथा गुरु पुर्णिमाको दिन गुरु पुजन तथा गुरुतत्व विमर्श कार्यक्रम गरिएको हो ।





सो अवसरमा गुरुको महत्वको बारेमा प्रवचन समेत गरिएको महेश सन्यास आश्रमद्वारा सन्चालित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्र पौडेलले जानकारी दिए । यसैगरि दोश्रो दिन मंगलबार गुरु स्मृति सभा तथा सन्त पुजन एवं गुरु भण्डाराको आयोजना गरिने कार्यक्रम रहेको छ ।




महेश सन्यास आश्रमले ब्रम्हलिन परमपुज्य सन्तशिरोमणी श्री १००८ डा. स्वामी रामानन्द गिरीजी महाराजको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा गुरुकुलका बटुकहरुले स्वस्ती वाचन गरेका थिए ।


वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको जन्म दिन पनि भएको हुँदा गुरु पुर्मिमालाई व्यास जयन्तीको रुपमा पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।












