दमौली, साउन १६
मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत दमौलीमा पनि घर टहरा भत्काउन सुरु गरिएको छ । सडक योजनाको रेखाङ्कन भित्र परेका संरचना हटाउने अभियान अन्तर्गत दमौलीको बुल्दी खोलाको पुलदेखी दुर्गा मन्दिरसम्मका सडक योजनाको रेखाङ्कन भित्र परेका संरचना हटाउन थालिएको हो ।



केही घर धनीले सोमबारदेखी सडक योजनाको रेखाङ्कन भित्र परेका आफ्नो घर भत्काउन थालेका हुन् । केही व्यक्तिले दमौलीमा सडकको केन्द्र विन्दुको विवाद निकालिरहेको अवस्थामा सडक योजनाको रेखाङ्कन भित्र परेका ७५ संरचना मध्ये ४० जनाले पहिलो किस्ता वापतको ६० प्रतिशत रकम बुझिसकेका छन् ।
गत असार २० गते बसेको मुआब्जा वितरण समितिको निर्णय अनुसार ४० जना घरधनीले पहिलो किस्ता वापतको ६० प्रतिशत रकम बुझेर सडक योजनाको रेखाङ्कन भित्र परेको आफ्नो संरचना भत्काउन थालेका हुन् । ‘जसरी पनि एक दिन भत्काउनै पर्छ’ एक घर धनीले भने ‘विवाद गरेर बस्नु भन्दा आफ्नो संरचना भत्काउन थालियो ।’
मुग्लिन–पोखरा सडक विस्तार योजना पुर्वी खण्डले जति छिटो घर टहरा र संरचना हटाईयो, दमौलीमा त्यती नै छिटो सडक विस्तारको काम सुरु गर्ने योजना बनाएको छ । सबै घर टहरा हटाएको तिन महिना भित्रमा दमौली बजारमा सडक विस्तारको सबै काम पुरा गरि कालोपत्रे गरिसक्ने आयोजनाका एक इन्जिनियरले बताए ।

दमौली बजारमा धुलो र हिलो मुक्त बनाउनकोलागि सबैले जतिसक्दो चाँडो मुआब्जा लिएर आफ्नो संरचना हटाएमा सहज हुने उनले बताए । विवाद झिकेर बस्ने हो भने दमौली बजार बर्षाैसम्म पनि धुलो र हिलोबाट मुक्त नहुने भन्दै स्थानीय बासिन्दाले पनि सडकको रेखाङ्कन भित्र परेका घर धनीले मुआब्जा रकम लिएर भत्काउन थालेमा चाँडो काम सम्पन्न हुने बताए ।
दमौलीमा बुल्दीको पुलदेखी दुर्गा मन्दिर सम्म ७५ वटा संरचना सडकको रेखाङ्कन भित्र परेका छन् । ति मध्ये ४० जनाले पहिलो किस्ताको ६० प्रतिशत मुआब्जा रकम बुझिसकेका छन् भने बाँकी ४० प्रतिशत संरचना हटाईसकेर वडा कार्यालयको सिफारिस पत्र बुझाएपछि पाउनेछन् ।
मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ बैशाखसम्म रहेको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।












