एमाले गन्डकीको अधिवेशन सुरु, जुन घटना छानविन गरेपनि जेल जाने गठबन्धनका नेताहरु नै हुन्ः एमाले महासचिव पोख्रेल

Devghat Online

शेयर गरौ

पोखरा, असोज १५

नेकपा एमाले गन्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु भएको छ । अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उद्घाटन गरे । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी भएपनि मौसमको खराबीले जहाज उडानमा ढिलाई हुँदा महासचिव पोख्रेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । उनले एमालेका नेताहरुलाई जबरजस्ती फसाउन विभिन्न कान्डको छानविन गर्ने धम्की दिएपनि जुनसुकै घटनाको छानबिन गरेपनि गठबन्धनका नेताहरु नै जेल जाने ठोकुवा गरे । ‘जुनसुकै घटनाको छानविन गर्न पनि हामी तयार छौं, तर हामी एउटै कुरा भन्छौ भने हरेक घटनालाई छानबिन गर अन्त्यमा जेल जाने भनेको सत्ताको नेतृत्व गरिरहेका गठबन्धनका नेताहरुनै हो, नेकपा एमाले होइन ।’ उनले भने ।

‘साच्चिकै सरकार सुशासनको पक्षमा हुन्थ्यो, तस्करीतन्त्रका विरुद्धमा हुन्थ्यो, भ्रष्टाचारका विरुद्धमा हुन्थ्यो भने छानबिनलाई प्रभावकारी बनाउने कुरामा सरकारले आनाकानी गर्ने थिएन ’ महासचिव पोख्रेलले भने ‘जतिबेला सुन समातिने गर्छ सत्ता पक्षका नेताको अनुहार नांगिने गरेको छ ।’ सरकारले अमुक घटनाको बारेमा छानबिन गर्छौ भनेर प्रतिपक्षतर्फ इसारा गर्ने गरेको भन्दै छानबिन गर्न महासचिव पोखरेलले चुनौती दिए ।

सरकारले अवैध अर्थतन्त्रलाई प्रोत्साहित गर्ने काम गरेको पोख्रेलले दावी गरे । सरकारले भ्रष्टाचारको विषयमा जनताको बिचमा भ्रम सिर्जना गर्न खोजेको उनले आरोप समेत लगाए । ‘एकातिर सरकार म त भ्रष्टाचारको अभियानमा छु भनेर जनताका बिचमा भ्रम सिर्जना गर्दछ, अर्कोतिर सरकारको संयन्त्रको योजनामा त्रिभुवन विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्कर गर्ने खालको काम भैरहेको कुरा बाहिर आउँछ । तर सरकार निष्पक्ष छानबिनको लागि पनि तयार हुँदैन प्रतिपक्ष दलले दबाब दिनुपर्छ ।’ उनले भने ।

महासचिव पोखरेलले सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थल चल्न नदिएर आफ्नो अभिष्ट पुरा गर्न लागेको दावी गरे । अन्तराष्ट्रिय विमान कम्पनीहरुले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा विमान उडान अनुमतिको लागि पत्राचार गर्ने गर्दापनि सरकारले त्यसलाई कुनै रेसपोन्स नगरेको उनको भनाई छ ।

‘चीनीया लगानी भएका कारणले पोखरा अन्तराष्ट्रिय विमानस्थलले नेपाललाई आर्थिक संकटमा पा¥यो भन्ने देखाउनका लागि अन्तराष्ट्रिय विमानस्थल चल्न नदिएर उनीहरु आफ्नो अभिष्ट पूर्ती गर्न खोज्दैछन् ।’ उनले भने । महासचिव पोखरेलले अविलम्ब प्रक्रिया अगाडि बढाउन सरकारको खबरदारी समेत गरें ।

‘आज मुलुक चौतर्फी संकटतर्फ उन्मुख रहेको छ । जनताको जीवन असहज बनेको छ । व्यापार व्यवसाय गर्नेहरुले व्यापार व्यवसाय ठप्प भएको अनुभुति गर्न थालेका छन्, संकटमा पुगेका छन् । आर्थिक क्रियाकलाप ठप्प छ, उद्योग कलकारखाना बन्द भैरहेका छन् । श्रमिकहरु बेरोजगार भैरहेका छन्, मुलुकलाई आर्थिक मन्दी तर्फ लैजाने कामको नेतृत्व गठबन्धन सरकारले गरिरहेको छ’ महासचिव पोख्रेलले भने ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गन्डकी प्रदेश इञ्चार्ज गोर्कण विष्ट, सचिव पदमा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतले सम्बोधन गरेका थिए । अधिवेशनको बन्द सत्र सोमबार साँझबाटै सुरु भएको छ ।

अधिवेशनको बन्दसत्र सन्चालनकोलागि गन्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टको अध्यक्षतामा खगराज अधिकारी, थममाया थापा, जगत विश्वकर्मा, टुकराज सिग्देल, लिलबहादुर थापा, मनकुमारी जिसि, टुका हमाल, भिम कार्की, चन्द्रमोहन गौचन र पद्मा जिसि सदस्य रहेको अध्यक्ष मन्डल गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र