एमाले गन्डकीको अधिवेशनः बुधबार मतदान हुने, गुरुङ र अधिकारीको छुट्टा छुट्टै प्यानल बन्दै

Devghat Online

शेयर गरौ

पोखरा, असोज १६

नेकपा एमाले गन्डकी प्रदेशको पोखरामा जारी प्रथम अधिवेशन अन्तर्गत बुधबार मतदान हुने भएको छ । निर्वाचन कमिटिले बुधबार दिउँसो १ बजेबाट मतदान गर्ने सुचना प्रकाशित गरेको छ ।

निर्वाचन कार्यक्रम अनुसार मंगलबार १२ बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । त्यस्तै मंगलबार दिउँसो ३ बजेदेखी ६ बजेसम्म उम्मेदबारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदबारको नाम फिर्ता लिने समय बुधबार विहान १० बजेसम्म हुने छ भने अन्तिम नामावली प्रकाशन बुधबार विहान १० बजेपछि हुनेछ । त्यसपछि मतदान दिउँसो १ बजेबाट हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।

अधिवेशन असोज १५ र १६ गते दुई दिन तोकिएकोमा नेतृत्व चयन प्रक्रियामा सहमती जुट्ने सम्भावना नभएपछि एक दिन पर धकेलिने भएको हो । गण्डकी प्रदेशमा नेताहरुले उम्मेदबारी दर्तामा प्यानल बनाउने करिब निश्चित देखिएको छ । सुरूआतबाटै प्यानल खडा गरेर उम्मेदवारी दिने तयारी नेताहरुले गरेका छन् ।

सहमतिबाट नेतृत्व चुन्ने समय बाँकी रहेपनि त्यो सम्भवना कम रहेको नेताहरूको भनाइ छ । निर्वाचन अघिदेखि नै प्यानल बनाएर निर्वाचनमा जाने तयारी भइरहेको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्ष अहिले प्यानल खडा गरेर निर्वाचनमा जाने कसरतमा छन् । गुरुङलाई उपाध्यक्ष विष्णु पौडेल र खगराजलाई महासचिव शंकर पोखरेलको साथ रहेको चर्चा गरिएको छ ।

दुवै पक्षले अहिले छुट्टाछुट्टै ‘सचिवालय’ खोलेर अगाडि बढेका छन् । उपमहासचिव गुरुङ पक्षले लेकसाइडको होटल एलेगेन्ट र खगराज पक्षले जिरो किलोको न्यू एरा पार्टी प्यालेस र सभागृह चोकमा रहेको मिड टाउन होटलमा सचिवालय बनाएका छन् । उनीहरूले आफू पक्षका नेताहरूलाई सोही ठाउँमा भेटेर छलफल गरिरहेका छन् ।

अंकगणित हेर्दा दुवै पक्षका उस्तै उस्तै प्रतिनिधि रहेको एमाले नेताहरू बताउँछन् । स्थायी कमिटी सदस्य किरण गुरुङ पक्षले पनि जितमा प्रभाव पार्ने उनीहरूको दाबी छ । किरणको समर्थन जता हुन्छ, त्यही समहुले जित्ने दावी गरिएको छ । किरण हालसम्म कुनै पनि समुहमा खुलेका छैनन् । उनले सुरुदेखी नै गुटबन्दीको विरोध गर्दै आएपनि अन्तिमा खगराज पक्षलाई समर्थन गर्ने दाबी गरिएको छ ।

अधिवेशनका लागि प्रदेशभरबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनका लागि प्रतिनिधि छनोट चरणमा यी दुई पक्षबीच प्रतिस्पर्धासमेत भएको थियो । कास्कीको रुपा गाउँपालिकाबाहेक प्रदेशका ८४ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भयो । तर, सर्वसम्मत चयन सकस नै हुन पुग्यो । प्रतिनिधि छनोटपछि दुवै पक्षले आफू अनुकूलका धेरै भएको दाबी गर्दै आएका छन् ।

उपमहासचिव गुरुङ पक्षले प्रतिनिधिको ७० प्रतिशतभन्दा धेरै आफ्नो पक्षको प्रतिनिधि रहेको दाबी गर्छन् भने स्थायी कमिटी सदस्य अधिकारी पक्षको पनि ६५ प्रतिशतभन्दा बढी आफ्नो पक्षको प्रतिनिधि रहेको दाबी गर्छन् ।

गुरुङ पक्षबाट हालका अध्यक्ष नवराज शर्मा र खगराज पक्षबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी उम्मेदवार बन्ने करिब निश्चित भएको छ । गुरुङ पक्ष हालको समितिलाई समावेशी बनाएर दोहो¥याउन चाहन्छ । गुरुङ पक्षबाट सचिवमा लमजुङका धनञ्जय दवाडीको प्रवल सम्भावना छ । उपमहासचिव गुरुङ र केन्द्रीय सदस्य मायानाथ लमजुङका हुन् ।

मायानाथलाई अध्यक्ष उम्मेदवार बनाएर गुरुङलाई जिल्लामा कमजोर बनाउने रणनीतिमा केही नेता लागेको आरोप छ । लमजुङका कतिपय नेताले केन्द्रीय सदस्य पद जोखिममा पारेर चुनाव नलड्न उनलाई सुझाएका छन् । खगराज पक्षको सचिवमा पद्मा अर्यालनिकट रश्मी आचार्यको प्रवल सम्भावना देखिन्छ । रश्मी सचिवबाट उम्मेदवार बन्दा पद्माको समर्थन आफ्नो पक्षमा आउने दावी खगराज पक्षको छ । रश्मी अनेरास्ववियुको उपाध्यक्षबाट विदा भएका नेता हुन् ।

केन्द्रीय सदस्य मायानाथले विगतको अनुभव र पृष्ठभूमिले प्रदेश अध्यक्ष भएर काम गर्न सक्छु भन्ने विश्वासका साथ अगाडि बढेको बताउँदै आएका छन् भने हालका अध्यक्ष नवराजले पूरा रुपमा काम गर्न नपाएको भन्दै एक कार्यकाल अध्यक्ष भएर काम गर्न इच्छा रहेको बताउँदै आएका छन् ।

केन्द्रीय सदस्य राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, तनहुँका पूर्व अध्यक्ष केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालले पनि प्रदेश अध्यक्षमा दाबी गर्दै आइरहेका छन् । तर, प्यानल बन्दा उनीहरू एक्लै उम्मेदवार बन्ने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र